कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मरिउपोलमा उद्धार नसकिँदै फेरि आक्रमण

एक हजार उद्धारको पर्खाइमा
एजेन्सीहरू

किभ/मस्को — युक्रेनको मरिउपोलस्थित स्टिल कारखानामा फसेका सयौं सर्वसाधारणको उद्धार नहुँदै रुसले पुनः आक्रमण सुरु गरेको छ । 

मरिउपोलमा उद्धार नसकिँदै फेरि आक्रमण

युक्रेनको राष्ट्रिय गार्डका कमान्डर डेनिस स्लेगाले एजोभस्टल स्टिल कारखानामा शक्तिशाली अस्त्रले आक्रमण गरिएको बताएका हुन् । सर्वसाधारणहरू अन्यत्र जानका लागि निस्किएलगत्तै कारखानामाथि रुसले पुनः बमबारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कारखाना परिसरमा आश्रय लिएका थुप्रै सर्वसाधारणलाई आइतबार र सोमबार उद्धार गरिएको थियो । रुसी अधिकारीले आइतबार उक्त क्षेत्रबाट ४८ र सोमबार सय सर्वसाधारणको उद्धार गरिएको जनाएका थिए । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले पनि उनीहरूको उद्धार गरिएको पुष्टि गरेका थिए । मरिउपोल सहर हाल रुसी घेराबन्दीमा छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारणहरू थुनिएका थिए । कारखाना परिसरमा रहेको बंकरमा अझै कैयौं बालबालिकासहित सर्वसाधारण र घाइते सैनिक छन् ।

युक्रेनी अधिकारीका अनुसार कारखाना परिसरमा अझै करिब एक हजार सर्वसाधारण र ५ सय घाइते युक्रेनी सेना छन् । एजोभस्टल कम्पनीमा फसेका युक्रेनी सेनाले भने आत्मसमर्पण नगर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पार्दै लगेको छ । मरिउपोलमा करिब एक लाख सर्वसाधारण पिउने पानी, इन्धन, विद्युत् तथा सञ्चार सम्पर्कको अभावमा बस्न बाध्य छन् ।

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । त्यसयता रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत आफ्नो देशमा लगिरहेको युक्रेनको आरोप छ ।

यसैबीच बेलायतले युक्रेनलाई ३ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी संसद्लाई अनलाइनमार्फत सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् ।

रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै युक्रेनको पक्ष लिएको थियो ।

बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ । यो सहयोगले रुससँग युक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने युक्रेनका अधिकारीहरूले बताएका छन् । झन्डै एक घण्टाको प्रधानमन्त्री जोन्सनको सम्बोधन अत्यन्तै महत्त्वपूर्ण रहेको पनि अधिकारीहरूको भनाइ छ ।

‘ब्रिटिस जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयका रूपमा सम्झन्छौं । यो युक्रेनको उत्कृष्ट घडी हो, तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ,’ जोन्सनले भने ।

नयाँ सैन्य समर्थनअन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जीपीएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् । बेलायतले गत साता युक्रेनमाथि आक्रमण गर्ने रुसी विमानविरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र गाडी पठाउने घोषणा गरेको थियो ।

प्रकाशित : वैशाख २१, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?