कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन : चीन- विश्व - कान्तिपुर समाचार

कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन : चीन

कान्तिपुर संवाददाता

काठमाडौँ — रुस-युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो विश्व युद्ध नचाहेको बताएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सम्बन्धित पक्षले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन् । 

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा एएफपीका पत्रकारले रुसी विदेश मन्त्री सेर्गेई लाभरोभले तेस्रो विश्व युद्धको सम्भावना रहेको चेतावनी दिएको कुरा उल्लेख गर्दै यसमा चीनको धारणा सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा प्रवक्ता वेनबिनले भने, 'कसैले पनि तेस्रो विश्व युद्ध देख्न चाहेको छैन । दुवै पक्षले संयमता अपनाई शान्तिपूर्ण तवरले समस्या समाधान गरी छिटोभन्दा छिटो युरोप र विश्वलाई पुग्न सक्ने क्षतिलाई कम गर्न सक्नेछन् ।'

प्रवक्ता वेनबिनले सबै पक्षले अहिलेको अवस्थालाई मध्यनजर गर्दै वार्ता र मध्यस्थतामार्फत द्वन्द्व कम गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । त्यस्तै शीतयुद्धको ३० वर्षपछि फेरि युरोपमा किन अर्को भूराजनीतिक द्वन्द्व उत्पन्न भयो भन्नेबारेमा सुक्ष्म अवलोकन गर्नुपर्ने उनले बताए ।

गत फेब्रुअरी २४ यता रुस-युक्रेन द्वन्द्वमा ठूलो जनधनको क्षति भएको छ भने लाखौं शरणार्थी बनेका छन् । यसबीचमा राष्ट्रसंघलगायतले मध्यस्थताको प्रयास गरे पनि पूर्ण रूपमा दुई मुलुकबीच युद्धविराम हुन सकेको छैन ।

प्रकाशित : वैशाख १४, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

हिमालयन र इन्भेष्टमेन्ट बैंकको साधारण सेयर कारोबार खुल्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — करिब १ वर्षदेखि रोक्का रहेको हिमालयन र इन्भेष्टमेन्ट बैंकको साधारण सेयरको कारोबार अब खुल्ने भएको छ । ती कम्पनीहरुको आधारभूत सेयर (संस्थापक) रोक्का राख्ने र सर्वसाधारण समूहको सेयर कारोबार खुल्ला गरिदिने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले गरिसकेको छ । यद्यपि सेयर कारोबार खुलाउनका लागि राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र लेख्नुपर्ने हुन्छ ।

यी बैंकको सेयर कारोबार खुलाउने सम्बन्धमा मंगलबारसम्म राष्ट्र बैंकको पत्र प्राप्त नभएको नेप्सेले जनाएको छ । ‘राष्ट्र बैंकको पत्र प्राप्त नभई सेयर कारोबार खोल्न मिल्दैन,’ स्रोतले भन्यो, ‘मंगलबारसम्म पत्र प्राप्त भएको छैन ।’ तर, आधारभुत (संस्थापक सेयरसहित) सेयर कारोबार भने ती संस्थाको अर्को कुनै संस्थासँग मर्जर नहुँदासम्मका लागि रोकिएको राष्ट्र बैंकले जनाएको छ । ‘मर्जरका कारण बन्द रहेको इन्भेष्टमेन्ट र हिमालयन बैंकको सर्वसाधारण समूहको सेयर खुला गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र गइसकेको हुनुपर्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब ती संस्थाका सर्वसाधारण सेयर कारोबार हुन पाउँछन् । तर आधारभूत सेयर भने रोक्का नै रहन्छ ।’

मर्जर प्रक्रिया तोडेको आरोपमा नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भष्टमेन्ट बैंकलाई कारबाही गरेको छ । सैद्धान्तिक सहमति पाएपछि उचित कारणबिनै मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले ती बैंकलाई कारबाही गरेको हो । कारबाहीस्वरुप आधारभूत सेयरधनीको लाभांश र दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकले यथाशीघ्र अरू कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपर्ने र हिमालयन बैंकका सञ्चालकहरूलाई स्पष्टीकरणलगायत कारबाही राष्ट्र बैंकले जनाएको छ । आपसमा गाभिन राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति (लेटर अफ इन्टेन्ट) पाएको करिब ९ महिनापछि यी बैंकको मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि प्रक्रिया बीचमै टुटेको हो ।


प्रकाशित : वैशाख १४, २०७९ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×