कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा बढ्यो कोरोना संक्रमण

सांघाईमा ३ जनाको मृत्यु
एजेन्सी

सांघाई — चीनका विभिन्न स्थानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सांघाई सहरमा गत मार्चमा लकडाउन गरिएयता पहिलो पटक कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

चीनमा बढ्यो कोरोना संक्रमण

सांघाई स्वास्थ्य आयोगले मृत्यु भएका व्यक्तिहरू ८९ देखि ९१ वर्षका रहेको जनाएको छ । जटिल स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका तीनै जनाले कोरोनाविरुद्धको खोप भने लगाएका थिएनन् । सांघाईका ६० वर्षभन्दा बढी उमेरका ३० प्रतिशतले खोपको पूर्ण मात्रा लिएका छन् । सांघाईमा यसअघि कोरोनाका कारण कसैको मृत्यु नभएको चीनले दाबी गरेको थियो । अधिकारीका अनुसार सांघाईमा सन् २०२० को मार्चयता सोमबार पहिलो पटक कोरोनाका कारण मृत्यु भएको हो । तर कतिपयले त्यसमाथि प्रश्न उठाउने गरेका छन् । मार्च अन्त्यमा ९ दिनका लागि भनेर लगाइएको लकडाउन हाल चौंथो सातामा प्रवेश गरेको छ । सहरका सबै नागरिकको सामूहिक परीक्षण गर्न लागिएको जनाइएको छ ।

सहरमा जारी निषेधाज्ञाका कारण लाखौं मानिसहरू घरभित्र बस्न बाध्य छन् । सांघाईको जनसंख्या हाल २ करोड ६० लाख हाराहारी छ ।

पछिल्लो समय निषेधाज्ञा कडा पारिएपछि भने सर्वसाधारणहरू आक्रोशित भएका बीबीसीले उल्लेख गरेको छ । प्रतिबन्धका कारण खाद्यान्न आपूर्तिमा समस्या देखिएको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरिरहेका बीबीसीले उल्लेख गरेको छ ।

स्थानीयले खानेकुरा, पिउने पानी तथा अन्य अत्यावश्यक सामग्री अन्यत्रबाट मगाउनुपरेको जनाएका छन् । त्यस्तै, तरकारी, मासु र अण्डाका लागि सरकारको भर पर्नुपरेको बताएका छन् । लकडाउन अवधि लम्बिँदै जाँदा सामान उपलब्ध गराउने सेवा, खुद्रा सामग्रीका वेबसाइट तथा सरकारले गर्दै आएको आपूर्ति प्रणालीमा ठूलो चाप थपिएको छ । तर दैनिक २० हजार जनाभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइरहेकाले सरकारी अधिकारीहरूमाथि पनि चुनौती थपिएको छ । सांघाईमा सोमबार माक्रै २२ हजार २ सय ४८ जनामा संत्रमण पुष्टि भएको जनाइएको छ । केही सातायता सहरका प्रदर्शनी हल, विद्यालय तथा खुला स्थानलाई क्वारेन्टिन तथा अस्थायी अस्पताल बनाउन प्रयोग गरिएको छ ।

अन्य देशको तुलनामा संक्रमणको दर कम देखिएपछि ‘शून्य कोभिड’ रणनीति अपनाएको चीनका लागि अहिलेको प्रकोप ठूलो चुनौती बनेको देखिएको छ । चीनले संक्रमण नियन्त्रणका लागि कडा लकडाउन तथा प्रतिबन्धहरू लगाउने गरेको छ । तर ओमिक्रोन भेरिएन्टको संक्रमण दरका कारण चीनको विद्यमान रणनीति लामो समयसम्म उफयोगी नहुने देखिएको छ ।

प्रकाशित : वैशाख ६, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?