२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विक्रमासिंघे भन्छन्- 'राजापाक्षे सरकारका कारण श्रीलंका गम्भीर संकटमा डुब्यो'

यो सरकारले कुनै चिनियाँ लगानी भित्र्याएन
एजेन्सी

कोलम्बो — श्रीलंकाका पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले वर्तमान सरकारले देशलाई गम्भीर आर्थिक र राजनीतिक संकटमा डुबाएको आरोप लगाएका छन् । साथै यस सरकारले वित्तीय चुनौतीहरूको सामना गर्न असमर्थ रहेको उनको भनाइ छ ।

विक्रमासिंघे भन्छन्- 'राजापाक्षे सरकारका कारण श्रीलंका गम्भीर संकटमा डुब्यो'

अहिलेको सरकारसँग ऋण तिर्नका लागि रकमको स्रोत नरहेको औंल्याउँदै उनले यस सरकारले अब प्रमुख निर्यात कम्पनीहरूबाट ऋण लिन खोजेको बताए । तर वर्तमान सरकारको नेतृत्वमा कुनै पनि चिनियाँ लगानी मुलुकमा नआएको भन्दै उनले आलोचना गरेका छन् ।

तर आफ्नो कार्यकालमा यस्तो संकट कहिल्यै नदेखिएको उनको दाबी छ । आफ्नो सरकार छँदा कहिल्यै पनि इन्धन र खाद्यान्नका लागि उपभोक्ताहरू लाइन लाग्नु नपरेको उनको भनाइ छ ।

'हाम्रो समयमा यस्तो संकट कहिल्यै आएन । जब हाम्रो सरकार थियो जनताहरू कहिल्यै पनि आधारभुत आवश्यकताका लागि लाइनमा बस्नु परेको थिएन । जनताहरू सडकमा उत्रनु पर्ने कुनै कारण थिएन । तर अहिले गोटवाया राजापाक्षेको सरकारको अयोग्यताका कारण देशमा यस्तो संकट उत्पन्न भएको छ,' पूर्वप्रधानमन्त्री विक्रमासिंघेले बताए ।

उनले आफ्नो सरकारले २०१९ मा देशको अर्थतन्त्रलाई स्वस्थ बनाएको तर अहिलेको सरकारका कारण जनताहरू सडकमा ओर्लिनु परेको बताए । पछिल्लो दुई वर्षको अवधिमा वर्तमान सरकारले बढ्दो आर्थिक समस्याहरूलाई अनदेखा गर्दैआएको उनले बताएका छन् । 'जब मैले २०१९ मा सरकार छोड्दै थिएँ म सम्झन्छु हामीसँग अतिरिक्त बजेट प्रसस्त थियो,' विक्रमासिंघेले भनेका छन् ।

पछिल्लो समय श्रीलंकामा गम्भीर आर्थिक संकट उत्पन्न भएपछि ठूलो संख्यामा आम नागरिकहरू राजापाक्षे नेतृत्वको सरकारको विरुद्धमा सडकमा उत्रिएका छन् । उनीहरूले नाराबाजी गर्दै राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरेका छन् । साथै आर्थिक संकट समाधान गर्नुपर्ने उनीहरूको माग छ । श्रीलंकामा आर्थिक संकट उत्पन्न भएसँगै केही महिनादेखि नै आम उपभोक्ताहरूको जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रकाशित : चैत्र २७, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?