बाइडेनको भाषणले रुस आक्रामक

वासिङ्टन/मस्को — अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा दिएको भाषणका विषयमा रुसले कडा प्रतिक्रिया जनाएपछि ह्वाइटहाउसले स्पष्टीकरण दिएको छ ।

युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाइडेनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्ने’ बताएका हुन् । पोल्यान्डको राजधानी वार्सामा बोल्दै उनले ‘ईश्वरका लागि पुटिन सत्तामा रहिरहन सक्दैनन्,’ भनेका थिए । बाइडेनको भनाइको कडा प्रतिवाद गर्दै रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले ‘रुसको राष्ट्रपति रुसी जनताहरूले छनोट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडेनले गर्ने नभएको’ बताएको छ ।
क्रेमलिनले प्रतिक्रिया सार्वजनिक गरेलगत्तै अमेरिका राष्ट्रपति कार्यालय ह्वाइटहाउसले ‘बाइडेनले रुसमा सत्ता परिवर्तनका लागि आह्वान नगरेका’ भन्दै स्पष्टीकरण दिएको हो । ‘पुटिनले छिमेकी देश वा अन्य कुनै क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने राष्ट्रपति बाइडेनको भनाइको अर्थ हो,’ एक अधिकारीले भने । बाइडेनले युक्रेन र बृहत् क्षेत्रका लागि पुटिन शासनबाट बाहिरिनुपर्ने बताएका ती अधिकारीको भनाइ छ ।
त्यस्तै, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि रुसमा शासन परिवर्तनका लागि कुनै रणनीति नरहेको प्रस्ट पारेका छन् । ‘रुसमा शासन परिवर्तन गर्ने विषय रुसी जनतामा भर पर्छ,’ उनले भने । ब्लिंकनले ‘रुसी राष्ट्रपति पुटिनले युक्रेन वा अन्य कतै पनि अतिक्रमण गर्ने वा युद्धमा संलग्न हुन नसक्ने’ बताए । दुई देशका नेता तथा अधिकारीहरूबीचको वाकयुद्ध चर्केपछि रुस र युक्रेनबीच जारी युद्ध थप लम्बिने जोखिम बढेको कतिपयको विश्लेषण छ ।
प्रकाशित : चैत्र १४, २०७८ ०८:५२