रुसी आक्रमणमा युक्रेनी सैन्य विमान तालिम केन्द्र ध्वस्त

एजेन्सी

किभ — शुक्रबार बिहान ६:०९ बजे हवाई आक्रमणको चेतावनीसहित साइरन बज्यो । पश्चिम युक्रेनको लुभिभ सहरस्थित एक जापानी रेस्टुरेन्टमा कार्यरत नास्त्याले यसमा कुनै प्रतिक्रिया जनाइनन् र नियमित काममा लागिन् । कारण आकाशमा यसरी साइरन बज्नु यहाँका लागि आम विषय भइसकेको छ ।

रुसी आक्रमणमा युक्रेनी सैन्य विमान तालिम केन्द्र ध्वस्त

त्यसको १६ मिनेटपछि लगातार ४ पटक विस्फोटको आवाज सुनियो । नास्त्यालगायत रेस्टुरेन्टमा खटिएका सबै जना तत्काल बेसमेन्टमा लुक्न गए । त्यहींबाट उनीहरू परिवारका सदस्य र साथीभाइ सुरक्षित रहे–नरहेको जानकारी लिन म्यासेज र फोन गर्न लागे । नास्त्यासँगै बेसमेन्टमा लुक्न गएकी थिइन्, रेस्टुरेन्टआडैमा फूलको पसल सञ्चालन गर्ने ओल्या । उनले रातमा सुपरमार्केटमा काम गर्न गएका श्रीमान्को हालचाल बुझिन् । ‘मैले उनलाई तत्काल फोन गरें र उनी सुरक्षित रहेको थाहा पाएपछि बल्ल ढुक्क महसुस भयो,’ ओल्याले बीबीसीसँग भनेकी छन् ।

विस्फोटको आवाजले पूरा सहर जागिसकेको थियो । केहीबेरको सन्नाटापछि बाहिर के भइरहेको छ भनेर चियाउन घरको पर्दा हटाउने जोसुकैले पनि सहरको पश्चिमतर्फ आकाशमा धूवाँको मुस्लो देख्न सक्थे । त्यसको केही मिनेटपछि रुसी सेनाले लुभिभस्थित सैनिक विमान मर्मत केन्द्रमा हमला गरेको स्थानीय अधिकारीहरूले पुष्टि गरे । तर, कोही पनि घाइते नभएका जनाइएको छ ।

रुसी सेनाको क्रुज मिसाइल प्रहारबाट सैनिक विमान मर्मत केन्द्र ध्वस्त भएको लुभिभका मेयर एन्ड्री सादोभीले पुष्टि गरेका छन् । उनका अनुसार उक्त केन्द्रबाट हाल कुनै सेवा सञ्चालनमा भने थिएन । केन्द्रनजिकै रहेको डेनिलो हलित्स्की अन्तर्राष्ट्रिय विमानस्थल भने सुरक्षित छ । ब्ल्याक सीबाट रुसी जलसेनाले ६ वटा मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । जसमध्ये २ वटालाई एन्टी–एयरक्राफ्ट मिसाइल प्रहार गरेर ध्वस्त बनाइएको उसको दाबी छ ।

२३ दिनयता रुसले युक्रेनको उत्तर, दक्षिण र पूर्वी क्षेत्रबाट लगातार आक्रमण बुनिरहेको छ । मुलुकको पश्चिमतर्फ पर्ने लुभिभलाई युक्रेनको सबैभन्दा सुरक्षित सहर मानिँदै आइएको थियो । तर, गत आइतबार स्थानीय सैनिक तालिम केन्द्र र अहिले सहरको मध्य भागबाट मात्र ६ किलोमिटरको दूरीमा रहेको विमान मर्मत केन्द्रमा मिसाइल प्रहार भएपछि भने लुभिभको अवस्था पनि सामान्य रहिरहने सम्भावना टरेको आकलन गर्न थालिएको छ ।

यो सहर युक्रेन छोड्नेहरूका लागि प्रमुख मार्गसमेत हो । आफ्नो थातथलो छोडेर सुरक्षित स्थानको खोजीमा निस्किएका हजारौं युक्रेनी अझै यहीं आश्रय लिइरहेका छन् । यहाँबाट मात्र ८० किलोमिटरको दूरीमा पोल्यान्डको सीमामा पुगिन्छ । रुस–युक्रेन युद्ध सुरु भएयता हालसम्म पोल्यान्डमा मात्रै २० लाख युक्रेनी शरणार्थी भित्रिसकेका पोल्यान्डको सीमा सुरक्षा एजेन्सीले जनाएको छ ।

१३ सय जना अझै थिएटरको भग्नावशेषमा

रुसी सेनाको मिसाइल प्रहारबाट ध्वस्त मरिओपुलको एक थिएटरको बेसमेन्टमा अझै १३ सय जनाभन्दा बढी व्यक्ति फसिरहेको बताइएको छ । हालसम्म १ सय ३० जनाको मात्रै सकुशल उद्धार गरिएको युक्रेनी ह्युमन राइट्स कमिश्नर ल्युद्मिला डेखिसोभाले बताएकी छन् । उनका अनुसार बेसमेन्टमा फसेकाहरू सुरक्षित स्थानको खोजीमा आश्रय लिइरहेका युक्रेनी हुन् । युक्रेनी सरकारी अधिकारीहरूले उनीहरूलाई भग्नावशेषबाट सकुशल बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । आक्रमणबाट थिएटरको ८० प्रतिशत भाग ध्वस्त भएको छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?