कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन अमेरिकी दूतावासको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — युक्रेनस्थित अमेरिकी राजदूतावासले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ । युक्रेनमा सुरक्षा अवस्था हिंसात्मक र अप्रत्याशित रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको हो ।

युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन अमेरिकी दूतावासको आग्रह

केहि दिनदेखि रुसले लगातार हमला गर्न थालेपछि युक्रेनमा बाँकी रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित बाटोमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।युक्रेनमा कति अमेरिकी नागरिक रहेका छन् भन्ने विषयमा अझै यकिन तथ्यांक नभएको अमेरिकाले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनको राजधानी किभमा रहेको अमेरिकी दूतावासले एक सूचना जारी गर्दै अझै पोल्यान्ड‚ स्लोभाकिया‚ हंगेरी‚ रोमानिया‚ मोल्दोभाका सीमा खुलै रहेकाले त्यहिँबाट सुरक्षित स्थलमार्गको प्रयोग गर्दै स्वदेश फर्किन आह्वान गरेको हो ।

रुसी फौजले युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिन शनिबारदेखि आक्रमण तीव्र पारेको छ ।आक्रमण सुरु गरेको १७औं दिनमा किभको बाहिरी क्षेत्रमा दुई देशका सेनाबीच भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेलायती रक्षा मन्त्रालयले किभको उत्तरी क्षेत्रमा रहेका रुसी फौज तितरबितर भएका दाबी गरेको छ । सहरलाई घेराबन्दीमा पार्ने प्रयासका लागि फौज बाँडिएको हुन सक्ने मन्त्रालयले जनाएको छ । ‘रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

त्यस्तै, खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी फौजको घेराबन्दीमा परेका बीबीसीले जनाएको छ । रुसी आक्रमण जारी रहेका ती सहरहरूको तापक्रम निकै घटेको र कठ्यांग्रिँदो चिसोमा मानिसहरू बिजुली र पानीबिना बस्न बाध्य भएका जनाइएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×