कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्जाबमा आपको 'क्लिन स्विप'

-११७ सदस्यीय पञ्जाब विधानसभाका ९२ सिटमा आप, अघिल्लो चुनावमा ७७ सिट जितेर सरकार बनाएको कंग्रेस १८ सिटमा खुम्चियो ।-उत्तर प्रदेशमा भाजपाको २७४ सिट, समाजवादी पार्टी १२४ सिटमा विजयी ।-उत्तराखण्डमा भाजपा ४८, कांग्रेस १८ सिटमा विजयी ।-मणिपुरमा ६० मध्ये ३२ सिट भाजपालाई ।-गोवामा भाजपालाई २० सिट, सरकार बनाउन एक सिट पुगेन ।
राजेश मिश्र

नयाँदिल्ली — भारतीय राज्य पञ्जाबको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले चामत्कारिक जित हासिल गरेको छ । पार्टी निर्माण भएको १० वर्षमा दिल्लीपछि पञ्जाबमा आपको सरकार बन्ने भएको हो । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ । 

पञ्जाबमा आपको 'क्लिन स्विप'

पञ्जाबमा ११७ सदस्यीय विधानसभामा आपले दुई तिहाइभन्दा बढी ९२ सिट जितेको छ । सत्तारूढ कंग्रेस १८ सिटमा खुम्चिएको छ । आपका भगवन्तसिंह मान मुख्यमन्त्री बन्दै छन् । पञ्जाबमा दिग्गज मानिएका नेताहरू वर्तमान मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, नवजोत सिंह सिद्धु, प्रकाशसिंह बादलजस्ता नेता आपका उम्मेदवारसँग पराजित भएका छन् । भाजपाले २, शिरोमणि अकाली दलले ४ र अन्यले १ सिट हात पारेका छन् ।

दिल्लीवासीले मुख्यमन्त्री एवं आपका संयोजक अरविन्द केजरीवालको नेतृत्वमाथि देखाएको भरोसालाई नै पञ्जाब जितको महत्त्वपूर्ण कारण मानिएको छ । दिल्लीका जनताले सन् २०१३ यताका तीनवटै निर्वाचनमा केजरीवाललाई साथ दिएका छन् । केजरीवालले पञ्जाबका जनतासँग पनि एक मौका दिन अनुरोध गर्दै मत मागेका थिए । चुनावी अभियानमा धेरै समय पञ्जाबलाई दिएका केजरीवालले भ्रष्टाचार शून्यमा झार्ने र त्यही पैसा पञ्जाबको विकास र आममानिसलाई राहत दिन प्रयोग गर्ने बताएका थिए । उनले राम्रो सरकारी विद्यालय र अस्पताल बनाउने, निःशुल्क बिजुली र पानी उपलब्ध गराउने, १८ वर्षमाथिका हरेक महिलालाई प्रतिमहिना एक हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।

केजरीवाल दिल्लीमा ७ वर्षभन्दा बढी समयदेखि मुख्यमन्त्री छन् । यस अवधिमा उनीमाथि भ्रष्टाचारको आरोप लागेको छैन । चुनावअघि दिएका नारालाई धेरै हदसम्म पूरा गरेका छन् । अन्ना हजारेको सामाजिक आन्दोलनमा सक्रिय कार्यकर्ता रहेका केजरीवालले सन् २०१२ नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । उनको पार्टीको नामले नै साधारण मानिसलाई प्रभाव पार्‍यो । मुख्यमन्त्री भएपछि पनि केजरीवालको बोलीचाली, रहनसहन र पहिरन पार्टीको नामजस्तै आममानिसको सरह छ । यसले पनि सर्वसाधारण मतदातालाई आकर्षित गरेको मानिन्छ । केजरीवालले चुनावी अभियानमा परम्परागत राजनीतिक दलहरू कंग्रेस, भाजपा वा पुराना क्षेत्रीय दलले अपनाउने रणनीतिभन्दा बिल्कुल फरक आममानिसलाई छुने व्यवहार देखाएका थिए । विपक्षी पार्टीसँग उनीमाथि औंला उठाउन सक्ने ठोस विषय नहुनु पनि जितको महत्त्वपूर्ण आधार बन्न पुग्यो ।

अर्कातिर टिकट वितरण तथा प्रस्तावित मुख्यमन्त्रीको चयन प्रक्रियामा देखिएको रणनीतिले मतदातालाई प्रभाव पार्‍यो । विधानसभा चुनावमा सम्बन्धित क्षेत्रबाट इच्छुक उम्मेदवारको नाम मागेर पारदर्शी तरिकाले टिकट वितरण गर्ने, पार्टीका तर्फबाट प्रस्तावित मुख्यमन्त्रीमाथि आममानिसको राय लिएर निर्णय दिने जस्ता केजरीवालको व्यवहार मतदाताले रुचाए । आपले नेता भगवन्त सिंहलाई २२ लाख जनताको मतको निर्णयका आधारमा प्रस्तावित मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो ।

पञ्जाबमा अघिल्लो चुनावमा कंग्रेसले ७७ सिट ल्याएर सरकार बनाएको थियो । सत्तारूढ दल कंग्रेसले लामो समयदेखि कायम कलहलाई व्यवस्थापन गर्न नसक्दा आपले लाभ उठाएको छ । चुनावको केही महिनाअगाडि मात्रै कंग्रेसले आफ्ना मुख्यमन्त्री अमरिन्दर सिंहलाई हटाएको थियो । सिंहले पार्टी छाडेर नयाँ दल गठन गरी भाजपासँग चुनावी गठबन्धन बनाएका थिए । पार्टीमा मुख्यमन्त्रीका आकांक्षी धेरै भएकाले पनि कंग्रेसमा विवाद देखिइरह्यो । कंग्रेस नेता राहुल गान्धीले पूरा समय पञ्जाबलाई दिँदा पनि पार्टीलाई सफल बनाउन सकेनन्, जसका कारण उनको नेतृत्वमाथि पार्टीभित्र प्रश्न उठ्ने देखिन्छ । पञ्जाब गुमाएसँगै राष्ट्रिय राजनीतिमा कंग्रेस थप कमजोर हुनेछ ।

केन्द्र शासितसहित ३१ राज्यमध्ये ३ वटामा मात्रै कंग्रेसको सरकार छ । पञ्जाबमा पराजयसँगै कंग्रेसको सरकार २ वटा राज्यमा सीमित हुनेछ । कुनै बेला केन्द्रसहित १८ राज्यमा कंग्रेसको सरकार थियो । सन् २०१४ मा भाजपाको नेतृत्वमा नरेन्द्र मोदीको आगमनसँगै कंग्रेस खुम्चिँदै गएको हो । भारतमा सन् २०२४ मा केन्द्रीय चुनाव हुँदै छ । प्रधानमन्त्री मोदीको नेतृत्वमा भाजपाले लगातार दुई पटक चुनाव जितेर सरकार चलाइरहेको छ । पछिल्लो चुनावी परिणामले मोदीको कामलाई जनताले अनुमोदन गरेको देखिएको छ । भाजपामाथि एक धर्मको पक्षधरता र कट्टरवादी राजनीति गरिरहेको आरोप लाग्दै आएको छ । तर जनताले त्यसलाई अस्वीकार गर्दै भाजपालाई साथ दिएको देखिएको विश्लेषकहरू बताउँछन् ।

सबैभन्दा ठूलो उत्तर प्रदेश राज्यमा मतदाताले विकल्प छान्ने अनुमान गरिएको थियो । तर प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कसरतले भाजपा नै बलियो बनेको छ । अघिल्लो चुनावको तुलनामा केही सिट घटे पनि भाजपाले सरकार गठन गर्न पुग्ने सिट जितेको छ । ४ सय ३ सदस्यीय विधानसभामा सरकार बनाउन २ सय २ सिट चाहिन्छ । पछिल्लो परिणामअनुसार भाजपाले २ सय ७४ सिट जितेको छ । समाजवादी पार्टीले १ सय २४ सिट जितेको छ । कंग्रेस नेत्री प्रियंका गान्धीको प्रभाव यस पटकको चुनावमा खासै देखिएन । कंग्रेसले जम्मा २ सिट जितेको छ ।

उत्तर प्रदेशमा योगी आदित्यनाथ लगातार दोस्रो पटक मुख्यमन्त्री बन्दै छन् । उत्तर प्रदेशका हकमा ५ वर्षको कार्यकाल पूरा गरेर लगातार दोस्रो पटक मुख्यमन्त्री बन्ने उनी पहिलो व्यक्ति हुनेछन् । नेपालसँग सीमा जोडिएको अर्को राज्य उत्तराखण्डमा पनि भाजपाले आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । ७० सिटको विधानसभामा भाजपाले बहुमत ल्याएको छ । सरकार बनाउन ३६ सिट चाहिनेमा भाजपाले ४८ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले १८ सिट मात्र जितेको छ । हरेक चुनावपछि सरकार फेरिने परम्परा पहिलो पटक उत्तराखण्डमा तोडिएको छ । मुख्यमन्त्री पुष्करसिंह धामीले भने चुनाव हारेका छन् । उनको पराजयपछि भाजपाले मुख्यमन्त्री कसलाई बनाउने विषयमा छलफल थालेको छ ।

उत्तराखण्डमा मुख्यमन्त्रीको पदमै रहेका बेला चुनाव लडेका कुनै पनि व्यक्तिले अहिलेसम्म चुनाव जितेको रेकर्ड छैन । मणिपुरको ६० सदस्यीय विधानसभामा भाजपाले ३२ सिट जितेको छ । कंग्रेसले ५ सिट जितेको छ । अन्य दलले २२ सिट जितेका छन् । यसअघिको चुनावमा कंग्रेसले सबैभन्दा धेरै २८ सिट जितेको थियो । तर, अन्य दलसहितको भाजपा गठबन्धनले बहुमत ल्याएको थियो । गोवामा भने भाजपा एक्लैलाई सरकार बनाउनलाई एक सिट कमी भएको छ । ४० सदस्यीय विधानसभामा भाजपाले २० सिट जितेको छ । भाजपाले ३ स्वतन्त्र र महाराष्ट्रवादी गोमान्तक पार्टीका २ सदस्यको समर्थन पाइसकेको छ । यसअघि १३ सिट मात्रै जितेको भाजपाले सरकार चलाउँदै आएको थियो । अघिल्लो चुनावमा २० सिट जितेको कंग्रेस नेतृत्वको यूपीए गठबन्धन यस पटक १२ सिटमा झरेको छ । आम आदमी पार्टीले भने अपेक्षा गरिएको भन्दा फरक नतिजा पाएको छ । आपले यस पटक २ सिट हात पारेको छ । भाजपाले यहाँ लगातार तेस्रो पटक सरकार बनाउँदै छ ।

भाजपा कार्यकर्ताले चार राज्यमा विजय भएको समाचारसँगै देशभरका पार्टी कार्यालयमा उत्सव मनाएका छन् । प्रधानमन्त्री मोदीले दिल्लीस्थित भाजपा कार्यालय पुगेर नेता र कार्यकर्तासँग खुसी साटेका छन् । उनले भाजपाले चारवटै दिशाबाट आशीर्वाद पाएको बताए ।

प्रकाशित : फाल्गुन २७, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?