रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध- विश्व - कान्तिपुर समाचार

रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध

'फेक न्युज' प्रसारण गर्नेलाई १५ वर्ष जेल
कान्तिपुर संवाददाता

काठमाडौँ — रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।

सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाका बारेमा 'फेक न्युज' प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् ।

पछिल्ला केही वर्षमा रुसी सरकार र ठूला प्रविधि कम्पनीबीच विवाद रहँदै आए पनि युक्रेनसँगको संघर्षका बेला झन् चर्किएको हो ।

त्यस्तै रुसी समाचार संस्था तास र इन्टरफ्याक्स न्युज एजेन्सीले पनि आफूहरूलाई ट्विटरमा प्रतिबन्ध लगाइएको बताएका छन् । ट्विटरले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

फेसबुकको प्यारेन्ट कम्पनी मेटाका विश्व मामिला प्रमुख निक क्लेगले भने रुसमा सेवा पुन: सुरु गर्नका लागि आवश्यक प्रक्रिया अपनाइएको बताएका छन् । प्रतिबन्धले लाखौँ रुसी नागरिक विश्वसनीय सूचनाबाट वञ्चित हुने र परिवार र साथीहरूसँग कुरा गर्न नपाउने भएकाले छिट्टै नै सेवा सञ्चालन हुने उनको भनाइ छ ।

युक्रेनमाथि गत फेब्रुअरी २४ देखि लगातार आक्रमण गरिरहेको रुसमाथि विभिन्न मुलुकले प्रतिबन्ध लगाएका छन् । त्यसैबीच ठूला कम्पनीमाथि पनि प्रतिबन्ध घोषणा गर्न दबाब दिइएको छ । अल्फाबेट र गुगलले समेत रुसमा विज्ञापन रोकिसकेका छन् ।

गत हप्ता रुसले फेसबुकलाई आंशिक रूपमा प्रतिबन्ध लगाइएको बताएको थियो । केही दिनयता रुसले बीबीसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्री युरोपलगायतका विदेशी सञ्चारमाध्यमलाई 'गलत सूचना' प्रवाह गरेको भन्दै आंशिक रूपमा प्रतिबन्ध लगाएको थियो । रुसमा करिब ७५ लाख फेसबुक प्रयोगकर्ता रहेको बताइन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर गरी १२ करोड प्रयोगकर्ता रहेको रोयटर्सले जनाएको छ ।

रुसमा स्थानीय सामाजिक सञ्जाल 'भीके' प्रयोगकर्ता पनि ६ करोडभन्दा बढी रहेका छन् । सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाएपछि रुसमा भीपीएन एप डाउनलोड गर्नेको संख्या पनि बढेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसमा करिब १३ लाख पटक भीपीएन डाउनलोड गरिएको छ ।

रुस र युक्रेनबीच युक्रेनको उत्तरी, दक्षिणी र पूर्वी क्षेत्रमा नवौँ दिन पनि भीषण संघर्ष जारी रहेको छ ।

प्रकाशित : फाल्गुन २१, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

सुनसान सुखानी

अर्जुन राजवंशी

चुरे पहाडको सुनसान जंगल । जंगलको बीचैबीच झापाबाट इलाम हुँदै ताप्लेजुङ जाने पुरानो बाटो छ । बाटोसँगै जोडिएको सानो चौरी छ । खुला चौरीलाई चारैतिरबाट घेराबारा गरिएको छ । चौरीको पश्चिम भागमा एउटा स्तम्भ बनाइएको छ । स्तम्भमा चारै दिशा फर्किएका अर्धकदका सालिक राखिएका छन् । ती सालिक हुन्, २०२९ फागुन २१ मा सामूहिक हत्या गरिएका झापा विद्रोहका पाँच योद्धाको । अनि, त्यो स्थललाई नामकरण गरिएको छ, ‘सुखानी सहिद शहादतस्थल’ ।

स्तम्भसम्म पुग्न करिब १० फिटमा एक लाइन लकिङ टायल बिछ्याइएको छ । प्रवेशद्वारमा एउटा साइनबोर्ड छ । साइनबोर्डसँगै एक कोठाको सानो पक्की घर छ । कम्युनिस्टहरूको श्रद्धास्थल सुखानीको विकास यतिमै सीमित बनेको छ । प्रत्येक बर्ष फागुन २१ मा सुखानीमा ठूलो कार्यक्रम हुन्छ । हजारौंको उपस्थिति रहन्छ । कम्युनिस्ट शीर्ष नेताहरू केपी ओलीदेखि पुष्पकमल दाहालसम्म सुखानी पुग्छन् । झापा विद्रोह र सालिक बनी ठडिएका पाँच योद्धाको चर्चा गर्छन् । अनि फेरि एक बर्षसम्म सुखानीको त्यो ‘चौर’ बेवारिसे उजाड बनिरहन्छ । सुखानीलाई नेपालका कम्युनिस्टहरूको श्रद्धास्थल बनाउन २०५६ सालमा ‘सुखानी सहिद स्मृति प्रतिष्ठान’ निर्माण गरिएको छ । तर, प्रतिष्ठानले लक्ष्यअनुसार कार्य गर्न सकेको छैन । सुखानीको स्तम्भ पनि २०७५ सालमा मात्रै बनाइएको हो । त्यसअघि माटोको ढिस्कोजस्तो देखिने एउटा सानो चुच्चे स्तम्भमा माल्यार्पण गरिन्थ्यो ।

बिर्तामोडबाट १७ किलोमिटर उत्तर सुखानीलाई शहादतस्थल उद्यान बनाउने भनिए पनि त्यसको कार्य प्रगति भने ज्यादै न्यून छ । उद्देश्यअनुसार काम गर्न नसकेको प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराई स्वीकार गर्छन् । ‘जुन उद्देश्य राखेर प्रतिष्ठान स्थापना गर्‍यौं, त्यो काम गर्न सकेका छैनौं’ उनले भने । झापा बिद्रोहका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको हत्या भएको ५० बर्ष पुगेको छ ।

इलामको माई नगरपालिकाअन्तर्गत पर्ने शहादतस्थल सुखानी सामुदायिक वनको क्षेत्रभित्र पर्छ । ‘सुखानीको क्षेत्र प्रतिष्ठानको अधिकार क्षेत्रभित्र आइसकेको छैन । पर्याप्त जमिन नभएकाले पनि सुखानीको विकासमा बाधा पुगेको हो,’ प्रतिष्ठानका महासचिव हर्कराज राईले भने । उनका अनुसार, सुखानीमा शहादतस्थल उद्यान, गुलाफ वाटिका, पिकनिक स्पट, विश्राम वाटिका, चुरे क्षेत्रको वनस्पति प्रदर्शनी प्लट र सिजनल बिरुवा उद्यान बनाएर आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्य हो । तर, ती सबै उद्देश्य कागजमै सीमित बनेका छन् ।

उत्तरतर्फ इलामको सुखानी सामुदायिक वन उपभोक्ता समिति र दक्षिणतर्फ झापाको जुकेखाडी सामुदायिक वन उपभोक्ता समिति छ । दुवै सामुदायिक वनको कार्यक्षेत्रमा रहेको वनमध्ये १३–१३ हेक्टर समेटेर २६ हेक्टर क्षेत्रफलमा उक्त योजना कार्यान्वयन गर्ने पहल भइरहेको राई बताउँछन् । हाल करिब ३ हेक्टर जमिनमा घेराबारा गरी अर्धकदको सालिकसहितको स्तम्भ बनाइएको छ ।

सुखानीमा उद्देश्यअनुसार कार्य नगरेको प्रतिष्ठानले १२ किलोमिटर पर दक्षिण अर्जुनधारा नगरपालिका ९ र ११ मा सालबारी सिमसार सञ्चालन गरेको छ । स्थानीय नमुना सामुदायिक वनको २४ दशमलव ७५ हेक्टर जंगल क्षेत्र ओगटेर प्रतिष्ठानले पर्यटकीय स्थल निर्माण गरेको थियो । झापा विद्रोहका पाँच योद्धाको पूर्णकदको सालिक राखेर पर्यटकीय स्थल बनाइएको छ । प्रवेश शुल्क लिएर पर्यटकीय स्थल सञ्चालन गरिरहेको प्रतिष्ठानले आफ्ना सबै गतिविधिलाई सालबारीमै केन्द्रित गरेको छ ।

प्रकाशित : फाल्गुन २१, २०७८ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×