कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
युक्रेन-रुस तनाव

युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रनजिकै आगलागी

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र जेपोरजियाको नजिकै आगलागी भएको छ । युक्रेनको दक्षिण-पूर्वी क्षेत्रमा रहेको यो ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार हमला गरेपछि आगलागी भएको युक्रेनले दाबी गरेको छ ।

युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रनजिकै आगलागी

अहिलेसम्म यो ऊर्जा केन्द्र सुरक्षित रहेको जेपोरजियाका स्थानीय प्रशासन प्रमुख एलेक्जेन्डर सतारुखले बताएको बीबीसीले उल्लेख गरेको ।

त्यस्तै परमाणु प्लान्टमा हमला भएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन् । ‘युरोपेली नागरिकहरू अब जाग्ने बेला आएको छ‚’ उनले भने । प्लान्ट नजिकै लागेको आगलागीपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्तर्राष्ट्रिय एटमिक एनर्जी एजेन्सी (आईएईए)का महानिर्देशक रफाइल ग्रोसीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् ।

आईएईएले उक्त प्लान्ट नजिकै सैन्य अभियान रोक्न अपिलसमेत गरेको छ । महानिर्देशक ग्रोसीले यदि उक्त आगलागी प्लान्टको रियाक्टरसम्म पुग्यो भने स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन् ।

के भएको थियो ?
स्थानीय समयअनुसार शुक्रबार बिहान साढे २ बजे उक्त ऊर्जा केन्द्रको नजिकै आगलागी भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उक्त प्लान्टमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको आईएईएले जनाएको छ ।

अवस्था कति गम्भीर ?
त्यहाँको यकिन विवरण आइनसकेकाले उक्त आगलागीबाट कति क्षती भएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । आगलागीबाट प्लान्टमा कुनै क्षती भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजले बताए ।

आगोले अहिलेसम्म ऊर्जा केन्द्रका महत्त्वपूर्ण सामग्रीमा कुनै क्षती नपुर्‍याएको र क्षती कम होस् भन्ने उद्देश्यले त्यहाँको सम्बन्धित निकायले यथाशक्य प्रयास गरिरहेको सीएनएनले जनाएको छ ।

विस्फोटबाट हुन सक्ने जोखिम ?
यदि ऊर्जा केन्द्रको रियाक्टरसम्म आगो पुग्यो अथवा विस्फोट भयो भने त्यहाँ राखिएको वातानुकूलित प्रणाली (कुलिङ सिस्टम) ले काम गर्न छाड्छ ।

वातानुकूलित प्रणाली निष्क्रिय भएपछि ऊर्जा केन्द्रमा अत्यधिक परिमाणमा रहेको रेडियोधर्मी पदार्थ हावामा मिसिने र यसले मानव समुदायमा ठूलो असर पुर्‍याउने हार्भर्ड विश्वविद्यालयअन्तर्गत बेलफर सेन्टरका प्राध्यापक ग्राहम एलिसनलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

तर‚ पावर प्लान्टमा लागेको सामान्य आगलागीले ठूलो क्षतीको सम्भावनासमेत कम हुने उनले बताए ।

युक्रेनको परमाणु ऊर्जा अपरेटर एनरगोटामका अनुसार यो केन्द्र सन् १९८४ बाट सञ्चालनमा आएको यो ऊर्जा केन्द्रबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ ।

यस प्लान्टबाट कुल ५७०० मेगावट विद्युत् उत्पादन हुने सीएनएनले जनाएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?