सीधा कुराकानीका लागि पुटिनलाई जेलेन्स्कीको आग्रह- विश्व - कान्तिपुर समाचार

सीधा कुराकानीका लागि पुटिनलाई जेलेन्स्कीको आग्रह

‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा होइन ।’
एजेन्सी

किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि आग्रह गरेका छन् । फेब्रुअरी २४ देखि युक्रेनी भूमिमा रुसले लगातार आक्रमण गर्दै आएको छ ।

रुस र युक्रेनका अधिकारीबीच दोस्रो चरणको वार्तामा पनि कुनै समाधान ननिस्केपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताका लागि आग्रह गरेका हुन् ।

साथै उनले पश्चिमा मुलुकलाई सैन्य सहायता बढाउन पनि उनको अनुरोध छ । पुटिनको सैन्य कारबाही नरोक्ने भने उनले युरोपका अन्य देशमा पनि आक्रमण गर्न सक्ने जेलेन्स्कीको आकलन छ । किभमा पत्रकारहरूसँगको कुराकानी भनेका छन्, ‘यो होइन कि म पुटिनसँग कुरा गर्न चाहन्छु । तर मैले पुटिनसँग कुरा गर्नु छ । विश्वले पुटिनसँग कुरा गर्नु छ । यो युद्ध रोक्ने अर्को बाटो छैन ।’ जेलेन्स्कीले पुटिनलाई सम्बोधन गर्दै सोधेका छन्, ‘तपाईं हामीबाट के चाहनुहुन्छ ? हाम्रो भूमि छाडिदिनुस् ।’

लामो टेबलमा विश्वका नेताहरूसँग पुटिनले संवाद गर्ने कुरा उल्लेख गर्दै जेलेन्स्कीले भने, ‘मसँगै बस्नुस्, ३० मिटर टाढा होइन ।’

दुई मुलुकबीच संघर्ष चलेको ९औं दिन पुग्दा दुवैतर्फ ठूलो क्षति भएको बताइएको छ । दुवै मुलुकले क्षतिबारे विभिन्न दाबी गर्दै आए पनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

बिहीबारको दोस्रो चरणको वार्तामा दुवै पक्ष सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउन सहमत भएका छन् । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिन्स्कीले सर्वसाधारणलाई सैन्य संघर्ष भइरहेका ठाउँबाट उद्धार गर्न बाटो दिने कुरामा दुवै पक्ष सहमत भएको बताएका छन् ।

त्यस्तै सम्भावित युद्धविरामका बारेमा पनि छलफल भएको उनको भनाइ छ । बेलारुसमा भएको उक्त वार्ता करिब साढे दुई घण्टा चलेको थियो ।

त्यस्तै वार्तामा सहभागी युक्रेनका वरिष्ठ अधिकारी मिखाइलो पोदोल्याकले दोस्रो चरणको वार्ता सम्पन्न भए पनि युक्रेनले चाहेको कुरा नभएको बताएका छन् । मानवीय सहायतकाका बारेमा दुवै पक्ष सहमतिमा पुगे पनि अन्य कुरामा सहमति हुन नसकेको उनको भनाइ छ । रुसी प्रतिनिधिमण्डलका सदस्य लिओदिन स्लट्स्कीका अनुसार दुवै पक्ष छिट्टै नै तेस्रो चरणको वार्ताका लागि सहमत भएका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

स्पोर्ट्स फर अल कमिसन प्रदेश १ को अध्यक्षमा सिटौला

अर्जुन राजवंशी

बिर्तामोड — नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसन प्रदेश १ को अध्यक्षमा भोजराज सिटौला चयन भएका छन् । झापा बिर्तामोडका सिटौलाको संयोजकत्वमा २० सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।

केन्द्रीय अध्यक्ष विष्णुगोपाल श्रेष्ठसहितको केन्द्रीय कमिटीको उपस्थितिमा बिर्तामोडमा दुई दिवसीय कार्यक्रम गरी प्रदेश कमिटी गठन गरिएको हो । प्रदेश कमिसनको सह–संयोजकमा रन्जन ओझा, महासचिमा सजेश सिवाकोटी, सचिवमा दुर्गा निरौला, सहसचिवमा नारायणकुमार श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।

सदस्यहरुमा रुपेश श्रेष्ठ (धनकुटा), रोहित खड्का (इलाम), मोहन अधिकारी (पाँचथर), पार्वता राई (उदयपुर), दिपक गुरुङ (मोरङ) मदन राई (भोजपुर), दिवाकर प्रसाईं ( ताप्लेजुङ्ग), रमेश श्रेष्ठ (संखुवासभा), मिजास पोखरेल (झापा), प्रविन खड्का (झापा), राम दाहाल (झापा) रबिन्द्र राउत (झापा), कैलास प्रसाईं (झापा) र आशिष बन (झापा) चयन भएका छन् ।

केन्द्रीय कमिटीले गठन लगत्तै प्रदेश कमिटीसँग बिहीबार एक दिवसीय अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा ओलम्पिक–डे २०२२ का लागि योजना तर्जुमा विषयमा छलफल समेत भएको थियो । केन्द्रीय अध्यक्ष श्रेष्ठले चालु वर्षमा देशभर २ हजार ५ सय भन्दा बढी कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेको जानकारी दिए । ती कार्यक्रमहरुमा देशभरिका करिब २ लाख खेलाडीले प्रत्यक्ष सहभागिता जनाउने उनको भनाइ छ ।

‘ओलम्पिक अन्तर्गतका सबैखाले कार्यक्रम गर्नेगरी हामी देशभरीका लागि कार्यक्रम तर्जुमा गरेका छौं । यी सबै कार्यक्रम गर्दा न्यूनतम ५ करोड खर्च लाग्छ । तर, सरकारले हामीलाई ५ लाख मात्र विनियोजन गरेको छ,’ श्रेष्ठले भने, ‘बजेट अभावकाबीच बढीभन्दा बढी कार्यक्रम गर्नुछ । त्यसैले प्रदेश कमिटीहरुले आफैं सक्रिय भएर खेल गतिविधिहरु सञ्चालन गर्नुपर्ने हुन्छ ।’

प्रकाशित : फाल्गुन २०, २०७८ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×