कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
युक्रेनमाथि रुसी आक्रमण

युरोपको लोकतन्त्रमाथि चुनौती : म्याक्रोन

ददी सापकोटा

काठमाडौँ — फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोनले युक्रेनविरुद्ध रुसको युद्धले फ्रान्स लगायत युरोपेली देशहरूलाई गम्भीर सन्देश दिएको बताएका छन् । राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा बुधबार साँझ सम्बोधन गर्दै युक्रेनमाथि भएको रुसी आक्रमणले युरोपले धेरै सिक्न सक्ने बताउँदै त्यसले गहिरो सन्देश दिएको र यसको नतिजासमेत केहि समयपछि देखिन थाल्ने बताएका हुन् ।

उनले युक्रेनमा युद्धको औचित्य प्रमाणित गर्न रुसी सरकारले फैलाएको झूटको निन्दा गर्दै युद्धविरामको प्रयास गर्न र युद्ध रोक्ने सफलता प्राप्त गर्न आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्कमा रहनेसमेत बताए ।

युद्धविरामका विभिन्न विकल्पहरू सुझाउँदा समेत रुसी राष्ट्रपति पुटिनले आक्रमणको सिलसिला नछाडेको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने उनले बताए ।

राष्ट्रपति म्याक्रोनले भने‚ ‘राष्ट्रपति पुटिनले एक्लै युद्ध रोज्नु भनेको आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई धोका दिनु हो ।’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई 'सम्मान, स्वतन्त्रता र साहसी' पात्रको रुपमा आफूले सम्मान गर्नेसमेत उनले उल्लेख गरे ।

‘यो युद्ध कतिपयले विश्वास गरेजस्तो पश्चिमी देश र रुसबीचको होइन । रुसलाई युक्रेनमाथि आक्रमण गर्न कसैले उक्साएको होइन । रुस आफैंमा आक्रमणकारी हो‚’ म्याक्रोनले थपे ।

पछिल्लो समय युक्रेनले विशेष सैन्य अपरेसन सञ्चालन गरिरहेको पुटिनले आरोफ लगाउँदै आएका थिए । फ्रान्सेली राष्ट्रपतिले पुटिनको उक्त भनाइको खण्डनसमेत गरेका छन् ।

राष्ट्रपतीय चुनाव हुन करिब पाँच हप्ता बाँकी रहँदा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्न बाँकी रहेकै बेला म्याक्रोनले फ्रान्स आफ्नो मूल्यमान्यता र विश्वासमा खडा भएको देश भएकाले त्यसको रक्षा गरिरहने आश्वासन दिए ।

ऊर्जा क्षेत्रमा भएको मूल्यवृद्धिले फ्रान्सेली अर्थतन्त्रमा प्रभाव पार्ने बताउँदै उनले थप आणविक केन्द्रहरू स्थापना गर्ने बताए ।

बिहीबार युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ र अन्य धेरै प्रमुख अन्तर्राष्ट्रिय शक्तिहरूले रुसमाथि कडा प्रतिबन्धहरू लगाएको म्याक्रोनले बताए ।

राष्ट्रपति म्याक्रोनले युक्रेनको युद्धले युरोपमा नयाँ युगलाई जन्म दिएको र अब युरोपमा युद्ध एक वास्तविकतामा परिणत भएको समेत बताउँदै भने‚ ‘युरोपमा युद्ध अब इतिहासका पुस्तकहरूमा मात्र सीमित छैन । यहिँ आइपुगेको छ । लोकतन्त्र अब निर्विवाद छैन; यसलाई हाम्रा आँखै अगाडि चुनौती दिइएको छ ।’

म्याक्रोनले नयाँ आणविक प्लान्टहरू निर्माण गरेर फ्रान्सलाई विदेशी ऊर्जा स्रोतमा कम निर्भर बनाउने आफ्नो घरेलु योजनाभन्दा अझ विशेष योजना ल्याएर रुसी ग्याँसमाथिको निर्भरता घटाउन युरोपेली संघलाई युरोपेली स्तरमै लैजानुपर्नेमा जोड दिए ।


प्रकाशित : फाल्गुन १९, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड खोप पासविरुद्ध युरोपका विभिन्न सहरमा विरोध प्रदर्शन

ददी सापकोटा

काठमाडौँ — कोरोना भाइरस महामारी अन्त्य गर्ने आशामा सरकारले लगाएको खोप पास र अन्य नियमहरूको विरोधमा शनिबार हजारौं मानिसहरूले युरोपेली राजधानीहरूमा प्रदर्शन गरेका छन् ।

ग्रीसको एथेन्स, फिनल्यान्डको हेलसिन्की, बेलायतको लन्डन, फ्रान्सको पेरिस, लियोँ र मार्सेई, नेदरल्यान्ड्सको आम्टरडम, स्विडेनको स्टकहोम, स्विजरल्यान्डको बर्न, बेल्जियमको ब्रसेल्स लगायतका शहरमा खोप पासविरोधी प्रदर्शनहरू भएका छन् ।

पेरिसमा मार्चले सयौं प्रदर्शनकारीहरूलाई आकर्षित गरेको छ । उनीहरूले सोमबारदेखि जारी गरिएको नयाँ कोभिड-१९ पासको परिचयको विरोध गरेका हुन् । घरेलु उडान, खेलकुद कार्यक्रम, बार, सिनेमा घर र अन्य मनोरञ्जन स्थलहरूमा प्रतिबन्ध लगाउँदा खोप लिन अस्वीकार गर्नेहरूको जीवनलाई गम्भीर रूपमा प्रतिबन्धित गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

फ्रान्सेली मिडियाका अनुसार प्रदर्शनकारीहरूले लियों, मार्सेई, बोर्दो, लिल लगायतका अन्य शहरहरूमा पनि सयौंको संख्यामा प्रदर्शन गरेका थिए ।

त्यस्तै, स्विडेनको स्टकहोल्म शहरस्थित मध्यभागमा खोप पासको विरोध गर्दै मार्च पास गरिएको छ । 'फ्रिडम मुभमेन्ट'द्वारा आयोजित खोप पासविरुद्धको प्रदर्शनका लागि प्रदर्शनकारीहरू विभिन्न सहरका मुख्य चोकमा भेला भएका थिए । स्विडेनमा ५० भन्दा बढी व्यक्तिहरू इन्डोर कार्यक्रमहरूमा भाग लिन खोप लगाएको प्रमाणपत्र आवश्यक पर्दछ । प्रदर्शनकारीहरूले यसको तीव्र रुपमा विरोध गरेका छन् ।

फ्रान्सेली मिडियाले रिपोर्ट गरेअनुसार नाजी समर्थक 'नव-नाजी नोर्डिक प्रतिरोध आन्दोलन' का प्रतिनिधिहरूले ब्यानरसहित प्रदर्शनमा भाग लिएका थिए । नाजीका समर्थकहरुले विगतमा स्विडेनमा हिंसात्मक घटनाहरू गराएकाले प्रदर्शनमा त्यस समूहलाई प्रहरीले नजिकबाट निगरानी गरेको जनाइएको छ ।

स्वीडेनको दोस्रो ठूलो सहर गोटेबोर्गमा पनि खोप पासविरोधी प्रदर्शन भएको छ ।

फिनल्यान्डको प्रहरीलाई उद्धृत गर्दै फ्रान्सेली मिडियाहरूले जनाएअनुसार शनिबार झन्डै ४ हजार मानिसले राजधानी हेलसिङ्कीको मध्य भागस्थित बिच सडकमै विरोध प्रदर्शन गरेका थिए । 'वर्ल्ड वाइड डेमोन्स्ट्रेसन' नामक समूहले उक्त प्रदर्शन आयोजना गरेको थियो ।

फिनिस सरकारले प्रतिबन्धहरूमा कार्यक्रमहरू सीमित गर्ने वा केहि निषेध गर्ने, विश्वविद्यालयका कक्षाहरू अनलाइनमार्फत गर्ने, रेस्टुरेन्ट सेवा सीमित गर्ने र मानिसहरूलाई उच्च जोखिम हुने र भिडभाडयुक्त ठाउँहरू बन्द गर्ने नियम बनाएको थियो । रेस्टुरेन्ट र कार्यक्रमहरुमा प्रवेशको लागि खोप पास चाहिने बनाइएको छ ।

युरोपमा हेल्थ पास कि खोप पास ?
ओमिक्रोन भेरियन्ट युरोपमा द्रूत रूपमा फैलिँदै गर्दा हेल्थ पासलाई खोप पासमा बदल्ने कि नबदल्ने भन्नेमा युरोपेली मुलुकहरूमा मतभिन्नता देखिएको छ । फ्रान्सेली सरकारले आफ्नो कोभिड-१९ स्वास्थ्य पासलाई भ्याक्सिन पासमा रूपान्तरण गरेको छ । खोप वा रोगबाट निको भएको प्रमाण देखाउनुपर्ने नियमले कतिपय सार्वजनिक स्थानहरूमा मानिसहरूको पहुँच सीमित गरेको छ । यो प्रणाली धेरै युरोपेली देशहरूमा पहिले नै लागू गरिएको त छ तर यसले विवादहरू पनि निम्त्याएको देखिन्छ ।

फ्रान्सेली सरकारले लागू गरेको नयाँ खोप पास प्रणालीअन्तर्गत खोप वा कोभिड-१९ बाट निको भएको प्रमाण देखाउने व्यक्तिहरूले मात्र पास पाउन सक्नेछन् । यो प्रावधानलाई सरकारले गत सोमबारबाट लागू गरेको छ । जर्मनी, अस्ट्रिया र चेक गणतन्त्रलगायत धेरै युरोपेली देशहरूमा पहिले नै परीक्षण भइरहेको छ ।

अस्ट्रियाले नोभेम्बरको अन्तमा देशभरि तालाबन्दी गरेपछि कडा स्वास्थ्य उपायहरू लागू गर्‍यो । गत डिसेम्बर १२ देखि लकडाउन खुकुलो हुन थालेपछि देशव्यापी रुपमा टूजी नियम लागू भएको छ । खोप लगाएका वा गत ६ महिनायता निको भएका व्यक्तिहरूले मात्र रेस्टुरेन्ट, होटल, पसल, सामुदायिक केन्द्रहरू र खेलकुद हलहरूमा प्रवेश गर्न सक्छन् ।

इस्टोनिया, लातभिया, चेक गणतन्त्र, आयरल्याण्ड र माल्टा लगायत धेरै युरोपेली देशहरूले राष्ट्रिय खोप पासको बाटो रोजेका छन् । तर‚ खोप पास लिने उमेर माल्टा र इस्टोनियामा १२ वर्ष, अस्ट्रियामा १५, फ्रान्स र जर्मनीमा १८ वर्षा छ भने केहि देशले १२ वर्षको उमेरबाट नै यो आवश्यक बनाएका छन् ।

बालबालिकालाई खोप
फ्रान्सले डिसेम्बर २२ मा ५ देखि ११ वर्षका बालबालिकाहरूलाई खोप दिन थालेको थियो । फ्रान्सको सार्वजनिक स्वास्थ्य सेवाका अनुसार फ्रान्सको ५ देखि ११ वर्षका ५८ लाख योग्य बालबालिकाको जनसंख्याको एक दशमलब आठ प्रतिशतले पहिलो मात्रा पाएका छन् । हालसम्म शून्य दशमलव चार प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् । फ्रान्सेली स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार लगभग एक लाख ७५ हजार बालबालिकाले पहिलो खोप लगाएका छन् ।

इटालीका ५ देखि ११ वर्ष उमेर समूहका ३६ लाख मध्ये २६ प्रतिशतले एक मात्रा र ६ दशमलव ४५ प्रतिशतले दुई मात्रा पाएका छन् । स्पेनले मंगलबारसम्म आफ्ना ३४ लाख बालबालिकामध्ये ४५ प्रतिशतलाई एक मात्रा दिएको थियो ।

त्यस्तै पोर्चुगलले ६ लाखभन्दा बढी योग्य युवाहरूलाई खोप लगाएको छ । आयरल्यान्डले आफ्ना चार लाख ८० हजार बालबालिकामध्ये १० प्रतिशतभन्दा बढीलाई खोप लगाएको छ ।

प्रकाशित : माघ ९, २०७८ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×