कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

कान्तिपुर संवाददाता

नयाँदिल्ली — युक्रेनको खर्किभ सहरमा भएको गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मंगलबार बिहान भएको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन् ।

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

त्यस्तै उनले भारतीय नागरिक र विद्यार्थीलाई तत्काल युक्रेनको राजधानी छाड्न सल्लाह दिइएको र यसका लागि रुस र युक्रेनका दूतसँग कुरा भएको पनि बताएका छन् ।

युक्रेनमा मृत्यु हुने विद्यार्थी कर्नाटकका नवीन शेखरप्पा रहेको मुख्यमन्त्री बासवराज बोम्मईले पुष्टि गरेका छन् । भारतीय समाचार संस्था एएनआईले मुख्यमन्त्री बोम्मईलाई उद्धृत गर्दै नवीन होवेरी जिल्लाका स्थायी बासिन्दा रहेको उल्लेख गरेको छ । नवीन एमबीबीएस चौथो वर्षका विद्यार्थी रहेको बेंगलुरु सेन्ट्रलबाट प्रतिनिधित्व गर्ने बीजेपी सांसद पीसी मोहनले जानकारी दिएका छन् ।

मुख्यमन्त्री बोम्मईले नवीनको शव भारत ल्याउनका लागि विदेश मन्त्रालयका अधिकारीसँग आफूले कुरा गरिरहेको बताएका छन् ।

युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु भएपछि कांग्रेस नेता राहुल गान्धीले दु:ख व्यक्त गर्दै हरेक मिनट महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् । युक्रेनमा फसिरहेका भारतीय नागरिकलाई उद्धार गर्न सरकारले रणनीतिक योजना बनाउनुपर्ने गान्धीले बताएका छन् ।

युक्रेनमा करिब २० हजार भारतीय नागरिक रहेको अनुमान छ । त्यसमा अधिकांश विद्यार्थी छन् । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धारका लागि ‘अपरेसन गंगा’ चलाइरहेको छ । युक्रेनका विभिन्न छिमेकी मुलुकमा आफ्ना नागरिकलाई ल्याएर त्यहाँबाट भारतले ‘एयर लिफ्ट’ गर्दै आएको छ । भारतले आफ्ना चारजना केन्द्रीय मन्त्रीहरुलाई पनि उद्धार कार्यमा युक्रेनका छिमेकी मुलुकहरुमा पठाएको छ । उद्धार कार्यमा वायु सेनालाई पनि परिचालन गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×