१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युक्रेन वार्ता गर्न तयार

एजेन्सी

किभ — युक्रेनले रुससँग वार्ता गर्न तयार रहेको जनाएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक विज्ञप्ति सार्वजनिक गर्दै वार्ताका लागि तयार रहेको बताएका हुन् । ‘हामी युक्रेन–बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भएका छौं,’ जेलेन्स्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युक्रेन वार्ता गर्न तयार

अलेक्जेन्डर लुकासेन्कोले बेलारुसमा भएका सबै विमान, हेलिकोप्टर र क्षेप्यास्त्र युक्रेनी टोलीले यात्रा गर्दा, वार्ता गर्दा र फर्कंदासम्म प्रयोग नहुने जिम्मेवारी लिएका छन् । रुस र बेलारुसले भने यसबारे कुनै विज्ञप्ति निकालेका छैनन् । यद्यपि, रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको जनाएको छ ।

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण भएकाले उसको क्षेत्रबाट वार्ता नगर्ने प्रतिक्रिया दिएका छन् । ‘त्यो भूभागबाट हामीमाथि आक्रमण नगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो । त्यसैले अन्य सहरमा वार्ता हुन सक्छ ।’ जेलेन्स्कीले आफूहरू शान्ति पक्षमा रहेको जनाउँदै युद्ध अन्त्यका लागि वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकुमा वार्ता गर्न सकिने जनाए । उनले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै सहरमा वार्ता गर्न पनि आफू तयार रहेको बताए । यसअघि वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्वीकार गरेपछि युक्रेनमाथि फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको थियो । अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकामा युक्रेनले वार्ताको औचित्य नभएको बताएको थियो ।

युक्रेनसँगको युद्ध लम्बिँदै जाँदा रुसले परमाणु हतियार प्रयोग गर्ने संकेत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो परमाणु बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका हुन् । यो अवस्था रुसको रणनीतिक क्षेप्यास्त्र बलको सबैभन्दा माथिल्लो तहको सतर्क अवस्था हो ।

रक्षामन्त्री सेर्गेई सोइगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै पुटिनले पश्चिमा देशहरूले रुससँग ‘मित्रवत् व्यवहार नगरेको र अवैधानिक प्रतिबन्धहरू लगाएको’ भन्दै आक्रोश व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसको अर्थ पुटिनले ‘पश्चिमा देशहरूले आफ्नो बाटो छेक्ने अवस्था आएको खण्डमा परमाणु हतियारको प्रयोग गर्ने’ बीबीसीले उल्लेख गरेको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले ‘रुसी कदम अस्वीकार्य भएको’ बताइन् ।

युक्रेनका विदेशमन्त्री दायित्रो कुलेबाले ‘रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गरेको खण्डमा त्यो विश्वकै लागि ठूलो विपत्ति हुने’ बताएका छन् । ‘युक्रेन ढलेको छैन । हामीलाई चोटपटक लागेको हो तर हामीले हाम्रो रक्षा गर्नेछौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन १६, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?