२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

युक्रेनबारे बाइडेन र पुटिनले छलफल गर्ने

एजेन्सी

पेरिस — फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले युक्रेनी सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच छलफल गर्ने सहमति जुटेको बताएका छन् ।

युक्रेनबारे बाइडेन र पुटिनले छलफल गर्ने

मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलनका लागि दुई नेताबीच सैद्धान्तिक सहमति भएको माक्रोंको भनाइ छ । युक्रेनको सीमामा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेपछि पश्चिमी शक्तिराष्ट्रहरू युद्ध रोक्न प्रयासरत छन् ।

त्यसक्रममा राष्ट्रपति माक्रोंले अमेरिकी राष्ट्रपति बाइडेन र पुटिनसँग कुराकानी गरेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालयले युक्रेनमाथि आक्रमण नभएको खण्डमा फ्रान्स प्रस्तावमा सहमत भएको जनाएको छ । रुसी राष्ट्रपति कार्यालयले भने सम्मेलनबारे ‘ठोस योजना’ बनिनसकेको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

उनले दुई नेताबीच शिखर सम्मेलन गर्ने र युरोपमा सुरक्षा तथा रणनीतिक स्थिरताबारे छलफल गर्न सम्बन्धित सरोकारवालासँग प्रस्ताव राखेको जनाएका छन् ।

दुवै राष्ट्रपतिले शिखर सम्मेलनको सिद्धान्त स्वीकार गरेका र त्यसका लागि दुवै देशका विदेशमन्त्रीले बिहीबारसम्म छलफलको विषयवस्तु तयार गर्ने माक्रोंले बताए । यद्यपि, रुसले युक्रेनमा आक्रमण गरेको खण्डमा भने यो सम्भव नहुने बताइएको छ ।

रुसले युक्रेनी सीमा क्षेत्रमा बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित १ लाख ६९ हजारदेखि १ लाख ९० हजार सैनिक परिचालन गरेको जनाइएको छ । त्यो संख्यामा पूर्वी युक्रेनका डोनिएत्स्क र लुहान्स्कमा तैनाथ रुसी समर्थन प्राप्त लडाकु पनि जोडिएका छन् । त्यस्तै, छिमेकी देश बेलारुसमा पनि कम्तीमा ३० हजार रुसी सेना तयारी अवस्थामा छन् । तर युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको रुसले बताउँदै आएको छ ।

रुसले युक्रेनलाई नाटोको सदस्यता नदिन तथा पूर्वी युरोपमा नाटोको विस्तार रोक्न माग गर्दै आएको छ । तर अमेरिकालगायत पश्चिमा देशले रुसी मागमा असहमति जनाउँदै आएका छन् । रुसले हवाई आक्रमणका लागि निर्णय लिइसकेको भन्दै केही पश्चिमा देशहरूले कूटनीतिक निकायका कर्मचारी फिर्ता गरेका छन् भने नागरिकलाई युक्रेन छाड्न भनिसकेका छन् । पछिल्ला दिनमा तनाव अन्त्य गर्न कूटनीतिक पहलहरू भए पनि ठोस निर्णय भने हुन सकेको छैन ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘रुसले युरोपमा दोस्रो विश्वयुद्धयताकै ठूलो युद्धका लागि तयारी गरिरहेको’ आरोप लगाएका छन् । गुप्तचर निकायको सूचनाअनुसार रुसले युक्रेनको राजधानी किभलाई घेराबन्दीमा पार्ने गरी आक्रमणको तयारी गरेको जोन्सनको भनाइ छ ।

‘एक अर्थमा योजना सुरु भइसकेको विभिन्न संकेतले देखाएका छन्,’ बीबीसीसँग कुराकानी गर्दै जोन्सनले भनेका छन् । जर्मनीको म्युनिखस्थित विश्व नेताहरू सहभागी सुरक्षा सम्मेलनमा बोल्दै जोन्सनले रुसले आक्रमण गरेको खण्डमा रक्तपातपूर्ण द्वन्द्वको अवस्था आउने चेतावनी दिए ।

रुसले युक्रेनको दक्षिणी द्वीप क्राइमियालाई नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि दुई देशबीच तनाव पुन: चर्केको हो । त्यसयता करिब १४ हजार सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?