कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा नर्सहरू आन्दोलित

नारायण खड्का

सिड्नी — आफ्नो अधिकार तथा उचित हेरचाह पुर्‍याउन सक्ने स्वास्थ्य वातारणको माग गर्दै अस्ट्रेलियाको न्यू साउथ वेल्समा हजारौं नर्सहरूले मंगलबार प्रदर्शन गरेका छन् । 

अस्ट्रेलियामा नर्सहरू आन्दोलित

प्रदर्शनमा न्यू साउथ वेल्समा रहेका १ सय ५० बढी अस्पतालमा कार्यरत नर्सहरू सहभागी भएको स्थानीय सञ्चारमाध्यम एसबीएसले जनाएको छ ।

कोभिड महामारी फैलिएसँगै अस्ट्रेलियाको स्वास्थ्य क्षेत्र कर्मचारी अभावका कारण दबाबमा परेको छ । आन्दोलित स्वास्थ्यकर्मीले हरेक सिफ्टमा एकजना नर्सले ४ जनामात्र बिरामी हेर्न पाउनुपर्ने व्यवस्थाको माग गरेका छन् । साथै आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि गरिनुपर्ने उनीहरूको माग छ ।

प्रदर्शनमा उत्रिएका अधिकांश स्वास्थ्यकर्मीहरू आफूले अस्पतालमा लगाउने पोसाकमै सहभागी थिए । उनीहरूले न्यू साउथ वेल्स राज्यको संसद्‍ भवन अगाडि र्‍याली सहित प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मीको विरोध कार्यक्रमलाई स्थगित गर्न राज्यको निकाय इण्डस्ट्रियल रिलेसन कमिसन (आईआरसी) ले प्रदर्शन रोक्न नर्सहरूको संगठनलाई आदेश दिए पनि त्यसको बेवास्ता गर्दै मंगलबार प्रदर्शनमा गरिएको हो ।

विरोध प्रदर्शनमा सहभागी नर्सहरूले अहिले रहेका नर्स र बिरामीको अनुपात सन्तुलित नभएको र त्यसले बिरामीको उपयुक्त उपचार र हेरचाह गर्न नसकिने गुनासो गरेका छन् ।

अस्ट्रेलियामा सामान्यत: नर्स र बिरामीको अनुपात असन्तुलित बन्दै गएको बताइन्छ । प्रत्येक नर्सले ४ देखि ८ जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने अवस्था छ । पछिल्लो समय कोरोना महामारीका कारण कामको चाप बढेसँगै र नर्सहरू संक्रमित भएसँगै स्वास्थ्यक्षेत्रमा समेत स्वास्थ्यकर्मीको अभाव उत्पन्न भएको छ ।

साथै उनीहरूले आफ्नो तलबसमेत सरकारले तोकेको सार्वजनिक क्षेत्रको प्रस्तावभन्दा २ दशमलव ५ प्रतिशतले बढ्नुपर्ने माग गरेका छन् । कोभिड संक्रमणलाई सुरुआती चरणमै कडा प्रतिबन्धसहित नियन्त्रणमा लिएको अस्ट्रेलियाको स्वास्थ्य क्षेत्र संक्रमण अत्यधिक बढेसँगै टेस्टिङ लगायत कारण दबाबमा उत्पन्न भएको छ ।

जसकारण नर्सहरूले समेत कामको दबाब झेल्नु परिरहेको गुनासो गर्दैआएका छन् । मंगलबार आयोजित विरोध कार्यक्रममा सहभागी हुन केही नर्सहरू काम छोडेरै सहभागी थिए ।

तर यसअघि नर्सहरूको संगठन र सरकारी प्रतिनिधिबीच छलफल भए पनि सहमतिमा पुग्न सकेको थिएन । राज्यका स्वास्थ्यमन्त्री ब्राड हर्जाडले सहमतिमा पुग्नका लागि सबै किसिमका पहल गरेको भए पनि विरोधका कार्यक्रम हुनु दुखद् भएको सिड्नीस्थित टुजिबी रेडियोलाई बताएका छन् ।

तर समाचारसंस्था एसबीएसका अनुसार न्यू साउथ वेल्सका नर्स तथा मिडवाईफ एसोसिएसनका अध्यक्ष ओब्यारी स्मिथले आफूहरूलाई छलफलमा केही पनि प्रस्ताव नगरिएको बताएका छन् । न्यू साउथ वेल्सका ट्रेजरर म्याट कीनले भने नर्सहरूले उपयुक्त माग राखेको बताएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?