कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामै रोकिए कोभिड प्रतिबन्धविरूद्ध ब्रसेल्स हिँडेका प्रदर्शनकारी

ददि सापकोटा

काठमाडौँ — बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शन गर्न भन्दै हिँडेका प्रदर्शनकारीहरूलाई प्रहरीले फ्रान्सको सीमामै रोकेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देशभर लगाएको प्रतिबन्ध र कोभिडविरुद्धको खोपविरुद्ध प्रदर्शन गर्न बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शनका लागि जाँदै गर्दा उनीहरूलाई सोमबार फ्रान्सको सीमामै रोकिएको हो ।

सीमामै रोकिए कोभिड प्रतिबन्धविरूद्ध ब्रसेल्स हिँडेका प्रदर्शनकारी

कोभिड-१९ लाई मध्यनजर गर्दै क्यानडाले लगाएको प्रतिबन्ध र अनिवार्य खोप लगाउनुपर्ने नियमका कारण केहि समययता क्यानडाका ट्रक चालकहरूले सरकारको विरोध गर्दै आएको र त्यहि शैलीमा विरोध गर्न ब्रसेल्सका लागि हिँडेका सयौं कार, क्याम्परभ्यान्स र ट्रकलाई प्रहरीले फ्रान्सेली सीमामै रोकिदिएका हुन् ।

पेरिसमा ट्रक ड्राइभरहरूले प्रदर्शन गरेको देख्नासाथ बेल्जियमका अधिकारीहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।

फ्रान्सेली प्रहरीका अनुसार बेल्जियम प्रवेश गर्नका लागि फ्रान्सबाट करिब एक हजार तीन सय सवारी साधन आइतबार फ्रान्सेली सीमावर्ती सहर लिल नजिक पुगेका थिए ।

फ्रान्सेली झन्डा बोकेका प्रदर्शनकारीहरू लिल नजिकै पार्किङ स्थलमा क्याम्प लगाएर बसेका थिए । बेल्जियम प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले रोकिदिएपछि प्रदर्शनकारीहरूले ‘हामी हार मान्ने छैनौं’‚ ‘स्वतन्त्रता चाहिन्छ, स्वतन्त्रता गुम्न दिँदैनौं’ लगायत नारा लगाएका थिए ।

‘हामीलाई रोक्ने प्रयास गरे पनि जसर भए पनि हामी ब्रसेल्स जान्छौं । स्थायी नियन्त्रणको यो नीतिविरूद्ध लड्न पनि हामी गएरै छाड्छौं‚’ आन्दोलनकारीको भनाइलाई उद्धृत गर्दै फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् ।

यहि सप्ताहन्तमा हजारौं प्रदर्शनकारीहरूले फ्रान्सेली राजधानीमा स्वास्थ्य प्रतिबन्ध र खोप पासविरुद्ध राजधानीलाई नाकाबन्दी गर्ने प्रयास गरेपछि प्रधानमन्त्री जँ कास्टेक्सले शहरलाई नाकाबन्दी गर्ने गरी प्रदर्शन गर्न नपाइने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।

फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोन नेतृत्वको सरकारले रेस्टुरेन्ट, क्याफे र अन्य सार्वजनिक स्थानहरूमा प्रवेश गर्न ‘भ्याक्सिन पास’ हुनुपर्ने नियम बनाइदिएपछि खोपविरोधी प्रदर्शनकारीहरूले त्यसविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

बेल्जियमका अधिकारीहरूले राजधानीमा ‘मोटराइज्ड’ गाडीहरू लिएर गरिने सबै प्रदर्शनहरूलाई प्रतिबन्ध लगाएका छन् । उनीहरूले राजधानी ब्रसेल्स युरोपेली राजधानीसमेत भएकाले उक्त क्षेत्रलाई अवरुद्ध हुनबाट रोक्नका लागि कदम चालेको बताएका छन् ।

ब्रसेल्स प्रहरीले सामाजिक सञ्जालमार्फत सबै नागरिकलाई कार वा सार्वजनिक यातायातबाट यात्रा गर्न सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय उच्च अदालत रहेको नेदरल्यान्ड्सको शहर द हेगमा आयोजना गरिएको यस्तै प्रदर्शनमा सहभागी केहीले बेल्जियम जाने आफ्नो मनशाय रहेको घोषणा गरेपछि बेल्जियमको प्रहरीले नेदरल्यान्ड्स र बेल्जियमको सीमामा पनि थप कडाइ गरेको छ ।

बेल्जियमको प्रहरीले सीमामा सवारी चेक गर्ने योजना बनाइएको भन्दै प्रतिबन्धको बाबजुद सवारी साधन राजधानी आएमा अन्यत्रै डाइभर्ट गरिने चेतावनी दिएको छ ।

ब्रसेल्स विमानस्थलका अधिकारीहरूले आफ्ना यात्रुहरूलाई सावधानी अपनाउन र सडक अवरुद्ध हुन सक्ने भन्दै रेलबाट यात्रा गर्न सुझाव दिएको छ ।

फ्रान्सेली प्रहरीले पेरिसमा करिब एक सय ट्रकवाहकहरूले नाराबाजी गर्ने र सडक अवरुद्ध पार्न थालेपछि तिनलाई तितरबितर पार्न शुक्रबार साँझ केहि राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?