कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

दिल्लीमा अलपत्र महिलाको उद्धार

राजेश मिश्र

नयाँदिल्ली — रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि दलालको पछि लागेर भारतीय राजधानी नयाँदिल्ली आइपुगेकी मोरङको सुन्दर हरैचाकी एक महिलालाई ‘किन इन्डिया’ संस्थाले उद्धार गरेको छ । 

डेढ महिनाभन्दा बढी भइसक्दा पनि दलालले यूएई पठाउन कुनै प्रक्रिया सुरु नगरेपछि महिलाले गुहार मागेकी थिइन् । श्रम मन्त्रालयले जारी गरेको टोल फ्रि नम्बरमा सम्पर्क गरेर उनले आफू महिनौंदेखि दिल्लीमा दलालको नियन्त्रणमा रहेको बताएकी थिइन् । श्रम मन्त्रालय हुँदै दिल्लीस्थित दूतावासमा आएको सूचना उद्धार लगायतका कार्यमा सक्रिय ‘किन इन्डिया’ संस्थालाई पुगेको थियो ।

संस्थाका भारत प्रमुख नवीन जोशीका अनुसार दलालले महिलासँग २ लाखभन्दा बढी रकम लिइसकेका छन् । पीडित महिलाले आफूलाई यूएई पठाइदिने आसमै नेपालकै उर्गेन लामाको इन्भेस्टमेन्ट बैंकको खातामा २ लाख २० हजार नेपाली रुपैयाँ जम्मा गरेको समेत बताइन् । रोजगारीको खोजीमा रहेका बेला गाउँकै एक महिलाले दिल्ली बस्ने शम्भु लामासँग सम्पर्क गराइदिएकी उनको भनाइ छ । उद्धारपछि दिल्लीको एक सेल्टरमा रहेकी उनले शम्भुले आफ्नो भाइ उर्गेनले बाहिरको काम गर्ने भन्दै सम्पर्क गराइदिएको बताइन् ।

डिसेम्बर २० मा दिल्ली आइपुगेकी ३२ वर्षीया ती महिलाले यूएई जान उर्गेनबाट माग गरिए अनुसारको रकम बैंक खातामा जम्मा गरिदिएको बताइन् । ‘ऋण खोजेर दिल्ली आएकी थिए । तर, पैसा यता ल्याएको थिइन, पैसा नपाएसम्म प्रक्रिया नै नबढ्ने बताएपछि आफन्तमार्फत उर्गेनको खातामा पैसा जम्मा गरिदिएकी हुँ,’ उनले भनिन्, ‘पैसा हालेपछि ५ दिनमा तिमी यूएई उड्छौ भनेका थिए । तर, आज भोलि भन्दाभन्दै डेढ महिना कटेपछि पैसा माग्दा पनि फिर्ता दिने छाँटकाँट देखाएनन् ।’

पहिले कुवेत बसेर फर्किएकी उनलाई दलालले दिल्लीमै काम गर्न चाहे मिलाइदिने भन्दै आएका थिए । तर, आफूले ‘दुबई पठाउने भए पठाउ नत्र पैसा फिर्ता गर भन्दा पनि बेवास्ता गरेको’ उनले बताइन् ।

प्रकाशित : माघ २५, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×