कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन

चीन र पाकिस्तानलगायत देशसँगको सम्बन्ध निकै तनावपूर्ण रहेका बेला गरिएको सैन्य शक्ति प्रदर्शनलाई निकै अर्थपूर्ण ठानिएको छ
एजेन्सी

नयाँदिल्ली — चीनलगायत छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रिरहेका बेला भारतले आफ्नो गणतन्त्र दिवसका अवसर पारेर सैनिक शक्ति प्रदर्शन गरेको छ । ७३ औं गणतन्त्र दिवसका अवसरमा बुधबार राजधानी नयाँदिल्लीस्थित राजपथमा देखाइएका सैनिक क्रियाकलाप भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिले निकै ध्यानपूर्वक हेरे । 

गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन

राजपथमा ९० मिनेट चलेको सैन्य परेडमा नौसेना, वायुसेना र स्थलसेनाले आफ्नो शक्ति प्रदर्शन गरेका हुन् । महिला सैनिक शक्ति प्राथमिकताका साथ देखाइएको समारोहमा दर्जनौं लडाकु जेट सामेल थिए । त्यस्तै, एमआई–१७ भी ५, चिनुक र अपाचे हेलिकोप्टरमार्फत हवाई सेनाले आफ्ना कौशल देखाएका थिए । त्यस अवसरमा भारतका विभिन्न राज्यको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिएको थियो । कोभिड–१९ को संक्रमणका कारण दर्शकको संख्या भने ४ हजारमा सीमित पारिएको थियो ।

चीन र पाकिस्तानलगायत देशसँगको सम्बन्ध निकै तनावपूर्ण रहेका बेला गरिएको सैन्य शक्ति प्रदर्शनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । करिब ३ हजार ४ सय ८८ किलोमिटर सीमा जोडिएका भारत र चीनबीच करिब एक दर्जन स्थानमा लामो समयदेखि विवाद कायमै छ ।

सीमा विवादकै कारण दुई देशबीच सन् १९६२ यता ५ पटक युद्ध भइसकेका छ । लद्दाखको पाङ्गोंग तालस्थित विवादित क्षेत्रमा सन् २०२० को मे ५ मा दुई देशका सैनिकहरूबीच भिडन्त भएपछि भने स्थिति थप तनावपूर्ण छ । त्यसयता दुवै देशका शीर्ष नेताबीच समस्या समाधानका लागि गरिएका वार्ता भने निष्कर्षमा पुग्न सकेका छैनन् । त्यसका साथै पछिल्लो समय नेपालसँग पनि सीमा विवाद बल्झिएको छ । त्यस्तै, कश्मीर र आतंकवाद मुद्दाका कारण भारतको छिमेकी पाकिस्तानसँग लामो समयदेखि द्वन्द्व जारी छ ।

भारतले पहिलो पटक सन् १९५० मा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोलाई प्रमुख अतिथि बनाएको थियो । त्यसयता सैनिक परेडमा एक जना विदेशी विशिष्ट व्यक्ति प्रमुख अतिथि बनाउने गरिएको हो । तिक्ततापूर्ण सम्बन्ध रहेको पाकिस्तानका प्रतिनिधिलाई भने भारतले सन् १९६५ यता बोलाएको छैन ।

त्यस्तै, सन् १९५८ मा चिनियाँ कम्युनिस्ट पार्टीका एक जना दिग्गज व्यक्तित्व मार्शल ये जियान्यिङ प्रमुख अतिथिका रूपमा भारत आएका थिए । त्यो भारत र चीनबीच सीमायुद्ध हुनभन्दा ४ वर्षअघि हो । बेलायती प्रधानमन्त्रीलाई भने भारतले ५ पटकसम्म निम्त्याइसकेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१५ को परेड हेरेका थिए । उनी भारतको सैन्य परेडमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

ओबामाको उपस्थितिलाई शीतयुद्धपछि भारत र अमेरिकाबीचको सम्बन्ध सबैभन्दा उच्च तहमा पुगेका रूपमा अर्थ्याइएको थियो । तर भारतीय सञ्चारमाध्यमले भने त्यसलाई ‘मोदीको कूटनीतिक कु’ भनेका थिए । द न्युयोर्क टाइम्सलगायत अमेरिकी सञ्चार माध्यमले भने ‘मोदीको निमन्त्रणा स्वीकार गरेर ओबामाले भारतलाई ठूलो सम्मान दिएका’ भन्दै समाचार बनाएका थिए ।

विश्लेषकहरूले भने उक्त घटनाको अर्थ विश्वमञ्चमा भारतको आगमनका रूपमा बुझ्नुपर्ने बताएका थिए । अमेरिकामा बढ्दै गएको भारतीय मूलका मानिसहरूको जनसंख्याका कारण पनि ओबामाले भारतीय निम्तो स्विकार्न बाध्य भएका कतिपयको भनाइ थियो ।

अंग्रेज शासनबाट स्वतन्त्र भएपछि भारतले संविधानसभामार्फत बनाएको संविधान सन् १९५० को जनवरी २६ मा घोषणा गरेको थियो । उक्त दिन भारतले ब्रिटिस साम्राज्यसँगको सम्बन्ध भंग गरेपछि राष्ट्रपति राजेन्द्र प्रसादले पहिलो राष्ट्रपतिका रूपमा शपथ लिएका थिए । त्यसको सम्झनामा भारतले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गर्छ । त्यसयता भारतले लगातार दोस्रो पटक विदेशी पाहुनाको उपस्थितिबिना नै गणतन्त्र दिवस समारोह मनाएको हो । कोभिड–१९ को संक्रमणका कारण गत वर्ष र यस वर्ष भारतले समारोहमा विदेशी पाहुनालाई निमन्त्रणा नगरेको हो ।

भट्टाचार्य र मुखर्जीद्वारा सम्मान अस्वीकार

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र प्रसिद्ध गायिका सन्ध्या मुखर्जीले गणतन्त्र दिवसका अवसरमा घोषणा गरिएको पद्म पुरस्कार लिन अस्वीकार गरेका छन् । सरकारले अन्य धेरै जनासहित भट्टाचार्यलाई पद्म भूषण र मुखर्जीलाई पद्मश्री सम्मान दिने निर्णय गरेको थियो ।

पश्चिम बंगालमा ११ वर्ष मुख्यमन्त्री रहेका भट्टाचार्य मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता हुन् । उनले आफूलाई सम्मानित गरिने विषयमा कुनै पूर्वजानकारी नदिएको कारण देखाउँदै सम्मान लिन अस्वीकार गरेका हुन् । त्यस्तै गायिका मुखर्जीका तर्फबाट उनकी छोरी सौमी सेन गुप्ताले ९० वर्षको उम्मेरमा आफ्नी आमालाई पद्मश्री पुरस्कार दिएर सरकारले अपमानजनक व्यवहार गरेको उल्लेख गरेकी छन् ।

प्रकाशित : माघ १३, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?