कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमिक्रोनले रोकियो प्रधानमन्त्रीको बिहे

एजेन्सी

वेलिङ्टन — कोभिडविरुद्धको प्रतिबन्धका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको विवाह रोकिएको छ । भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि न्युजिल्यान्डमा पछिल्ला दिनहरूमा प्रतिबन्धहरू कडा पारिएको छ । सार्वजनिक यातायात, पसल, रेस्टुराँलगायतमा कोभिडविरुद्धको खोप लगाएका बढीमा सय जनालाई प्रवेश दिइएको छ । 

ओमिक्रोनले रोकियो प्रधानमन्त्रीको बिहे

प्रधानमन्त्री आर्डनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै प्रेमी क्लार्क गेफर्डसँगको विवाहको कार्यक्रम रोकेको बताएकी हुन् । ‘म बिलकुल फरक छैन । हजारौं न्युजिल्यान्डवासी महामारीका कारण निकै प्रभावित भएका छन्,’ उनले भनिन् । न्युजिल्यान्डमा कोभिड–१९ का कारण हालसम्म १५ हजार १ सय ४ जना संक्रमित हुनुका साथै ५२ जनाको मृत्यु भइसकेको छ । न्युजिल्यान्डमा ९ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि आइतबारदेखि प्रतिबन्धात्मक नियमहरू जारी गरिएको हो ।

नयाँ नियमअनुसार कुनै पनि समारोहमा खोप लगाएका सय जना वा खोप पास नभएका २५ जनालाई मात्र प्रवेश अनुमति दिइएको छ । यो नियम व्यायामशाला तथा विवाह समारोहमा पनि लागू गरिएको छ । त्यस्तै, कक्षा ४ वा सोभन्दा माथिका विद्यार्थीलाई पनि विद्यालयमा मास्क अनिवार्य गरिएको छ । कोभिड–१९ को प्रकोप देखिएसँगै थप फैलन नदिन न्युजिल्यान्ड सरकारले कडा प्रतिबन्धात्मक नियम जारी गर्दै आएको छ । तर डेल्टा भेरिएन्ट देखिएसँगै प्रधानमन्त्री आर्डनले नियम कडा पार्नुभन्दा खोप अभियानलाई तीव्र पारेकी छन् ।

न्युजिल्यान्डमा १२ वर्षभन्दा माथिका कम्तीमा ९४ प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । ५६ प्रतिशतले बुस्टर डोजसमेत लिइसकेका जनाइएको छ । आर्डनका प्रेमी गेफर्ड टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । लामो समयदेखि सँगै बस्दै आएका उनीहरूले गत वर्ष छोरी जन्माएका थिए । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमै रहेका बेला आमा बन्ने आर्डन दोस्रो महिला प्रधानमन्त्री हुन् ।

आर्डनले संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुने क्रममा चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि चर्चामा आएकी थिइन् । उनले संसारभरका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएकी भन्दै निकै प्रशंसा भएको थियो । आर्डन र गेफर्डबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको थियो । ४१ वर्षीया आर्डन २८ वर्षको उमेरमा नै सांसद बनेकी थिइन् ।

प्रकाशित : माघ १०, २०७८ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?