कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जानाजान संक्रमण सार्ने गायिकाको मृत्यु

एजेन्सी

प्राग — जानाजान आफूलाई कोभिड–१९ को संक्रमण गराएकी चेक रिपब्लिककी गायिका हाना होर्काको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेश पाउने ‘रिकभरी पास’ लिनका लागि होर्काले आफूलाई संक्रमित गराएकी थिइन् । त्यस्तो पास चेक सरकारले हालै कोभिड भएर निको भएका मानिसलाई दिने गरेको छ ।


रेकका अनुसार होर्काले कोभिड–१९ विरुद्धका कुनै पनि खोप लगाएकी थिइनन् । संक्रमण पुष्टि भएको केही दिनपछि उनले सामाजिक सञ्जालमा आफूलाई सञ्चो भइरहेको जनाएकी थिइन् । तर त्यसको दुई दिनपछि उनको मृत्यु भएको रेकले जनाए । होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध लोक गायिका थिइन् ।

रेकले आफू र बुबालाई संक्रमण भए पनि आमाले कुनै दूरी कायम नगरी तथा स्वास्थ्य मापण्डको बेवास्ता गर्दै सँगै बसेकी थिइन् । रेक र उनका बुबाले कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएका भए पनि क्रिसमसका बेला संक्रमण भएको थियो ।

‘हामीलाई संक्रमण पुष्टि भएपछि उहाँ एक साता अलग्गै बस्न सक्नुहुन्थ्यो । तर जतिबेला पनि हामीसँगै बसिरहनुभयो,’ बीबीसीसँग उनले भनेका छन् ।

चेक रिपब्लिकमा क्याफे, मदिरालय, सिनेमा हलजस्ता भीडभाड हुने स्थानमा प्रवेश पाउन कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाएको कार्ड वा हालै कोभिड संक्रमण भई निको भएको प्रमाण पेस गर्नुपर्छ ।

रेकका अनुसार आइतबार उनले आफू अब निको भएको भन्दै घुम्न जाने तयारी गरिरहेकी थिइन् । तर त्यति नै बेला अचानक ढाड दुखेपछि उनी ओछ्यानमा सुतिन् । ‘त्यसको १० मिनेटमै उनको सास अवरुद्ध भयो र सबै सकियो,’ छोराले भने ।

१ करोड ७ लाख जनसंख्या रहेको चेक रिपब्लिकमा बुधबारसम्म कम्तीमा २८ हजार जना कोभिडबाट संक्रमित भइसकेका छन् । चेक रिपब्लिकमा ६३ प्रतिशतले मात्रै कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका छन् । युरोपेली संघका अन्य देशमा भने खोप लगाउने ६९ प्रतिशतभन्दा बढी छन् ।

पछिल्ला दिनहरूमा अनिवार्य खोपको नियम ल्याउन लागिएको भन्दै राजधानी प्रागसहित विभिन्न सहरमा हजारौं मानिसले प्रदर्शन गरेपछि भने सरकारले बुधबार मात्रै अनिवार्य खोप लगाउने योजना निश्चित वर्गका लागि स्थगित गरिएको जनाएको छ ।

प्रकाशित : माघ ६, २०७८ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?