कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पन्जाबमा आम आदमी पार्टीको मुख्यमन्त्री उम्मेदवार भगवन्त मान

काठमाडौँ — भारतको पन्जाब प्रान्तको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी(आप) ले लोकसभा सदस्य भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ । आपले मंगलबार आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्रीको उम्मेदवारका रूपमा मानलाई उभ्याएको हो ।

पन्जाबमा आम आदमी पार्टीको मुख्यमन्त्री उम्मेदवार भगवन्त मान

आपले पन्जाबमा मुख्यमन्त्री उम्मेदवार तय गर्नका लागि पन्जाबका नागरिकलाई टेलिफोनबाट नाम सिफारिसका लागि आग्रह गरेको थियो ।

आपले दिएको जानकारीअनुसार पन्जाबबाट करिब २२ लाख प्रतिक्रिया आएको र त्यहीअनुसार मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको हो । प्रतिक्रिया आएकामध्ये करिब ९० प्रतिशतको रोजाइ मान भएको आपका राष्ट्रिय संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।

यसअघि सन् २०१७ को विधानसभा चुनावमा आपले मुख्यमन्त्री उम्मेदवार तय नगरी चुनावमा प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला कसैलाई मुख्यमन्त्रीका रूपमा खडा नगरी चुनाव लड्दा पार्टीलाई घाटा पुगेको भन्दै यस पटक पहिले नै उम्मेदवार तय गरिएको हो । त्यतिबेला आपले विधानसभामा २० सिट जितेको थियो ।

डिजिटल प्लेटफर्मको सुरुवात हुनुभन्दा पहिले नै भगवन्त मान पन्जाबका घरघरमा सुनिएका र रुचाइएका पात्र हुन् । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित छन् । लोकसभा बैठकमा समेत उनका प्रस्तुति रोचक हुने गर्छन् । उनले सन् २०११ मा पिपल्स पार्टी अफ पन्जाबबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । तर सन् २०१४ मा भारतमा राष्ट्रिय रूपमा नरेन्द्र मोदीको लहर र दिल्लीमा आम आदमी पार्टी उदाइरहेका बेला मानले पार्टी परिवर्तन गरेका हुन् ।

२०१४ को लोकसभा चुनावमा उनी संगरुर विधानसभा क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । कांग्रेस र अकाली दलका उम्मेदवारसँगको प्रतिस्पर्धामा उनी २ लाखभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनी सन् २०१९ मा पनि सोही सिटबाट नै लोकसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पन्जाबमा आम आदमी पार्टीका सबैभन्दा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

आम आदमी पार्टीले पन्जाबमा कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पन्जाबमा अहिले कांग्रेसका चरणजित सिंह चन्नी मुख्यमन्त्री छन् । पार्टीभित्र विवाद चुलिएपछि करिब ४ महिना अगाडि क्याप्टन अमरिन्दर सिंहलाई हटाएर चन्नीलाई मुख्यमन्त्री बनाइएको थियो । दलित समुदायका चन्नी छोटो समयमै पञ्जाबमा लोकप्रिय बनेका छन् । लोकप्रिय भाषण र आम मानिससँग घुलमिल गर्ने व्यवहारले उनलाई सर्वसाधारणले मन पराएका छन् ।

यद्यपि कांग्रेसभित्र जारी कलहका कारण मुख्यमन्त्रीबाट हटाइएपछि क्याप्टन अमरिन्दरले पार्टी त्याग गरेर नयाँ दल खोलेका छन् । उनले भाजपालाई साथ दिएका छन् । त्यहाँ पार्टीका अध्यक्ष नवजोत सिंह सिद्धु र मुख्यमन्त्री चन्नीबीच पनि बेलाबेला खिचातानी जारी छ । पञ्जाबमा कांग्रेस एक नरहेको भन्दै विपक्षीहरू त्यसको लाभ लिने प्रयत्नमा छन् । निकै कमजोर भाजपाले २०१७ को चुनावमा जम्मा ३ सिट ल्याएको थियो ।

११७ सिट रहेको पन्जाब विधानसभा चुनाव फेब्रुअरी २० मा हुनेछ । मतगणना भने उत्तर प्रदेश, उत्तराखण्ड, गोआ र मणिपुरको सँगै मार्च १० देखि सुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?