कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती राजनीतिमा ‘भोज तरंग’

नवीन पोखरेल

लन्डन — कोभिड–१९ को महामारी फैलिएपछि गरिएको लकडाउन उल्लंघन गरी कर्मचारीले नै सामूहिक जमघट र मदिरा भोज गरेको विषयले बेलायतको राजनीति निकै तातेको छ ।

बेलायती राजनीतिमा ‘भोज तरंग’

लकडाउन प्रतिबन्ध जारी रहँदा सरकारी अधिकारी नै मदिरा भोजमा व्यस्त भएको पाइएपछि अहिले बोरिस जोन्सन नेतृत्वको सरकार निकै आलोचित बनेको छ ।

पार्टीमा आफू सहभागी भएको प्रधानमन्त्री जोन्सनको स्वीकारोक्तिपछि भने राजनीति थप तरंगित मात्र भएको छैन, धेरैले उनको राजनीतिक भविष्य नै संकटमा परेको आकलन गर्दै छन् । सर्वसाधारणलाई नियम लगाउने तर आफूहरू भने प्रधानमन्त्री कार्यालयभित्र मदिरा भोज गर्ने भन्दै जोन्सनको तीव्र आलोचना भएको हो । प्रतिपक्षसहित सत्तारूढ दल कन्जरभेटिभ (टोरी) कै सांसदहरूले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् ।

धेरै सहकर्मीलाई जोन्सन आउँदो आमनिर्वाचनमा नेता हुन्छन् भन्ने विश्वास छैन् । सयौं आक्रोशित मतदाताले यही विषयमा आफ्ना सांसदहरूलाई सम्पर्क गरेका बीबीसीले जनाएको छ । कतिपय नेताले ‘प्रधानमन्त्रीले नेतृत्वका लागि नैतिक धरातल गुमाइसकेको’ टिप्पणी गरेका छन् ।

एक जना सत्तारूढ सांसदले दलबारे आक्रोश व्यक्त गरिएका २ सयभन्दा बढी इमेल आएका र ५ वटामा मात्र प्रधानमन्त्रीलाई समर्थन गरिएको जनाएका छन् । बीबीसीले प्रस्तुत गरेको ‘टाइमलाइन’ अनुसार लकडाउनका बेला सरकारी अधिकारीले प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा पटकपटक जमघट गरेका थिए ।

प्रधानमन्त्री जोन्सनले सर्वसाधारणलाई सतर्क रहन भनिरहँदा उनीसहित सरकारी अधिकारी भने प्रधानमन्त्री कार्यालयमै भोजमा रमाएका घटनाक्रमले देखाएको छ । सन् २०२० को मे १०, १५ र २०, जुलाई १७, नोभेम्बर ५, १३ र २७ मा सरकारले नै भोज आयोजना गरेको बीबीसीले उल्लेख छ । त्यस्तै, डिसेम्बर २, १०, १४, १५, १६, १७ र १८ तथा सन् २०२१ को अप्रिल १२ र १६ मा पार्टी गरिएको हो ।

बेलायती राजकुमार फिलिपको अन्त्येष्टि हुनु अघिल्लो रात अप्रिल १६ मा राष्ट्र शोकमा डुबिरहेका बेला प्रधानमन्त्री कार्यालयका कर्मचारीले टेन डाउनिङ स्ट्रिटमा दुईवटा पार्टी गरेका थिए ।

प्रधानमन्त्री जोन्सन नभए पनि कोभिडसम्बन्धी नियम उल्लंघन गरेकामा उनी पनि विवादमा तानिएका हुन् । प्रधानमन्त्री कार्यालयले बेलायती राजदरबार बकिङहम राजदरबारसँग यस विषयमा माफी मागिसकेको छ । प्रधानमन्त्रीका प्रवक्ताले शोकका बेला भोज गरिनु निन्दनीय भन्दै माफी मागेका हुन् । सन् २०२० को मे २० मा पहिलो लकडाउन बेला प्रधानमन्त्री कार्यालयमा आयोजित मदिरा पार्टीमा सहभागी भएपछि विवादमा तानिएका जोन्सन बेलायती अखबारले एकपछि अर्को घटना उजागर गरेपछि थप तनावमा छन् । उनले यसअघि बेलायती संसद् ‘हाउस अफ कमन्स’ मा माफी मागे पनि मुद्दा सेलाएको छैन ।

टोरीका स्कटिस नेता डग्लस रस र अन्य ५ सांसदले पार्टी नेतृत्व छनोट गर्ने ‘१९२२ कमिटी’ लाई एक पत्र लेख्दै प्रधानमन्त्री माथि विश्वास नभएको जनाइसकेका छन् । कम्तीमा ५४ सांसदले त्यस्तै पत्र लेखेमा जोन्सनले दलभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । पराजित भएको खण्डमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ ।

पूर्वमन्त्री तथा टोरी वरिष्ठ नेता टोबायस एलउडले बोरिसलाई सशक्त नेतृत्व गर्न वा पद छाड्न भनेका छन् । डिफेन्स सेलेक्ट कमिटीका अध्यक्ष एलउडले आफूहरूले ‘नेतृत्व’ चाहेको बताए । सरकारले भने वरिष्ठ कर्मचारी सु ग्रेको छानबिन प्रतिवेदन नआइन्जेल आफ्नो धारणा नबनाउन अपिल गरेको छ । बेलायती पूर्वविदेशमन्त्रीको सल्लाहकार समितिमा रहिसकेका बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदी बेलायती राजनीति नैतिकताले चलेको र सरकार संसद्प्रति जवाफदेही हुने बताउँछन् ।

‘संसद्प्रति जवाफदेही सरकारको जीवन्त र सुन्दर अभ्यास बेलायतले प्रस्तुत गर्छ,’ सुवेदी भन्छन्, ‘यहाँको राजनीतिको सुन्दर पक्ष के छ भने प्रत्येक साता सानाठूला सबै कमीकमजोरीमा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिन लगाइन्छ । बेलायतको संसद् सशक्त र सक्रिय संसद्को उदाहरण हो ।’


प्रकाशित : माघ २, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?