कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरापमा जोन्सनको राजनीति

बेलायतमा पहिलो लकडाउन भएका बेला प्रधानमन्त्री कार्यालयमा मदिरा पार्टी गरेको समाचार बाहिरिएपछि राजीनामा दिन पार्टीभित्रबाटै दबाब
नवीन पोखरेल

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सन फेरि विवादमा तानिएका छन् । कोभिड–१९ का कारण गरिएको लकडाउनका बेला सन् २०२० मे २० मा प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिट गार्डेनमा आयोजित मदिरा पार्टीमा सहभागी भएको समाचार बाहिरिएसँगै उनी विवादमा तानिएका हुन् ।

धरापमा जोन्सनको राजनीति

बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सन करिब २५ मिनेट पार्टीमा बसेका थिए । प्रधानमन्त्रीले उक्त जमघट कामकै लागि भएको र महामारीका बेला कडा परिश्रम गरेका कर्मचारीलाई धन्यवाद दिन गरिएको भन्दै प्रतिवाद गरेका छन् । प्रधानमन्त्रीले लकडाउन उल्लंघन गर्दा आमनागरिकमा देखिएको आक्रोश आफूले बुझेको भन्दै बुधबार बेलायती संसद् ‘हाउस अफ कमन्स’ मा क्षमा मागे पनि यो मुद्दा सजिलै पार लाग्ने देखिएको छैन । सत्तारूढ टोरी पार्टीकै वरिष्ठ नेताहरूले राजीनामा मागेपछि प्रधानमन्त्री जोन्सन यतिखेर चौतर्फी घेराबन्दीमा परेका छन् ।

स्कटिस टोरी नेता डग्लस रोस, सांसदहरू विलियम रेग, क्यारोलिन नोक्स, रोजर गेललगायतले जोन्सनलाई पद छाड्न भनेका बीबीसीले उल्लेख गरेको छ । नेता रोसले जोन्सनसँग आफूले गरेको ‘वार्ता असहज मोडमा पुगेको’ बताएका छन् । उनले टोरी नेतृत्व छान्ने ‘१९२२ कमिटी’ लाई पत्र लेखेर जोन्सनलाई प्रधानमन्त्रीमा समर्थन नगर्न आग्रह गर्ने जनाइसकेका छन् ।

‘उनी (जोन्सन) प्रधानमन्त्री हुन् । उनको सरकारले ती नियम लागू गरेको हो । त्यसकारण उनले यसको जिम्मेवारी लिनुपर्छ,’ रोसको भनाइ छ । यदि ५४ जना कन्जरभेटिभ सांसदले प्रधानमन्त्रीविरुद्ध १९२२ कमिटीलाई पत्र लेखे भने यसले नेतृत्व चुनौतीका लागि प्रक्रिया अगाडि बढाउन सक्छ ।

प्रतिपक्ष दल लेबरका नेता सर किम स्टारमरले पार्टीमा जोन्सनको उपस्थिति ‘हास्यास्पद’ भन्दै राम्रो काम गर्न र राजीनामा दिन माग गरेका छन् । जोन्सनले धेरै महिनादेखि छलकपट गरेको टिप्पणी पनि स्टारमरको छ । लिबरल डेमोक्रेटिक पार्टीका नेता सर इड डेभीले पनि जोन्सनलाई बाहिरिन भनेका छन् । डेभीले मेट्रो पोलिटन प्रहरीलाई पत्र लेखेर जोन्सन सहभागी पार्टीको अनुसन्धान गर्न आग्रह गरेका छन् ।

उता स्कटिस नेसनल पार्टीका नेता इयान ब्ल्याकफोर्डले प्रधानमन्त्रीलाई पदबाट हटाउन दबाब दिन सत्तारूढ टोरी सांसदहरूलाई आग्रह गरेका छन् । मन्त्रिपरिषद् सदस्यहरूले भने छानबिन प्रतिवेदन नआइन्जेल पर्खन सांसदहरूलाई अपिल गरेका छन् ।

छानबिन प्रतिवेदनले दोषी ठहर गरे नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीमथि दबाब पर्ने निश्चित छ । प्रधानमन्त्री जोन्सन र विवाद पर्याय जस्तै भएको छ । यसअघि सन् २०२० को डिसेम्बरमा सिंगो देश लकडाउनमा रहेका बेला प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा कर्मचारीहरूका लागि क्रिसमस पार्टी आयोजना गरिएको मुद्दामा पनि उनी विवादमा तानिएका थिए ।

प्रधानमन्त्रीले उक्त पार्टी आयोजना गर्दा कुनै नियम भंग नगरिएको दाबी गरेका थिए । केही साताअघि जोन्सनले नयाँ भेरिएन्ट संक्रमण नियन्त्रणका लागि कोभिड पास सम्बन्धमा आफ्नै दलका सय जना सांसदबाट संसद्मा विद्रोहको सामना गर्नुपरेको थियो ।

यसबाहेक उनकै दलका एक जना सांसद ओवेन प्याटरसनले छुट्टै पारिश्रमिक लिएर एउटा निजी कम्पनीका लागि काम गरेको सार्वजनिक भएको थियो । उनको बचाउ गर्न खोजेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो । ओवेनले पदबाट राजीनामा दिइसकेका छन् ।

महारानी एलिजाबेथ द्वितीयले शासन गरेयता बेलायतमा १४ जना प्रधानमन्त्री भइसकेका छन् । तर एकपटक प्रधानमन्त्री पदबाट बहिर्गमन भएको नेता पुनः उही पदमा भने पुगेका छैनन् ।


प्रकाशित : पुस ३०, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?