कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विधानसभा चुनावअघि बीजेपीलाई धक्का : ७ जना विधायकले छाडे पार्टी

प्रदीप घिमिरे

काठमाडौँ — भारत उत्तर प्रदेशका विधायक मुकेश वर्माले बिहीबार भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् । पार्टीमा देखिएका समस्यालाई दृष्टीगत गरी आफूले पार्टी परित्याग गरेको वर्माको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

विधानसभा चुनावअघि बीजेपीलाई धक्का : ७ जना विधायकले छाडे पार्टी

गएका तीन केही दिनभित्रमा मात्रै भाजपाका सात विधायकले पार्टी परित्याग गरिसकेका छन् । सिकोहाबादका विधायक वर्माले केही दिनअघि मात्रै भाजपा परित्याग गरेका स्वामीप्रसाद मौर्य आफ्नो नेता भएको भन्दै मौर्यको कदममा आफूले साथ दिने बताएका छन् ।

‘स्वामीप्रसाद मौर्य हाम्रो नेता हो । उहाँले जस्तो कदम चाल्नुहुन्छ‚ त्यसमा हाम्रो साथ रहन्छ । आउँदा दिनमा अन्य नेताले पनि हामीलाई साथ दिँदै जानु हुनेछ‚’ वर्माले भनेका छन् ।

योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले दलित र पिछडिएका वर्गलाई भेदभाव गरेको र किसान तथा बेरोजगारहरूलाई बेवास्ता गरेको भन्दै यसप्रति आफ्नो असहमति रहँदै आएको र फलस्वरुप पार्टी परित्याग गरेको वर्माले बताए ।

‘भाजपा सरकारले पाँच वर्षको कार्यकालमा दलित‚ पिछडिएका वर्ग र अल्पसंख्यक समुदायका नेता वा जनप्रतिनिधिलाई बेवास्ता गरियो‚’ वर्माले ट्विटरमार्फत भनेका छन्‚ ‘दलित‚ पिछडिएका किसान र रोजगारविहीनहरूको उपेक्षा गरियो । यसैले म भारतीय जनता पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिँदै छु ।’

भाजपाले आफ्नै लागि मात्र विकास गरेको भन्दै वर्माले ७० वर्षयता देशमा बनेका भौतिक संरचनाभन्दा बढी भाजपा पार्टी कार्यालयहरू पाँच वर्षको अन्तरालमा बनाएको आरोप लगाएका छन् । ‘अहिले हरेक जिल्लामा दुई/दुईवटा भाजपाका कार्यालयहरू छन्‚’ उनको भनाइलाई उद्धृत गर्दै इन्डिया टूडेले जनाएको छ ।उनी भाजपाको तर्फबाट उत्तर प्रदेशस्थित सिकोहाबादका विधायक हुन् ।

यसअघि उत्तरप्रदेशकै भाजपाका विधायक तथा मन्त्री स्वामीप्रसाद मौर्यले पार्टी परित्याग गरेका थिए भने लगत्तै अर्का मन्त्री दारा सिंह चौहानले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बाहिरिएका थिए ।

मौर्य र चौहानले अहिलेसम्म कता जाने भन्ने विषय सार्वजनिक नगरे पनि समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले मौर्यसँगै बसेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई समाजवादी पार्टीमा स्वागत गरेको ट्वीट चर्चित बनेको छ ।

हालसम्म पाँच पटकसम्म विधायक भइसकेका मौर्यले पनि पिछडिएको वर्गलाई भाजपाले बेवास्ता गरेको आरोप लगाउँदै पार्टीबाट बाहिरिएका थिए । पार्टी परित्याग गरिसकेपछि मौर्यले यसको असर सन् २०२२ को विधानसभा निर्वाचनमा देखिने बताएका छन् ।

मौर्यले मन्त्रीमण्डल परित्याग गरेको पत्र ट्विटरमार्फत सार्वजनिक गर्दै भनेका छन्‚ ‘श्रम‚ सेवायोजन तथा समन्वय मन्त्रीको रुपमा विपरीत परिस्थितिहरू वा विचारधारामा रहँदारहँदै पनि मैले यथाशक्य उत्तरदायित्व निर्वाह गरेको छु तर दलित‚ पिछडिएका वर्ग‚ किसान‚ रोजगारविहीन युवा र लघु एवं मध्यम श्रेणीका व्यापारीहरूलाई उपेक्षात्मक रवैया देखाएकाले उत्तर प्रदेशको योगी मन्त्रीमण्डलबाट राजीनामा दिएको छु ।’

पार्टी छाडेपछि मौर्यले सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका ठूला नेताहरूसँग पनि आफूले यी मुद्दाको विषयमा कुरा उठाएको तर सुनुवाइ नभएको बताए । मौर्य सन् २०१६ मा बहुजन समाज पार्टीबाट अलग्गिएर भाजपामा आएका थिए ।

मंगलबारयता मात्र वर्मासँगै सात जनाले भाजपा परित्याग गरिसकेका छन् । स्वामीप्रसाद मौर्यसँगै भाजपाका अन्य तीन विधायक टिन्डवारीका ब्रजेश प्रजापति‚ तिलहारका रोशनलाल वर्मा र बिलहौरका भगवती सागरले पार्टी परित्याग गरिसकेका छन् । त्यस्तै भाजपाकै विधायक अवतार सिंह भडानाले पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन् । भाजपा परित्यागपछि उनी राष्ट्रिय लोक दलमा सहभागी भइसकेका छन् ।

यसैगरी मंगलबार नै बिधुनाका विनयकुमार शाक्यले पनि पार्टीमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । यसकै बीच उत्तरप्रदेशकै दुई विधायक कंग्रेसका नरेश सैनी र समाजवादी पार्टीका हरिओम यादव भाजपामा सहभागी भएका छन् ।

भारतका विभिन्न राज्यमा चुनावी सरगर्मी बढ्दै गर्दा बीजेपीका सांसदहरू भने धमाधम पार्टी परित्याग गर्नुले पार्टीको आगामी यात्रा अझ कठिन बन्ने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।

अहिले सत्तारूढ दल भाजपा, विपक्षी कांग्रेस तथा समाजवादी, तृणमूल कांग्रेस, आम आद्मी पार्टी (आप) लगायतका केही क्षेत्रीय शक्तिहरू चुनावी परिणाम आफ्नो पक्षमा पार्ने जोडबलमा लागिपरेका छन् । पार्टीका शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्म कोभिडको प्रवाह नगरी चुनावी संघर्षमा पूरा शक्तिका साथ होमिएका छन् ।

उत्तरप्रदेशमा सन् २०२२ को फेब्रुअरी १० देखि मार्च ७ सम्ममा कुल ४०३ जना विधायकका लागि सात तहमा निर्वाचन हुनेछ भने मार्च १० देखि नै मतगणना सुरु गरिनेछ ।

प्रकाशित : पुस २९, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?