कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा हिउँमा फसेर २१ को मृत्यु

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको उत्तरी क्षेत्रको सडकमा भारी हिमपातका कारण गाडीहरू फसेपछि कम्तीमा २१ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा हिउँमा फसेर २१ को मृत्यु

सेनाले हिउँमा फसेकाहरूको उद्धार गरी मुर्रेस्थित सडक खुलाउने प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । गृहमन्त्री शेख रसिदले कम्तीमा एक हजार गाडी हिउँमा फसेका जनाएका छन् । पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा पर्ने मुर्रे पाकिस्तानको राजधानी इस्लामाबादबाट उत्तरतर्फ पर्छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबारदेखि उक्त क्षेत्रमा हिमपात भएसँगै पर्यटक रोकिएका हुन् । त्यसयता हिउँ खेल्न कम्तीमा एक लाख निजी गाडी मुर्रे क्षेत्रमा पुगेका थिए । जसका कारण निकै लामो जाम परेको प्रहरीले जनाएको छ । २१ मध्ये ६ जनाको चिसोले गाडीभित्रै कठ्यांग्रिएर ज्यान गएको हो । अन्यको मृत्यु कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।


अधिकारीरूले मुर्रेलाई विपद् क्षेत्र घोषणा गर्दै मानिसहरूलाई अन्यत्रै रहन आग्रह गरेको छ । ‘मानिसहरूले निकै भयावह स्थितिको सामना गरिरहेका छन्,’ त्यस क्षेत्रमा अड्केका एक पर्यटक उस्मान अब्बासीले समाचार संस्था एएफपीलाई भने, ‘पर्यटकमात्र होइन, स्थानीय पनि निकै समस्यामा छन् । ग्यास र पानी अभाव भएको छ ।’

गृहमन्त्री रसिदले एक भिडियो सन्देशमा करिब २० वर्षयता हिउँ खेल्न मुर्रे क्षेत्रमा निकै ठूलो संख्यामा मानिसहरू पुगेका कारण ठूलो संकट उत्पन्न भएको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘पर्यटकहरूको दुःखद मृत्युले आफू मर्माहत भएको’ बताएका छन् । ‘मैले यसबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना हुन नदिन कडा नियमनका लागि निर्देशन दिएको छ,’ खानले ट्वीटरमा लेखेका छन् ।



प्रकाशित : पुस २४, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?