कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

परीक्षामा स्मरण शक्ति बढाउन ड्रग्स !

नवीन पोखरेल

लन्डन — बेलायती विश्वविद्यालयका विद्यार्थीले परिक्षाअघि राम्रो नतिजा ल्याउन भन्दै ‘प्रेस्क्रिप्सन’ बिना औषधि सेवन गरेको समाचार सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको छ । बेलायतस्थित विभिन्न विश्वविद्यालयका उपकुलपति आबद्ध संस्था ‘युनिभर्सिटिज यूके’ ले विश्वविद्यालयका विद्यार्थीले परीक्षाका बेला आफ्नो स्मरण शक्ति र ध्यान बढाउन औषधि प्रयोग गर्ने गरेका विषयमा अनुसन्धान गर्न आदेश दिएको हो । संस्थामा १ सय ४० भन्दा बढी विश्वविद्यालय तथा कलेज सदस्य छन् ।

बेलायतका अक्सफोर्ड, एडिनबरा, नटिङहाम र लन्डन स्कुल अफ इकनमिक्सलगायत प्रतिष्ठित विश्वविद्यालयका छात्रछात्रमा त्यस्तो व्यवहार देखिएको समाचारहरूमा जनाइएको छ । अनिद्राको समस्या तथा कुनै काममा ध्यान लगाउन नसक्ने बिरामीका लागि चिकित्सकले सिफारिस गर्ने गरेका औषधि विद्यार्थीले परीक्षाअगावै किन्ने र सेवन गर्ने गरेका बताइएको छ । ‘स्टडी ड्रग्स’ भनिने मोडाफिनिल र रिटालिनले स्मरण शक्ति बढाउने र पढाइमा फोकस गराउने विश्वास विद्यार्थीको छ ।

एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) वा डिमेन्सियाका बिरामीले खाने उक्त औषधि प्रेस्क्रिप्सनबिना खानु गैरकानुनी मानिन्छ । बेलायतमा धेरैजसो औषधि चिकित्सकको प्रेसक्रिप्सनबिना किन्न पाइँदैन । तर यस्ता औषधि लुकीछिपी बिक्री गर्ने गरेको बताइएको छ । इन्टरनेट रिटेलरमार्फत बेलायतबाहिरबाट २ पाउन्डभित्रै ती औषधि उपलब्ध हुने एक विद्यार्थीलाई उद्धृत गदै ‘द टाइम्स’ पत्रिकाले जनाएको छ । विद्यार्थीले त्यस्ता ड्रग्स सजिलै किन्न सकिने बताएको अखबारले उल्लेख गरेको छ । गत वर्ष ५४ वटा विश्वविद्यालयका विद्यार्थीमाझ गरिएको एक अनलाइन सर्वेक्षणमा १९ प्रतिशत विद्यार्थीले ती औषधि सेवन गरेको बताएका थिए ।

बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक तथा एसोसिएट डिन डा. पदम सिम्खडा यहाँका विश्वविद्यालय पढ्ने विद्यार्थीमा ‘स्मार्ट ड्रग्स’ प्रयोग सामान्य भएको बताउँछन् । ‘कोभिडका कारण साथीभाइसँग घुलमिल नगरी घरमै बस्नुपर्दा डिप्रेसनले यसको प्रयोग झन् बढेको पाइएको छ,’ उनले भने, ‘तर स्मरण शक्ति बढ्छ वा पढाइमा केन्द्रित हुन्छु भनेर सामान्य मानिसले सेवन गर्नु राम्रो होइन । यसका साइड इफेक्ट निकै धेरै छन् ।’

सिम्खडाले बेलायतका सबै विश्वविद्यालयले ‘मेडिकल कन्डिसन’ बाहेक त्यस्ता ड्रग्स प्रयोग गर्न प्रतिबन्ध लगाउने नीति बनाएको बताउँछन् । लिभरपुल युनिभर्सिटी हस्पिटल्समा कार्यरत एनेस्थेसियोलोजिस्ट डा. शम्भु आचार्य चिकित्सकको सल्लाहबिना यस्ता औषधि नलिन सुझाउँछन् । ‘मेडिकल इन्डिकेसनबाहेक अन्य औषधि खानु हानिकारक छ,’ उनले भने, ‘छाती, किड्नी, ब्लड प्रेसर, मानसिक स्वास्थ्य समस्या हुने र अन्य धेरै रोगका बिरामीलाई यसले धेरै नकारात्मक असर गर्ने भएकाले ज्यान नै जोखिममा पर्न सक्छ ।’

प्रकाशित : पुस १८, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×