कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियामा पनि देखियो नयाँ कोरोना

गोकुल थोकर

सोल — दक्षिण कोरियामा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभाग केसीडीसीका अनुसार डिसेम्बर २२ मा बेलायतबाट आएका तीन जना कोरियालीलाई नयाँ भाइरसको संक्रमण देखिएको हो । उनीहरूको सोमबार परीक्षण गरिएको थियो ।

दक्षिण कोरियामा पनि देखियो नयाँ कोरोना

डिसेम्बर १४ मा बेलायतबाट फर्किएका एक कोरियालीको आइतबार मृत्यु भएको थियो । पहिले कोरोनाको परीक्षण गर्दा रोगको कुनै लक्षण नदेखिए पनि घरमा आइसोलेसनमा बसिरहेकै अवस्थामा उनको शनिबार मृत्यु भएको थियो । मृतकसँगै बेलायतबाट फर्किएका दुई कोरियालीको आइतबार पुन: कोरोना परीक्षण गर्दा दुवै जना संक्रमित भएको पाइएको छ । उनीहरूमा देखिएको भाइरसबारे थप परीक्षण गरिने पनि केसीडीसीले जनाएको छ ।

नयाँ भाइरस फेला परेपछि बेलायतसँगका सबै उडान जनवरी ७ सम्मका लागि बन्द गरिएको छ । साथै संक्रमितहरूसँग एउटै उडानबाट आएका अन्य यात्रुको पनि पुन: कोरोना भाइरस परीक्षण गर्न थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरियामा जाडो मौसम बढ्दै जाँदा कोरोना संक्रमितको संख्या बढी रहेको छ । दैनिक एक हजारको हाराहरीमा मानिसहरू संक्रमित भइरहेका छन् । यो संख्या कोभिड–१९ को महामारी कोरियामा फैलिएपछिकै बढी हो ।

स्थानीय नगरपालिका र स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि कडा प्रकारका नियमहरू लागू गरिरहेका छन् । यसअघि नै राजधानी सोल र ख्याङ्गिदो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । साथै सार्वजनिक स्थलमा माक्स नलाए पहिलो पटक एक लाख वन (१० हजार रुपैयाँ) पनि जरिवाना गर्दै आइरहेको छ ।

बेलायतमा भएको अध्ययनहरूले नयाँ कोरोना भाइरस पहिले देखिएको भाइरसभन्दा ७० प्रतिशतभन्दा बढी छिटो सर्ने देखाएको छ । छिटो सर्ने भए पनि बिरामीको मृत्यु हुने दर बढी छ या छैन भन्ने अझै खुल्न सकेको छैन । साथै पहिलेको कोरोना भाइरसका लागि तयार भएको भ्याक्सिनले पनि काम गर्छ कि गर्दैन भन्ने अध्ययन हुनै बाँकी छ ।

प्रकाशित : पुस १४, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?