कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

युरोपमा सुरु भयो खोप अभियान

स्वास्थ्यको उच्च जोखिममा रहेका वृद्धाश्रमका बूढाबूढी र स्वास्थ्य सेवाका कर्मचारीहरुलाई प्राथमिकता
ददी सापकोटा

पेरिस — फ्रान्स र इटालीलगायत युरोपेली संघका आधा दर्जन देशहरूले आइतबार कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् । जर्मनी, हंगेरी र स्लोभाकियाले शनिबारदेखि नै खोप दिन सुरु गरेका हुन् । युरोपेली देशहरूले स्वास्थ्यको उच्च जोखिममा रहेका वृद्धाश्रमका बूढाबूढी र स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

युरोपमा सुरु भयो खोप अभियान

फ्रान्समा एक ७८ वर्षीया महिलालाइ कोरोना भाइरसविरुद्धको खोप लगाएर आइतबार अभियान सुरु गरिएको हो । अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले विकास गरेको खोप आइतबार पेरिसनजिकैको सेन सादनीस्थित सेभ्रा अस्पतालमा पहिलोपटक लगाइएको हो । फाइजर–बायोएनटेकले खोप ९५ सुरक्षित र विश्वसनीय रहेको भन्दै घोषणा गरेको ५० दिनपछि युरोपेली संघले मान्यता दिएको थियो । इटाली, स्पेन, अस्ट्रिया, बुल्गारिया र स्विडेनले प्राथमिकता समूह निर्धारण गरेर खोप दिन लागेका छन् । फ्रान्सले आइतबार वृद्धाश्रमका केही दर्जन नागरिकमा खोप लगाएर खोप राष्ट्रिय अभियान सुरु गरेको छ । स्पेन, क्रोएसिया, बेल्जियम र लक्जमबर्गले सोमबारदेखि खोप अभियान सुरु गर्दै छन् । स्विट्जरल्यान्डले गत बुधबार तथा सर्बियामाले बिहीबार नै खोप अभियान सुरु गरिसकेको जनाएका छन् ।

नेदरल्यान्ड, डेनमार्कलगायतका युरोपेली अन्य मुलुकले जनवरीको पहिलो साताबाट खोप लगाउने सुरु गर्ने जनाएका फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् । यी सबै देशहरूले २०२१ मा युरोपको सम्पूर्ण जनसंख्यामा खोप लगाउनका लागि विकल्पहरू प्रस्तुत गरेका छन् ।

युरोपेली आयोगले यसअघि युरोपेली संघअन्तर्गतगका सबै मुलुकका एकैसाथ खोप लगाउनुपर्ने निर्णय गरेको थियो । युरोपेली आयोगका अध्यक्ष उर्सला भान डर लियनले फाइजर–बायोएनटेक खोप युरोपेली संघका २७ वटै सदस्य राष्ट्रहरूमा पुर्‍याइएको बताएकी छन् । खोप प्राप्त भएलगत्तै जर्मनी, हंगेरी, स्लोभाकियालगायत केही देशले खोप पाउनासाथ सुरु गरेका थिए ।

संघले हाल फाइजर–बायोएनटेकको खोप दिने अभियना सुरु गरे पनि अमेरिकी कम्पनी मोडेर्नाको खोप जनवरी ६ मा प्राप्त हुने अपेक्षा गरेको छ । हालसम्म चीन र रुस घरेलु खोपहरूमै निर्भर छन् । रुसको स्पुतनिक–बी र चीनको फिनो, सिनोभाक र क्यान सिनो खोपहरू अझै तेस्रो चरणको परीक्षणकै क्रममा छन् । त्यसैले सामान्य अभियानमा रहेकाले ती खोप अनुमोदन नगरिएको फ्रान्सेली समाचारहरूमा उल्लेख छ । ती खोपलाई प्रयोगमा ल्याउनुअघिका परीक्षणहरूमा सामान्यतः हजारौं मानिस समावेश गरिनुपर्ने भए पनि हालसम्म त्यो पूरा भइसकेको छैन । तर चीन तथा रुस दुवै देशले आफ्नो देशमा निर्मित खोप आम मानिसमा लगाउन सुरु गरिसकेका छन् ।

ब्राजिल, पेरू र मोरोक्कोले चिनियाँ खोपहरूको परीक्षण गरिरहेको र तीमध्ये एउटा अर्जेन्टिनामा बिहीबार अनुमोदन भएको उल्लेख छ ।

युरोपेली संघका देशहरूमा औषधि, खोपको उत्पादन, सिफारिस र नियमन गर्ने युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले यो खोप सबैलाई तत्कालै उपलब्ध गराउन नसक्ने बताएको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु गरे पनि कम्तीमा ५० करोड नागरिकलाई लगाउनुपर्ने र त्यसको प्रभाव एक वर्षपछि मात्रै देखिने ईएमएले स्पष्ट पारेको छ । ईएमएले खोपको पहिलो प्रभाव आगामी गर्मी याममा मात्रै देखिने उल्लेख गरेको छ । सन् २०२१ मा ६ वा ७ वटा खोपहरू उपलब्ध हुने र त्यसपछि अन्य खोपहरूलाई अनुमोदन गरेलगत्तै खोपको पहुँच सहज हुने ईएमएले उल्लेख गरेको छ । ईएमएका निर्देशक गुइदो रासीका अनुसार जनवरी महिनामा खोपलाई बजारमा लगेको ५ देखि ६ महिनामा मात्रै त्यसको प्रभाव देखिन्छ ।

‘स्पष्ट छ, यो खोप सबैलाई एकैपटक लगाउन सम्भव छैन । तर हामी सबैभन्दा पहिले प्राथमिकतामा पर्ने वर्गबाट खोप लगाउन सुरु गर्नेछौं । वृद्धहरू, स्वास्थ्यकर्मी, दीर्घरोगी, सुसारेहरूबाट सुरु गर्छौं जसले रोग फैलाउन पुलको काम गर्नेलाई बन्द गर्छ,’ उनले भने ।

रासीका अनुसार कोरोना भाइरसको संक्रमण रोक्न कम्तीमा युरोपको आधाभन्दा बढी जनसंख्या अर्थात् ५० करोड नागरिकलाई खोप दिइनुपर्छ । उनले भने, ‘सबै कुरो सोचेअनुसार अगाडि बढेमा यो खोप सबैलाई दिन एक वर्ष लाग्छ ।’

यसैबीच, बेलायतको उत्तरी क्षेत्रबाट उत्परिवर्तित (म्युटेसन) भएर नयाँ रूपमा देखापरेको कोरोना भाइरस फ्रान्सको टुर, स्विजरल्यान्डको जेनेभा र स्पेनको राजधानी मेड्रिडमा समेत फेला परेको छ । नयाँ भाइरसको त्रास बढेसँगै कोरोना भाइरसका बिरामीको संख्या वृद्धि भएको भन्दै फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिय भेराले देशलाई पूर्ण लकडाउनमा लैजाने बताएका छन् । भाइरसको परिवर्तित रूपले हाल युरोपभरि नै त्रास सिर्जना गरेको छ । कोरोना भाइरसका कारण हालसम्म युरोपमा २ करोड १४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । ४ लाख ८० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : पुस १३, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?