कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

बेलायतमा नयाँ औषधि परीक्षण सुरु

नवीन पोखरेल

लन्डन — कोभिड–१९ को संक्रमणबाट बचाउने ठानिएको एक औषधिको परीक्षणमा बेलायतमा सुरु भएको छ । बेलायती वैज्ञानिकहरूले परीक्षण सुरु गरेको ‘एजेडडी–७४४२’ एन्टीबडी थेरापीले कोरोना भाइरसको जोखिम समूहमा रहेका मानिसमा तत्काल इम्युनिटी बढाउने वैज्ञानिकहरूको दाबी छ ।

बेलायतमा नयाँ औषधि परीक्षण सुरु

उक्त औषधि अस्पताल रहेका बिरामी वा केयर होम बस्नेलाई आपत्कालीन उपचारका लागि उपयोगी हुनेसमेत बेलायती अखबार गार्डियनले उल्लेख गरेको छ । परीक्षणका क्रममा १० जनालाई सुईमार्फत उक्त औषधि दिइएको र विश्वभर १ हजार १ सय २५ जनालाई दिइने यूसीएलएचको लक्ष्य छ । ब्रिटिस अस्पतालहरू र यूसीएलएचको नेटवर्कमा रहेका विश्वका झन्डै एक सय ठाउँमा परीक्षण गरिनेछ ।

उक्त औषधि युनिभर्सिटी कलेज लन्डन हस्पिटल्स एनएचएस ट्रस्ट र अस्ट्राजेनेकाको संयुक्त प्रयासमा विकास गरिएको हो । प्रख्यात फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको कोभिड खोप बेलायतमा छिट्टै आम प्रयोगका लागि ल्याइने अपेक्षा गरिएको छ । अक्सफोर्ड, अस्ट्राजेनेका खोप बेलायतको नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले आगामी सातासम्म आम मानिसमा प्रयोगका लागि अनुमति दिने सम्भावना छ ।

युनिभर्सिटी कलेज लन्डन हस्पिटल्स एनएचएस ट्रस्ट (यूसीएलएच) ले उक्त परीक्षणको नेतृत्व गरिरहेको छ । यूसीएलएचकी कन्सल्टेन्ट भाइरोलोजिस्ट डा. क्याथरिन हौलिहानले स्टोर्म चेजर भनिने परीक्षण सफल भए घातक भाइरसबाट हजारौं मानिसलाई बचाउन सकिने बताएकी छन् । औषधि नियामक निकायबाट अनुमति पाए आउँदो मार्च वा अप्रिलसम्ममा यो सर्वसाधारणलाई उपलब्ध हुने बताइएको छ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकका रूपमा काम गरिसकेका र हाल बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा एपेडिमिअलजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसिएट प्रोफेसर डा. ओम कुर्मी उक्त औषधि शरीरले निकाल्ने नेचुरल एन्टीबडी नभई मोनोक्लोनल (ल्याबमा बनाइएको) भएको बताउँछन् । यस औषधिको सकारात्मक पक्ष भने दिइएलगत्तै एन्टिबडी उत्पन्न हुने डा. कुर्मीले बताए । यसको साइड इफेक्ट्स, प्रभावकारिता, विभिन्न किसिमको रोग लागेका वा उमेर समूहलाई काम गर्छ/गर्दैन, त्यो भने हेर्न बाँकी रहेको उनी बताउँछन् ।

६ लाखभन्दा बढीले लगाए कोरोना खोप

बेलायतमा फाइजर र बायोएनटेकले विकास गरेका खोप आममानिसमा डिसेम्बर ८ देखि लगाउन सुरु भइसकेको छ । हस्पिटल प्रमुख, जीपी र अन्य कैयौं नेताहरूले खोप वितरणमा ढिलाइ भएको भन्दै आलोचना गरेपछि यो सातादेखि एनएचएस इंग्ल्यान्डले खोप वितरण अझ तीव्र पारेको छ ।

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरका अनुसार, ८ देखि २० डिसेम्बरसम्म बेलायतमा करिब ६ लाख १७ हजार जनालाई पहिलो डोज खोप दिइसकिएको छ । यूकेका ५ सयभन्दा बढी ठाउँबाट खोप वितरण गरिएको हो । मानिसलाई खोपको दोस्रो डोज पहिलो दिइएको २१ दिनपछि दिइनेछ । खोप वितरणसम्बन्धी बेलायती मन्त्री नधिम जहावीले खोप वितरण गर्ने बेलायत पहिलो भएकामा आफूलाई ज्यादै गर्व लागेको बताउँदै राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतभर खोप व्यवस्थापनमा गरेको कडा परिश्रमको प्रशंसा गरेका छन् ।

प्रकाशित : पुस १२, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?