कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ जनाको हत्या अभियोगमा जापानका ‘ट्विटर किलर’ लाई मृत्युदण्डको सजाय सुनाइयो

इकान्तिपुर डेस्क

काठमाडौँ — जापानको एक अदालतले ‘ट्विटर किलर’ को नामले चिनिएका ताकाहिरो शिराइसीलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ ।

९ जनाको हत्या अभियोगमा जापानका ‘ट्विटर किलर’ लाई मृत्युदण्डको सजाय सुनाइयो

ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोक्यो जिल्ला अदालतको ताचिकावा इजलासले मृत्युदण्डको सजाय सुनाएको हो । न्यायाधीश नोकुनी यानाले ९ जनाको हत्याका लागि शिराइसी नै दोषी देखिएको फैसलामा सुनाएका छन् ।

फ्ल्याटमा ९ जनाको शवको टुक्रा भेटिएपछि शिराइसीलाई पक्राउ गरिएको थियो । हत्या हुनेमा ८ जना महिला र एक जना पुरुष रहेको जापानी समाचार संस्था क्योदोले जनाएको छ । जसमध्ये एक जनाको उमेर १५ वर्ष रहेको बताइएको छ ।

शिराइसीमाथि सन् २०१७ को अगस्टदेखि अक्टोबरसम्म १५ देखि २६ वर्षका ९ जना व्यक्तिको घाँटी रेटेर हत्या गरेको अभियोग लागेको छ । साथै ८ जना महिलामाथि उनले यौन उत्पीडन गरेको पनि आरोप लागेको छ । शिराइसीले अक्टोबरमा आफूमाथि लागेको ‘सबै आरोप सही’ भएको स्वीकार गरेका थिए ।

यसअघि उनको तर्फबाट वकालत गरेका वकिलले अदालतसमक्ष सजाय क मगर्न अनुरोध गरेका थिए । पीडितहरुले आत्महत्या गरेको र आफ्नो मृत्युका लागि उनीहरुले सहमति दिएको शिराइसीका वकिलले दलिल पेस गरेका थिए । तर अदालतले भने उक्त दलिललाई खारेज गर्दै ९ जनाको हत्यामा शिराइसीलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो

शिराइसीले ९ जनालाई नै मर्नका लागि सहयोग गर्छु भनेर ट्विटरमार्फत् फकाएको र आफू पनि उनीहरुसँगै मर्ने भनेर दाबी गरेको समाचारमा उल्लेख छ । समाचार संस्था क्योदोका अनुसार उनको ट्विटर ह्यान्डलले पनि ‘ह्याङ्गम्यान’ (झुन्ड्याउने व्यक्ति) को अर्थ दिन्थ्यो ।

उनको उक्साहटमा ९ जनाले नै आत्महत्या गर्ने मनसाय बनाइसकेपछि उनले कानागावा प्रिफेक्सचरस्थित जामामा रहेको आफ्नो अपार्टमेन्टमा बोलाएका थिए । यसअघि शिराइसीले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आफू पुनरावेदनमा नजाने बताएका थिए ।

प्रकाशित : मंसिर ३०, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?