कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिड्नीमा अहिलेसम्मकै अत्यधिक गर्मी

सिड्नी — अस्ट्रेलियाको सिड्नीमा अहिलेसम्मकै अत्यधिक गर्मी महसुस गरिएको छ । मौसम विभागका अनुसार तापक्रमको तथ्यांक राख्न सुरु भएदेखि नै रातको समयमा हालसम्मकै अत्यधिक गर्मी मापन भएको हो ।

सिड्नीमा अहिलेसम्मकै अत्यधिक गर्मी

आइतबार ४२ दशमलव ६ डिग्रीसम्म पुगेको सिड्नीको तापक्रम कम्तीमा २५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । गर्मीका कारण न्यु साउथ वेल्स राज्यका विभिन्न स्थानमा डढेलो लागेको छ भने अधिकांश स्थानमा आगोको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

सिड्नीको अबरभेटरी हिलमा आइतबार सबेरै तापक्रम ३० डिग्री पुगेको थियो । जहाँ यसअघिको सबैभन्दा बढी तापक्रम सन् १९६७ मा २४ दशमलव ८ डिग्री मापन गरिएको थियो ।

विगत केही दिनदेखि सिड्नी मात्र नभई दक्षिण अस्ट्रेलिया, क्वीन्सल्यान्डलगायत राज्यमा समेत अत्यधिक गर्मी महसुस भएको छ । शुक्रबार र शनिबार दक्षिण अस्ट्रेलियाको तापक्रम पनि ४५ डिग्रीसम्म पुगेको थियो ।

अत्यधिक गर्मीसँगै आगलागी फैलिन सक्ने भन्दै न्यु साउथ वेल्स, क्वीन्सल्यान्डलगायत केही राज्यले अति प्रभावित क्षेत्रमा आगोको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । सिड्नीमा आइतबार साँझदेखि मौसममा केही चिसोपना आउने अनुमान विभागले गरेको भए पनि मंगलबारदेखि पुन: गर्मी सुरु हुने बताइएको छ ।

अत्यधिक गर्मी भएपछि स्थानीयहरू एकाबिहानैदेखि समुद्री किनारमा पुगेका थिए भने चिडियाघरमा रहेका जनावरलाई समेत गर्मीबाट बचाउन बरफसहितको खानेकुरा वितरण गरिएको थियो । अस्ट्रेलियाको मौसम विभागले न्यु साउथ वेल्स राज्यको उत्तरी क्षेत्र र दक्षिण–पूर्वर्ी क्वीन्सल्यान्डमा करिब एक सातासम्म तातो हावा बहने र अत्यधिक गर्मी हुने पूर्वानुमान गरेको छ । आगलागी नियन्त्रणमा काम गर्ने निकाय रोयल फायर सर्भिसका डेपुटी कमिस्नर पिटर म्याकेचिनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।

अस्ट्रेलियाले हरेक वर्ष गर्मीको समयमा डढेलो तथा त्यसबाट सिर्जना हुने आगलागीको सामना गर्दै आएको छ । गत वर्ष अस्ट्रेलियाको करिब १ करोड ८६ लाख हेक्टर क्षेत्रफलमा आगलागी फैलिएको थियो भने करिब ३ हजार ५ सय घर जलेका थिए । ब्ल्याक समरका नामले चिनिने उक्त आगलागीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका थिए । एक अर्बभन्दा बढी जंगली जनावर मरेको जनाइएको थियो ।


प्रकाशित : मंसिर १५, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?