कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार बिहान निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीटमार्फत बुवाको निधन बुधबार बिहान साढे ३ बजे भएको बताएका छन् । 

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

७१ वर्षीय पटेललाई करिब एक महिना अगाडि कोरोना संक्रमण भएको थियो । उनको उपचारका क्रममा दिल्लीस्थित एक अस्पतालमा निधन भएको हो ।

अहमद पटेल भारतीय कांग्रेसका कोषाध्यक्ष थिए । गान्धी परिवारनिकट मानिने उनी कांग्रेस अध्यक्ष सोनिया गान्धीका राजनीतिक सल्लाहकारका रुपमा पनि काम गरेका थिए । उनी सन् १९८५ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीका संसदीय सचिव पनि थिए । आठ पटक सांसद रहेका पटेल तीन पटक लोकसभा सदस्यका रुपमा निर्वाचित भएका थिए भने पाँच पटक राज्यसभा सदस्यका रुपमा चुनिएका थिए । सन् १९८६ मा उनलाई गुजरात कांग्रेसको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

पटेलको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै उनी तिक्ष्ण बुद्धिका लागि चिनिएका र कांग्रेसलाई मजबुत बनाउन उनको भूमिकालाई सधैँ सम्झिइने बताएका छन् ।

त्यस्तै कांग्रेस नेता राहुल गान्धीले पनि पटेलको निधनमा दु:ख व्यक्त गर्दै उनी पार्टीको स्तम्भ भएको बताएका छन् । कठिन परिस्थितिमा सधैँ पार्टीको पक्षमा उभिने पटेलको अभाव खट्किने पनि उनले बताएका छन् ।

भारतीय कांग्रेसले दुई दिनको अन्तरालमा आफ्ना दुई वरिष्ठ नेता गुमाएको छ । यसअघि सोमबार असमका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता तरुण गोगोईको निधन भएको थियो । अगस्ट २५ मा कोरोना संक्रमण पुष्टि भएपछि ८६ वर्षीय गोगोईको स्वास्थ्यमा जटिलता देखिएको थियो । गोगोई तीन पटक असमका मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित : मंसिर १०, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?