दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

एजेन्सी

नयाँदिल्ली — भारतको दिल्ली राज्यमा मास्क लगाउन अनिवार्य गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका छन् ।

मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि ५ सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो ।

नयाँ दिल्लीमा कोभिड १९ को महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन्,’ केजरीवालले भने ।

केजरीवालले सकभर भीडभाड नगर्न तथा आधारभूत स्वास्थ्य सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै कार्यक्रम तथा गतिविधिहरु नगर्न पनि उनले आग्रह गरेका छन् ।

महामारीको पछिल्लो अवस्थाबारे समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि बोल्दै केजरीवालले जनताको जीवन रक्षाका लागि संयुक्त रुपमा काम गर्न सबै पार्टीहरु सहमत भएको पनि जनाए । ‘सबै पार्टीहरुकातर्फबाट मलाई सहयोग र सुझाव आएको छ । यो कठिन घडीमा हामी सबै एकै ठाउँमा छौं,’ केजरीवालले भने ।

प्रकाशित : मंसिर ४, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्

बबईमा बेपत्ता सेनाको शव फेला

कमल पन्थी

बर्दिया — बुधबार वनभोज खान गएका नेपाली सेनाका सिपाही बारबर्दिया नगरपालिका—१ स्थित बबई नदीमा बेपत्ता भएकाको शव बिहीबार सॉझ फेला परेको छ ।

वनभोज खान पुगेका बारबर्दिया—७ का अन्दाजी २६ वर्षीय विष्णु रनपाल साँझ करिब ५ बजे बेपत्ता भएको प्रहरी उपरीक्षक केदार रोजौरेले बताए ।

भद्रकाली गण,काठमाडौंमा कार्यरत उनको परिचयपत्र वनभोज स्थलमा फेला परेकोले उनी नेपाली सेनामा कार्यरत रहेको प्रहरी उपरीक्षक रोजौरेले जनाए । प्रहरीले वनभोज खान पुगेका दुई समूहबीच विवाद हुँदा झडप भएपछि उनी भाग्ने क्रममा बबई नदीको नहरमा परेको र उनी त्यहाँ फेला परेको प्रहरीले जनाएको छ ।

दिनभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरले खोजी गर्दा शव पानीमा तैरिइरहेको अवस्थामा फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई निन्त्रणमा लिएको प्रउ रजौरेले जनाए ।


प्रकाशित : मंसिर ४, २०७७ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×