ट्रम्पले सहकार्य नगरे अझ धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडेन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पले सहकार्य नगरे अझ धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडेन

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिएका छन् ।

आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताएका छन् ।

वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले सहकार्य गरेनौं भने धेरै मानिस मर्नेछन्,’ डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले भने । बाइडेन र उनका सहयोगीहरुले ट्रम्प प्रशासनले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । ट्रम्प प्रशासनले भने खोप वितरणबारे छुट्टै योजना बनाइरहेको बताइरहेको छ । बाइडेनले जति छिटो सहकार्य गरेर अघि बढ्न सकियो त्यति छिटो कोरोना महामारीबाट छुटकारा पाउन सकिने सम्भावना रहेको बताएका छन् ।

नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ । राष्ट्रपति ट्रम्पले भने २३२ इलेक्टोरल भोट प्राप्त गरेका छन् । रिपब्लिकन पार्टीले जोर्जिया राज्यमा धाँधली भएको आरोप लगाउँदै कानुनी चुनौती दिएपछि त्यहाँ भने हातैले पुन: मतगणना भइरहेको छ । तर सीएनएन, बीबीसी, एपीलगायतका सञ्चारमाध्यमले भने जोर्जियामा बाइडेन विजयी भएको प्रक्षेपण गरिसकेका छन् ।

राष्ट्रपति ट्रम्पले भने पटक–पटक ‘मैले चुनाव जितेँ’ भन्दै झुटो दाबी गर्दै ट्वीट गरिरहेका छन् । ट्रम्पले कुनै पनि हालतमा हार नस्वीकार्ने बताउँदै आएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी संक्रमित भइरसकेका छन् । अमेरिकामा कोरोनाबाट २ लाख ४७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४२ लाख निको भएका छन् ।

प्रकाशित : मंसिर २, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

आज ब‌ंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालले मंगलबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित ‌बंगबन्धु रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे खेल सुरु हुनेछ ।

मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाअन्तर्गतको पहिलो खेलमा भने नेपाललाई बंगलादेशले २-० ले हराएको थियो । कात्तिक २९ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरेको थियो ।

बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए । डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् ।

कतार विश्वकप छनोटको तयारीस्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । कतार विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी रहेको छ ।

नेपालले दुई वर्षअगाडि सन् २०१८ को साफ च्याम्पियनसिपमा बंगलादेशलाई यही मैदानमा २–० ले पराजित गरेको थियो । योसँगै घरेलु मैदानमा बंगलादेश प्रतियोगिताबाटै बाहिरिएको थियो। बंगलादेशले त्यसको बदला लिन सफल भएको छ । बंगलादेशले नेपाललाई हराएको भने यो ५ वर्षपछि पहिलोपल्ट हो । सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपअगाडि बंगलादेशले ढाकामै भएको मैत्रीपूर्ण खेलमा नेपाललाई १–० ले हराएको थियो ।

प्रकाशित : मंसिर २, २०७७ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×