कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिन लादेनको अन्तर्वार्ता लिने पत्रकार रोबर्ट फिस्कको निधन

मध्यपूर्व र द्वन्द्वग्रस्त क्षेत्रको रिपोर्टिङका लागि प्रसिद्ध थिए फिस्क
एजेन्सी

डबलिन — मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बिन लादेनको अन्तर्वार्ता लिने पत्रकार रोबर्ट फिस्कको निधन

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको आइरिस टाइम्सले जनाएको छ । उनलाई पक्षघात भएको हुन सक्ने आशंका गरिएको छ । उनी ७४ वर्षका थिए ।

उनले ब्रिटिस अखबरा ‘द इन्डिपेन्डेन्ट’ का लागि द्वन्द्वग्रस्त मध्यपूर्वबाट लामो समय रिपोर्टिङ गरेका थिए । युद्ध्रग्रस्त क्षेत्रको रिपोर्टिङका लागि चिनिएका पत्रकार फिस्कले पत्रकारिताका लागि दिइने अरवेल पुरस्कार, ब्रिटिस प्रेस अवार्डलगायत थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

सन्डे एक्सप्रेसबाट पत्रकारिताको करियर सुरु गरेका फिस्कले सन् १९७२ मा द टाइम्सका लागि उत्तरी आयरल्यान्डको संघर्षको रिपोर्टिङ गर्न बेलफास्ट गएका थिए । सन् १९७६ मा उनी मध्यपूर्व मामिलाका संवाददाता बनेका थिए । लेबनानको राजधानी बेरुतबाट त्यहाँको गृहयुद्ध, इरानी क्रान्तिका साथै अफगानिस्तान–सोभियत संघ युद्ध र इराक–इरान युद्धको पनि उनले रिपोर्टिङ गरेका थिए । व्यवस्थापकीय टिमसँग मनमुटाव भएपछि सन् १९८९ मा उनले ‘द टाइम्स’ छाडेर ‘द इन्डिपेन्डेन्ट’ गएका थिए ।

आतंकवादी संगठन अल कायदाका ओसामा बिन लादेनसँग अन्तर्वार्ता लिने थोरै पत्रकारमध्ये पर्छन् फिस्क । उनले ओसामासँग तीन पटक अन्तर्वार्ता लिएका थिए । उनले सन् १९९० को दशमा बिन लादेनसँग तीन पटक अन्तर्वार्ता लिएका थिए । सन् १९९३ मा लिएको पहिलो अन्तर्वार्तामा फिस्कले बिन लादेनलाई ‘लजालु व्यक्ति’ को संज्ञा दिँदै ‘पहाडमा लड्ने एक मुजाहिद्दीन’ को रुपमा चित्रित गरेका थिए । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा अल कायदाले आक्रमण गरेपछि दुई दशकसम्म फिस्कले अफगानिस्तान, सिरिया, इराक, मध्यपूर्वलगायतका क्षेत्रबाट रिपोर्टिङ गरेका थिए । उनी अरबी भाषा पनि बुझ्ने र बोल्ने गर्थे ।

सन् १९७० देखि उनले मध्यपूर्व क्षेत्रबाट रिपोर्टिङ गरेका थिए । अमेरिका तथा इजरायलका अलावा पश्चिमा देशका विदेश नीतिको कडा आलोचना गर्ने फिस्क बेलाबेलामा विवादित बनेका थिए । सिरियाली राष्ट्रपति बसर अल असादको पक्ष लिएको भन्दै उनको आलोचना हुने गरेको छ ।

झन्डै पाँच दशकसम्म बाल्कन, मध्य पूर्व, उत्तरी अफ्रिकाबाट युद्धग्रस्त क्षेत्रबाट रिपोर्टिङ गरेका फिस्कलाई सन् २००५ मा न्युयोर्क टाइम्सले ‘बेलायतका सम्भवत: सबैभन्दा प्रसिद्ध विदेश मामिला संवाददाता’ को संज्ञा दिएको थियो ।

सन् १९४६ मा उनको जन्म केन्टको माइडस्टोनमा भएको थियो । पछि उनले आयरल्यान्डको नागरिकता लिएका थिए । आयरल्यान्डका राष्ट्रपति आइतबार फिस्कको निधनमा ‘गहिरो दु:ख’ व्यक्त गरेका छन् । साथै फिस्कको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको आयरल्यान्डका राष्ट्रपति माइकल हिगिन्सले बताएका छन् ।

फिस्कले ‘द प्वाइन्ट अफ नो रिटर्न : द स्ट्राइक ह्विच ब्रोक द ब्रिटिस अल्स्टर’, ‘पिटी द नेसन : लेबनान एट वार’, ‘द ग्रेट वार फर सिभिलाइजेसन : द कन्क्वेस्ट अफ द मिडिल इस्ट’ लगायतका विभिन्न द्वन्द्व र युद्धसम्बन्धी पुस्तक लेखेका छन् ।

प्रकाशित : कार्तिक १७, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?