कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सको निस सहरमा चक्कु आक्रमण, दुईको मृत्यु

ददी सापकोटा

पेरिस — दक्षिणी फ्रान्सको निस सहरस्थित नोर्थदाम चर्चमा बिहीबार बिहानै चक्कु आक्रमण भएको छ । आतंककारी हमला भनिएको यो घटनामा दुई जनाको मृत्यु भएको छ । केही घाइते छन् ।

फ्रान्सको निस सहरमा चक्कु आक्रमण, दुईको मृत्यु

बिहान ९ बजे भएको उक्त हमलापछि प्रहरीले हमलाकारीको व्यापक खोजी गरेको निस सहरका स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

त्यहाँका नगरप्रमुख क्रिस्चियन एस्त्रोसिले प्रहरीले केही संदिग्ध हमलाकारीलाई पक्राउ गरेको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । तर उनले ती हमलाकारीको हुन् भन्ने चाहिँ खुलाएका छैनन् ।

प्रहरीले कब्जामा लिएका मध्ये एक जना घाइते अवस्थामा फेला परेको र उसलाई अस्पताल पुर्‍याएको रिपोर्टहरुमा उल्लेख छ ।

नगर प्रमुखको ट्विटरमा हमलकारीले चर्चभित्रै गएर हमला गरेको उल्लेख गरेपनि अन्य रिपोर्टहरुमा चर्च बाहिर हमला गरिएको उल्लेख छ ।

यो घटना लगत्तै फ्रान्सका गृहमन्त्री हेरार्ड दार्मानिनले आफ्नो मन्त्रालयमा आपतकलीन बैठक डाकेका छन् । उनले निस सहरका नागरिकलाई घटना स्थलवरिपरि नजान आह्वान गरेका छन् । मेयर एस्त्रोसिले यो घटनालाई आतंककारी आक्रमण भनेका छन् ।

फ्रान्सेली शिक्षक सामुयल पाटीको इस्लामिक अतिवादीले हत्या गरेको एक सातापछि निसमा यो घटना भएको हो । ती शिक्षकले आफ्नो कक्षा कोठामा चार्ली हेब्दोको कार्टून बनाएर 'वाक स्वतन्त्रता' भन्दै विद्यार्थीहरुलाई देखाएपछि इस्लामिकहरुप्रति व्यंग्य गरेको आरोपमा उनको हत्या गरिएको थियो ।

त्यसको लगत्तै फ्रान्सेली राष्ट्रपति एमानुयल माक्रोंले उक्त कार्टुनको बचाउ गर्दै आएका थिए । त्यसपछि राष्ट्रपतिको उक्त भनाइले मुस्लिमहरुको अपमान गरेको भन्दै मुस्लिम समूदायबाट उनको आलोचना हुँदै आएको छ ।

इस्लाम धर्मावलम्बिहरुले विश्वका धेरै ठाउँमा माक्रों विरुद्ध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले फ्रान्सेली उत्पादन बहिस्कार गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?