अमेरिकी विदेशमन्त्री पोम्पेओ र रक्षामन्त्री एस्पर भारत आउँदै
नयाँदिल्ली — संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणमा आउने भएका छन् ।
भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उनीहरू साेमबार भारत आउन लागेका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुनेछ ।
भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह रहने छन् । भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो ।
अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका छन्, 'म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।'
Wheels up for my trip to India, Sri Lanka, Maldives, and Indonesia. Grateful for the opportunity to connect with our partners to promote a shared vision for a free and open #IndoPacific composed of independent, strong, and prosperous nations. pic.twitter.com/IoaJvtsHZC
— Secretary Pompeo (@SecPompeo) October 25, 2020
भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठक भएका थिए ।
प्रकाशित : कार्तिक १०, २०७७ १०:४२