सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्री मारिए- विश्व - कान्तिपुर समाचार

सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्री मारिए

एजेन्सी

काबुल — अफगानिस्तानको सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार राति ट्वीट गर्दै सुरक्षा कारबाहीमा मारिएको जानकारी दिएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए ।

उनीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको मस्री अल कायदाका दोस्रो नेता भएको बताइएको छ । उनी इजिप्टका नागरिक हुन् । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अलकायदामा २०० भन्दा कम व्यक्तिको संलग्न रहेको बताएका थिए ।

शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । विस्फोटमा कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।

प्रकाशित : कार्तिक ९, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । 

शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएका थिए । शनिबार साँझ आएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।'

प्रकाशित : कार्तिक ९, २०७७ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×