१४ महिनापछि रिहा भइन् जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ महिनापछि रिहा भइन् जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती

रिहा भएलगत्तै मुफ्तीले भनिन् : दिल्ली दरबारले खोसेको कश्मीरको अधिकार फिर्ता गर्न संघर्ष जारी रहनेछ 
एजेन्सी

नयाँ दिल्ली — जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती मंगलबार राति रिहा भएकी छिन् । करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार रिहा गरेको हो ।

गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिलाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो । उनलाई जनसुरक्षा अधिनियम(पीएसए) अन्तर्गत हिरासतमा लिएको स्थानीय प्रशासनले जानकारी दिएको थियो । जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कंसलले मंगलबार राति मुफ्तीलाई रिहा गरिने टि्वटरमार्फत जानकारी गराएका थिए ।

रिहा हुनेबित्तिकै महबूबा मुफ्तीले अडियो सन्देश जारी गर्दै जम्मू–कश्मीरमा अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएकी छिन् । महबूबा मुफ्तीले आफ्नो सन्देशमा भनेकी छिन्, ‘म आज एक वर्षभन्दा बढी समयपछि रिहा भएको छु । यस क्रममा ५ अगस्ट, २०१९ को कालो दिनको कालो फैसलाले मेरो मन र आत्मालाई हरपल आघात पुऱ्याइरह्यो । म यकिनका साथ भन्न सक्छु कि जम्मू–कश्मीरका नागरिकलाई पनि त्यस्तै भयो होला । कसैले पनि त्यस दिनको बेइज्जतीलाई बिर्सन सक्दैन ।’

उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैरसंवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘दिल्ली दरबारले अगस्ट ५ मा गैरसंवैधानिक, गैरलोकतान्त्रिक र गैरकानुनी ढंगले खोसेको हाम्रो अधिकार फिर्ता गर्नुपर्छ । साथै जम्मू–कश्मीरको अधिकारका लागि हजारौं नागरिकले बलिदानी दिएका छन् । जम्मू–कश्मीरको समस्या समाधानका लागि हामीले संघर्ष जारी राख्नुपर्छ । म मान्छु यो बाटो त्यति सहज छैन । तर सबैको हौसला र उद्देश्य एउटै हुने हो भने यो सम्भव छ ।’

उनले मुलुकका विभिन्न ठाउँमा बन्दी बनाइएका जम्मू–कश्मीरका नागरिकलाई पनि छिटोभन्दा छिटो रिहा गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाएसँगै पीएसएअन्तर्गत ४ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो । हिरासतमा लिइएकामध्ये धेरैलाई रिहा गरिएको छ । केहीलाई राजनीतिक बयान जारी नगर्ने सर्तमा पनि रिहा गरिएको बताइएको छ ।

मुफ्तीका अलावा जम्मू–कश्मीरका ठूला नेता उमर अब्दुल्ला र उनका बुवा फारुक अब्दुल्लालाई पनि हिरासतमा लिइएको थियो । उनीहरु यसअघि नै रिहा भइसकेका छन् ।

महबुबालाई उनकै आवास फेयरभ्यू बंगलामा हिरासतमा राखिएको थियो । प्रशासनले उक्त बंगललाई उपजेल घोषणा गरेको थियो ।

नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला र फारुक अब्दुल्लाले रिहा भएपछि मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै आएका छन् । केही दिन पहिले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा फारुक अब्दुल्लाले चीनको सहयोगमा कश्मीरमा ‘धारा ३७०’ र ‘३५ए’ पुनर्वहाली हुने कश्मीरी नागरिकलाई विश्वास भएको बताएका थिए । उनको यो भनाइको निकै आलोचना पनि भयो ।

प्रकाशित : आश्विन २८, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

भर्चुअल माध्यममा चौतारी नाटक

पहिले नै कथा तयार नगरिएको यो विधामा रंगकर्मीहरुले सहभागी दर्शकको भोगाइलाई सुनेका आधारमा संगीत, संवाद र भावसहित अभिनयमा रुपान्तर गर्छन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — एउटा नाटक रंगमञ्चमा दर्शक अगाडि पुर्‍याउन रंगकर्मीहरूले निकै समय र मिहिनेत खर्चिनुपर्ने हुन्छ । कथावस्तु, नाटक स्क्रिप्ट, पात्रअनुसारको संवाद रूपान्तरण, पात्रको छनोट त छँदै छ, यसबाहेक मञ्चनका लागि कैयौं दिनको रिहर्सलको पाटो अझ महत्त्वपूर्ण हुन्छ ।

कोरोना महाव्याधिसँगै बन्द भएका नाटकघरहरू अझै खुल्ने छाँटकाँट देखिँदैन । संक्रमणकै त्रासले सहकर्मी र दर्शकसँग प्रत्यक्ष भेटघाट सम्भव नै भएन । यद्यपि रंगमञ्चलाई माया गर्ने दर्शकसँग जोडिन मण्डला थिएटरले प्ले ब्याक थिएटर (चौतारी नाटक) विधामार्फत छुट्टै खालको स्वाद पस्कने जमर्को गरेको छ ।

थिएटरले मंगलबार भर्चुअल माध्यममा नै चौतारी नाटकमार्फत हालको कोरोना कालमा मिडियाकर्मीले भोगेका समस्यालाई उनीहरूकै भनाइका आधारमा नाटकका रूपमा प्रस्तुत गर्‍यो । यस्ता खाले नाटकका लागि पहिले नै कुनै कथा तयार गरिएको हुँदैन । रंगकर्मी मात्र नभई दर्शकसमेत सहभागी हुन सक्ने यस विधाको नाटकमार्फत सहभागीहरूमा उत्साह, साहस र उत्प्रेरणासमेत दिन सकिने रंगकर्मीहरू स्विकार्छन् । मञ्चमा रंगकर्मीहरूले सहभागी दर्शकको भोगाइलार्ई सुनेको आधारमा त्यसलाई संगीत, संवाद र भावसहित अभिनयमा रूपान्तर गर्छन् ।

मंगलबार भने नाटक प्रस्तुतिमा दर्शकका रूपमा मिडियाकर्मीहरू नै सहभागी थिए । अहिले लकडाउनयता धेरैजसो सञ्चारकर्मी तथा पत्रकारहरूले घरबाटै काम गर्दा कस्ता समस्या झेलिरहेका छन् ? जोखिमका बाबजुद निरन्तर रूपमा अग्रपंक्तिमा रहेर सूचना संकलन र सम्प्रेषणका क्रममा संक्रमित भएका मिडियाकर्मीहरूको अनुभव कस्तो रह्यो ? यही समयमा रोजगारी गुमाउनुपर्दाको समस्यालाई कसरी हल गरे भन्ने तिनै मिडियाकर्मीहरूले सुनाएका पीडा, कोरोना अनुभव र छटपटीलाई रंगकर्मीहरूले नाटकमार्फत प्रस्तुत गरेका थिए ।

नाटक अवधिमा विकास कार्की, उज्वल आचार्य, मनोज सत्याल, सुजता खत्री, स्वेच्छा राउत, सृजना खड्का, वर्षा महर्जनलगायत मिडियाकर्मीहरूले आ–आफ्ना अनुभवहरू साटे । उनीहरूले कोरोना संक्रमण होला कि भनेर हुने मानसिक छटपटी, संक्रमित भएसँगै क्वारेन्टाइन अनुभव, स्वास्थ्य समस्या, सामाजिक अपहेलना, आइसोलेसनको अभाव, घरबाटै कार्यालयको काम गर्नुपर्ने दिग्दारी, कार्यालयको कामका लागि घरमा व्यवस्थापनको समस्या, कार्यालयको बेवास्ताले काममा आएको निराशा, आर्थिक अभावजस्ता यथार्थ भोगाइलाई रंगकर्मीसमक्ष व्यक्त गरेका थिए । उनीहरूकै भोगाइहरूलाई रंगकर्मीहरूरुले कविता तथा शारीरिक हाउभाउसहित संवादमा समेत हुबहु रूपमा अभिव्यक्त गरेका थिए । आचार्य, सत्याललगायतले कोरोना संक्रमण भएपश्चात् भोग्नुपरेको मानसिक पीडालाई सुनाएका थिए । संक्रमणपछि कसैलाई छुनु हुन्न, एक्लै बस्नुपर्छ, कहिलेसम्म यस्तो होला, यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने चिन्ताले सताएको दुवैले अनुभव साटासाट गरे । त्यस्तै खत्रीले सहकर्मीसँग निकट रहेर कोरोना लक्षणहरूलाई नियालेकाले आफू संक्रमित नभए पनि मानसिक रूपमा मान्न तयार नभएको बताइन् । यी भोगाइहरूलाई रंगकर्मीहरूले अभिनयमा देखाउँदा अन्य सहभागीहरूले अझै प्रस्ट बुझेका थिए भने भोगेकाहरूले प्रफुल्लित भएको प्रतिक्रिया दिए । कार्की र खड्का भने हालै रोजगारी गुमेपछि पत्रकारिताप्रति नै आएको निराशा र तत्कालै हरेस नखाई सुरु गरेको अर्को कामको भोगाइलाई नाटकका रूपमा देख्दा केही भावुक र उत्साहित देखिएका थिए ।

आफ्नै भोगाइलाई नाटकमा देख्न पाउँदा निकै खुसी लागेको खड्काले सुनाइन् । नेपालमा पछिल्लो समयमा यस विधाका नाटकको अभ्यास भइरहे पनि मूलधारमा आउन नसकेको मण्डलामा आबद्ध रंगकर्मी सोमनाथ खनालले सुनाए । उनका अनुसार यसअघि यस्ता खाले नाटकहरूको अभ्यास भई नै रहेको छ ।

उक्त नाटक प्रस्तुतिका लागि रंगकर्मीहरू सोमनाथ खनाल र राजन खतिवडाले सामाजिक दूरी र केही भर्चुअल रूपमै १० दिनको कार्यशालामार्फत प्रस्तुतिका लागि समूह तयार पारेका थिए । समूहमा उमेश तामाङ, शारदा अधिकारी, अनुप न्यौपाने, सुदीप खतिवडा, रञ्जना ओली, रेणु योगी, सन्दीप श्रेष्ठ, अंकित खड्का, विजय बराल, विजय कार्की, विकास जोशीलगायत कलाकार सहभागी थिए ।

सो समूहले सञ्चार मात्र नभएर थिएटर, तेस्रो लिंगी समुदाय, शारीरिक अशक्तता भएका व्यक्तिहरूको हालको भोगाइलाई सुनेर ती सबै कथालाई नाटकका माध्यममा प्रस्तुत गरिसकेका छन् । मंगलबारसम्ममा जम्माजम्मी १५ वटा प्रस्तुति पूरा गरेको खनालले जानकारी दिए । यो समयमा यस्ता खाले नाटक अझ बढी प्रभावकारी हुन सक्ने खतिवडाले दाबी गरे । ‘लामो समयदेखि घरभित्रै थुनिरहेका सबै मानिसहरूले यस विधाबाट नै आफ्ना कुरा राख्ने अवसर पाएका छन्,’ उनले भने, ‘यसबाट आम मानिसको भोगाइ र जटिलतालाई कम गर्न सकिन्छ ।’ उपयोगिताको दृष्टिकोणले निकै उत्तम भए पनि यस विधाका लागि केही कठिनाइ रहेको उनको अनुभव छ । कलाकारहरूको मानसिक प्रभावलाई ध्यानमा राख्नुपर्ने भएकाले अन्य नाटक जस्तो नियमित रूपमा जान नसकिने उनले सुनाए । आम दर्शकको माग एवं अहिलेको विद्यमान स्थितिलाई मध्यनजर गर्दै अन्य थुप्रै विषयवस्तुमा यस्ता खाले नाटक गर्दै जाने योजना रहेको उनले खुलाए ।

प्रकाशित : आश्विन २८, २०७७ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×