कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस : अस्ट्रेलियाली अनुसन्धान

रोयटर्स

सिड्नी — अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 

नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस : अस्ट्रेलियाली अनुसन्धान

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन(सीएसआईआरओ) का अनुसन्धादाताले २० डिग्री सेल्सियस (६८ डिग्री फरेहनहाइट) तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका हुन् ।

प्लास्टिकका नोट, मोबाइलको स्क्रिनमा प्रयोग हुने सिसालगायतका नरम सतह हुने बस्तुमा भाइरस धेरै दिनसम्म सक्रिय हुने उक्त अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययन ‘भाइरोलोजी जर्नल’ मा प्रकाशित भएको छ । यस्ता सतहमा ‘इन्फ्लुएन्जा ए’ भाइरस भने १७ दिनसम्म बाँच्ने वैज्ञानिकहरु बताउँछन् ।

यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा भने सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बताइएको थियो ।

सीएसआईआरओको सोधमा कोभिड–१९ का बिरामीको नमुना संकलन गरी कृत्रिम सिँगान र विभिन्न सतहमा भाइरस राखी अध्ययन गरिएको थियो । प्रयोगशालामा २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा राखेर परीक्षण गर्दा तापक्रम बढ्दै जाँदा भाइरसको आयु पनि घट्दै गएको पाइएको थियो ।

सीएसआईआरओका प्रमुख कार्यकारी ल्यारी मार्सल भन्छन्, ‘हामीले सतहमा कोरोना भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर सटिक भविष्यवाणी गर्दै हामी यसको विस्तार रोकेर मानिसहरुलाई बचाउन सकिन्छ भन्ने कुरा स्थापित गर्न खोज्दैछौं ।’ शरीरको तरल पदार्थमा रहेको प्रोटिन र बोसोले पनि भाइरसको आयु लम्ब्याउने उक्त अध्ययनमा उल्लेख छ ।

प्रकाशित : आश्विन २६, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?