कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियाली अधिकारीको उत्तरमा हत्या

एजेन्सी

सोल — दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई ‘क्रूर कार्य’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको छ । मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए ।

दक्षिण कोरियाले ती अधिकारीको शव जलेको अवस्थामा भेटिएको जनाएका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागका कर्मचारी थिए ।

विभिन्न सुराकको विश्लेषणपछि उत्तर कोरियाली सैनिकले उनलाई गोली हानेका र त्यसपछि शरीरमा तेल खन्याएर आगो लगाइदिएका आरोपबारे प्योङ्याङले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

योन्पेयोङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुंगामा गस्ती गरिरहेका बेला ४७ वर्षीय अधिकारी सोमबारदेखि हराएका थिए । उनले जुत्ता छाडेर लाइफ ज्याकेट लगाएर डुंगा छाडेका जस्तो देखिएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । उनले देश छाडेर भाग्न खोजेको अनुमान गरिएको छ । उत्तर कोरियाली गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ ।

उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको जनाइएको छ । कोरोना भाइरसविरुद्ध चालिएको उपायअन्तर्गत उत्तर कोरियाली सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाएका हुन सक्ने दक्षिण कोरियाली अधिकारीहरूको अनुमान छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले घटनालाई ‘आश्चर्यचकित’ भन्दै सह्य नहुने बताएका छन् । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले ‘गैरसैनिक नागरिकको हत्या गरी जलाएको घटनाको कुनै पनि अवस्थामा औचित्य पुष्टि नहुने’ जनाएको छ । ‘यो सैनिक कदम अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल छ,’ परिषद्का महासचिव सुह–चो–सुकले भने ।

प्रकाशित : आश्विन ९, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?