अक्सफोर्डको खोप परीक्षण पुनः सुरु- विश्व - कान्तिपुर समाचार

अक्सफोर्डको खोप परीक्षण पुनः सुरु

खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटोरी एजेन्सी’ को सिफारिसपछि परीक्षण पुनः सुरु गरिएको खोप यसै वर्षभित्र आउने दाबी
नवीन पोखरेल

लन्डन — बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोप परीक्षणका लागि लगाउँदै दक्षिण अफ्रिकास्थित एक स्वयंसेवक । फाइल तस्बिर : एपी 

खोप परीक्षणमा सहभागी एक जना महिला स्वयंसेवकमा सन्देहपूर्ण प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलबार खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो । यो स्थगन लम्बिन सक्ने चिन्ताबीच पुनः सुरु गरिएको हो ।

परीक्षणका क्रममा उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको छ । खोप परीक्षणमा सहभागी हजारौंमध्ये कोही बिरामी हुनु सामान्य भए पनि प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मूल्यांकन गरिने अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ । गत साता अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिमार’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ’नियमित’ बिराम गरिएको जनाएको थियो ।

अक्सफोर्डले ती स्वयंसेवकमा के समस्या देखिएको थियो औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर न्युयोर्क टाइम्सले ती स्वयंसेवकमा मेरुदण्डको नसा सुनिने ‘ट्रान्सभर्स मिलिटिस’ देखिएको जनाएको थियो । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुर्‍याउन सक्ने विश्वास गरिन्छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले परीक्षण पुनः सुरु हुनु स्वागतयोग्य र सबैका लागि खुसीको कुरा भएको ट्वीट गरेका छन् । मन्त्री ह्यानककले खोप परीक्षण स्थगितले बेलायत सुरक्षालाई जहिल्यै पहिलो प्राथमिकतामा राख्छ भन्ने देखाएको टिप्पणी गर्दै प्रभावकारी र सुरक्षित खोज जतिसक्दो छिटो उपलब्ध गराउन आफ्ना वैज्ञानिकहरूलाई सहयोग गर्ने पनि बताएका छन् ।

उक्त खोपको अन्तिम अर्थात् तेस्रो परीक्षणको नतिजा कस्तो आउँछ भनेर संसारभरि नै निकै उत्सुकताका साथ हेरिएको छ । उक्त खोपको तेस्रो परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी झन्डै ३० हजार व्यक्ति सहभागी भइरहेका छन् ।

अक्सफोर्ड र अस्ट्राजेनेकाले तेस्रो चरणमा विश्वभर ५० हजार जनासम्म सहभागी हुने अपेक्षा गरेका छन् । यस अतिरिक्त उक्त परीक्षण जापान र रुसमा समेत विस्तार गरिने कम्पनीको भनाइ छ । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भए/नभएको जाँचिन्छ  र यो प्रक्रिया धेरै वर्ष जान सक्छ ।

संसारभरि विकास गरिँदै रहेका झन्डै दर्जन खोपमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपप्रति सबैको भरोसा छ । ऊसँग बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपियन युनियनलगायतले करोडौं डोज किन्न प्रारम्भिक सम्झौता भइसकेको छ । बेलायतले विभिन्न कम्पनीसँग ३४ करोड डोज किन्ने सम्झौता गरेमध्ये अस्ट्राजेनेकासँग मात्र १० करोड लिने बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वमा करिब १ सय ८० वटा खोप परीक्षण जारी छ । तर, अहिलेसम्म कुनैले पनि मान्यता पाएका छैनन् । बेलायतका एक जना वरिष्ठ वैज्ञानिकले ९ महिनाभित्र कोभिड खोप बेलायतमा उपलब्ध हुने आशा व्यक्त गरेका छन् । सरकारको वैज्ञानिक समूह सेजका सल्लाहकार प्राध्यापक पिटर ओपेनसअले अक्सफोर्डको खोप परीक्षण पुनः सुरु हुने खबरपछि आशाका धेरै सम्भावना रहेको टिप्पणी गरे । तर, पिटरसहित अन्य वैज्ञानिकहरूले यो जाडोयाममा आउने सम्भावना रहेको कोरोना संक्रमणको दोस्रो लहरका लागि भने खोप उपलब्ध हुन नसक्ने बताएका छन् । यो खोप विश्वका सबै देशमा सहज उपलब्ध हुन भने सम्भव नरहेको उनको धारणा छ ।

अस्ट्राजेनेका प्रमुख कार्यकारी पास्कल सोरायटले गत बिहीबार परीक्षण छिटो सुरु भए यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुतिर खोप आउन सम्भव रहेको बताएका थिए । नियामक निकायले कति चाँडो खोप अनुमोदन गर्छन्, त्यसमा पनि निर्भर रहने उनको धारणा थियो ।

कोभिडविरुद्धको खोप विकासका लागि अहिले विश्वभर प्रयास भइरहेका छन् । संयुक्त राज्य अमेरिकाले खोप बजारमा ल्याउने प्रयत्नमा अहिलेसम्म १० बिलियन डलर लगानी गरिसकेको छ । अमेरिकाले गत २१ मेमा अस्ट्राजेनेकालाई १.२ बिलियन डलर दिने घोषणा गरेको थियो । खोप सुरक्षित र प्रभावकारी भए अमेरिकाले त्योबापत कम्तीमा ३ सय मिलियन खोप लिनेछ । खोपको अनुसन्धानदेखि बजारमा उपलब्ध हुन सामान्यतः ५ देखि १० वर्ष लाग्न सक्ने भए पनि कोभिड खोप केही महिनाभित्रै ल्याउने प्रयासमा वैज्ञानिकहरू छन् ।

अहिले औषधि उत्पादक कम्पनी तथा सरकारहरू बिलियन डलर खर्चको जोखिम लिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस वर्षको अन्त्यतिर खोपले मान्यता पाउने र सर्वत्र उपलब्ध हुन कम्तीमा सन् २०२१ को मध्यसम्म लाग्ने विश्वास गरेको छ । रुसले आफूले विकास गरेको ‘स्पुतिनक–५’ नामक कोभिड खोपले बिरामीमा प्रतिरोधात्मक क्षमता विकास गरेको र अक्टोबरमा जनमानसमा दिन सुरु गरिने बताएको छ । उता चीनले खोप सफलतापूर्वक विकास गरी हाल सैनिकमा उपलब्ध भइरहेको जनाएको छ । तर, ती दुवै देशले यति छिटो विकास गरेका खोपको प्रभावकारिताबारे भने जिज्ञासा उठेको छ ।

उता, खोप विकासमा अग्रपंक्तिमा रहेका अमेरिकी कम्पनी फाइजर र जर्मनी बायोएनटेकले शनिबार ४४ हजार जनालाई अन्तरदेशीय परीक्षणमा सहभागी गराउने घोषणा गरेको फाइनान्सियल टाइम्सले जनाएको छ । ती कम्पनीले ३० हजार जनाको प्रारम्भिक परीक्षण लक्ष्य आगामी साता पुग्ने बताएका छन् । अहिले मेडोर्ना, भल्नेभा, नोभाभ्याक्स, सानोफी पास्चर्स, जीएसकेजस्ता कम्पनी पनि कोभिड खोप विकासमा अग्रपंक्तिमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २९, २०७७ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्

निजी अस्पतालका रिपोर्ट कोरोना बिमामा मान्य हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — निजी अस्पतालका प्रयोगशालाको पीसीआर रिपोर्टका आधारमा पनि कोरोना बिमाको दाबी भुक्तानी पाइने भएको छ । बिमा समितिले कोरोना बिमा मापदण्ड–०७७ संशोधन गरी उक्त व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पतालमा परीक्षण गरिएको रिपोर्टका आधारमा मात्र कोरोना बिमामा दाबी भुक्तानी पाइने व्यवस्था थियो । सोमबारदेखि लागू हुने भन्दै समितिले बिमा कम्पनीहरूलाई यसबारे निर्देशन जारी गरेको छ ।

सरकारले निजी प्रयोगशालालाई पीसीआर परीक्षणको अनुमति दिएको अवस्थामा पनि बिमा कम्पनीहरूले तिनलाई मान्यता नदिएको भन्दै चौतर्फी विरोध भएको थियो । सोही कारण बिमा समितिले निजी प्रयोगशालाको रिपोर्टलाई पनि कसरी कोरोना बिमा मापदण्डमा समावेश गर्न सकिन्छ, अध्ययन गर्न एक समिति गठन गरेको थियो । सोही समितिको सुझावका आधारमा आइतबार मापदण्ड परिमार्जन गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार अब स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका निजी अस्पतालका प्रयोगशालाका रिपोर्टका आधारमा पनि बिमा कम्पनीहरूले कोरोना बिमाको दाबी भुक्तानी दिनुपर्नेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड–१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ,’ परिमार्जित मापदण्डमा भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बिमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर गराउनुपर्ने व्यवस्था समितिले गरेको छ ।

कोरोना बिमालेखबापतको दाबी भुक्तानीका लागि लघुबिमा पुल व्यवस्थापनका लागि तोकिएको बिमक संघमार्फत एकै स्थानबाट भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ । बिमकलाई दाबी भुक्तानीमा शंका लागे बिमकको आफ्नै खर्चमा स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालामा परीक्षण गराउन पाउने व्यवस्था पनि मापदण्डमा छ ।

अब व्यक्तिगत रूपमा कोरोना बिमा गर्न नपाइने भएको छ । परिमार्जित मापदण्डमा व्यक्तिगत बिमालेख खारेज गरी सामूहिक बिमालेख मात्र जारी गर्नुपर्ने उल्लेख छ ।

कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेखको बिक्री सुरु गरिएको थियो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् । यो बिमा ३ महिनाको बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि गर्न सकिन्छ ।

प्रकाशित : भाद्र २८, २०७७ २३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×