कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगान उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट, १० को मृत्यु

एजेन्सी

काबुल — अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । विस्फोटमा १५ जना घाइते छन् ।

अफगान उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट, १० को मृत्यु

राजधानी काबुलमा बुधबार गराइएको विस्फोटमा सलेहको मुख र हात आंशिक रूपमा जलेको छ । बम विस्फोटलगत्तै घटनास्थलमा धूवाँको ठूलो मुस्लो उडेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियो दृश्यमा देखिन्छ । तालिवान र अफगान अधिकारीबीच पहिलो औपचारिक वार्ताको तयारी भइरहेका बेला विस्फोट गराइएको हो । तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्वीटमार्फत घटनामा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् ।

यसअघि अफगानिस्तानको गुप्तचर विभागका पूर्वप्रमुखसमेत रहेका सलेह तालिवानको कट्टर विरोधीका रूपमा चिनिन्छन् । यसअघि पनि उनलाई कैयौंपटक मार्ने प्रयास गरिए पनि उनी बाँच्न सफल भएका थिए । गत वर्ष सलेहलक्षित विस्फोटमा २० जनाको ज्यान गएको थियो । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक अराइनले अज्ञात समूहले उपराष्ट्रपतिलाई निसाना बनाएर विस्फोट गराएको पुष्टि गरेका छन् । उनले विस्फोटमा मारिएका १० जना सर्वसाधारण रहेको जनाए । तारिकका अनुसार घाइतेमध्ये एक सलेहका अंगरक्षक हुन् । एक प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारको आलोचना गरेका छन् । ‘विस्फोटमा मैले एक आफन्त गुमाएँ । अर्का एक जना घाइते छन्,’ उनले भने, ‘यो कस्तो सरकार हो ? न घटनास्थलमा एम्बुलेन्स आउँछ, न त सुरक्षाकर्मी नै ।’

अफगान राष्ट्रपति असरफ घानीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । ‘आतंकवादी र उनीहरूका विदेश समर्थकले अफगान जनताको शान्तिप्रतिको विश्वासलाई नजरअन्दाज गर्न सक्दैनन्,’ घानीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले उपराष्ट्रपति तथा विस्फोटका

अन्य घाइतेलाई अस्पताल पुगेर भेटेको जनाइएको छ । त्यसैगरी, अफगानिस्तानमा रहेको युरोपेली संघको प्रतिनिधिमण्डलले पनि घटनाको भर्त्सना गर्दै घटनालाई शान्ति कायम गर्न भइरहेका प्रयासलाई असफल पार्ने षड्यन्त्र भएको बताएको छ ।

अफगान अधिकारीले आगामी केही दिनभित्र कतारको राजधानी दोहामा तालिवान प्रतिनिधिहरूसँग वार्ता गर्ने बताइएको छ । तालिवानले अफगानिस्तानमा शान्ति स्थापनाका लागि गत फेब्रुअरीमा अमेरिकासँग एक सम्झौता गरेका थिए । उक्त सम्झौतापछि तालिवानले अमेरिकी सुरक्षा फौजलक्षित आक्रमण रोकेका भए पनि विभिन्न विद्रोही समूहले अफगान सेना तथा सरकारविरोधी आक्रमणलाई निरन्तरता दिँदै आएका छन् ।

प्रकाशित : भाद्र २५, २०७७ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?