कोरोना संक्रमण भित्रिन नदिन चिनियाँ हवाई क्षेत्रको सतर्कता- विश्व - कान्तिपुर समाचार

कोरोना संक्रमण भित्रिन नदिन चिनियाँ हवाई क्षेत्रको सतर्कता

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीको घरेलु मामिला घटे पनि बाहिरी मुलुकबाट भित्रिनेको संख्या यथावत् रहेपछि चीनको नागरिक उड्डयन ब्युरोले अन्तर्राष्ट्रिय हवाई उडानमा अझै कडाइ गर्न थालेको छ।

फाइल तस्बिर : एजेन्सी

ब्युरोले अन्तर्राष्ट्रिय हवाई उड्डयनका प्रतिउडानमा यात्रुको संख्या ७५ प्रतिशतभन्दा कम हुनुपर्ने नियम जारी गरेको हो। साथै हरेक एअरलाइन्स कम्पनीले सबै यात्रुको कडाइका साथ स्वास्थ्य परीक्षण गर्नुपर्ने आदेश पनि ब्युरोले दोहोर्‍याएर दिएको छ।

गत अगस्टदेखि बाह्य मुलुकमा कोभिड-१९ महामारीको स्थिति गम्भीर बन्दै गएको चीनको ठहर छ। अन्तर्राष्ट्रिय हवाई उड्ययन बढ्दै गइरहेको बेला विदेशबाट संक्रमित भित्रिने क्रम बढिरहेको निष्कर्षमा चीन पुगेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार मध्यरातिसम्मको तथ्यांक सार्वजनिक गरेअनुसार कुल ८ जना संक्रमित भेटिएका छन् जुन सबै आयातित संक्रमित हुन्।

चीनमा महामारी फैलिएलगत्तै हरेक प्रान्तले आ-आफ्नो बस्तुस्थितिअनुसार कोरोना नियन्त्रणको नीति अख्तियार गरेका थिए भने हाल कोरोना शून्य भएका क्षेत्रले होसियारीपूर्वक पर्यटकीय क्षेत्रहरू खोल्नेदेखि जनजीवन सामान्य बनाउँदै लगेका छन्।

यो सेप्टेम्बरबाट चिनियाँ नयाँ शैक्षिक सत्र सुरू भएको छ। सोहीबमोजिम पूर्ण सतर्कताका साथ स्कुलहरू खुलेका छन् भने राजधानी बेइजिङमा सडकमा निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाइएको छ। यद्यपि सार्वजनिक यातायात वा कार्यालय वा भीडहरूमा प्रवेश गर्दा मास्क लगाउनैपर्ने नियम छ। चीनमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनका पूर्वनिर्धारीत कार्यक्रमहरू भिडियो कन्फरेन्सबाट चलाइएका छन्।

प्रकाशित : भाद्र १७, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

चीन-दक्षिण एसिया साहित्यिक गतिविधि सुरू

लक्ष्मी लम्साल

बेइजिङ — नवौं चीन-दक्षिण एसिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चअन्तर्गत साहित्यिक गतिविधि सुरू गरिएको छ । विविध सौन्दर्य विषयक चिनियाँ र दक्षिण एसियाली युवाहरूको साहित्यिक वाचनको पहिलो श्रृंखला सोमबारदेखि सुरू भएको हो ।

कोभिड-१९ का कारण अनलाइनबाट गरिएको यस गतिविधिको पहिलो चरणमा चीन, भारत र बंगलादेशका युवाहरूले भाग लिएका छन् भने क्रमशः नेपाल, श्रीलंका, पाकिस्तान लगायत दक्षिण एसियाली युवाहरूले यो गतिविधिमा भाग लिने कार्यक्रम छ ।

सुरूवाती कार्यक्रममा भारतको विश्वभारती विश्वविद्यालय र बंगलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरूले प्रसिद्ध चिनियाँ स्रष्टा लु शुन, पा चिन्, हाइ ची लगायत लेखकका रचनाहरू वाचन गरेका छन् भने चिनियाँ युवाहरूले भारतीय कवि रवीन्द्रनाथ टैगोर, बंगाली कवि लालन फकीरका कविता तथा साहित्यिक सिर्जना वाचन गरेका छन्।

आयोजककातर्फबाट वैदेशिक मित्रताका लागि चिनियाँ जनमैत्री संघका अध्यक्ष लिन सोङ्थ्येनले चीन र दक्षिण एसियाबीच साँस्कृतिक ‘जीन’,प्राचीन इतिहास र विकासको लक्ष्य समान रहेको बताए । २१औं शताब्दी एसियाली शताब्दी भएको बताउँदै उनले प्राचीन रेशमी मार्गको प्रचार प्रसार गर्दै प्राचीन सभ्यता आदानप्रदानमा युवाहरूले योगदान गर्ने अपेक्षा गरे।

चिनियाँ तथा दक्षिण एसियाली युवाहरूले वेभ-भिडियोद्वारा क्लासिक कविता वाचनको तरिकाबाट अन्तरदेशीय मित्रता बढाउनुका साथै जारी कोभिड-१९ महामारी परास्त गर्न आपसी हातेमालो र आत्मविश्वासलाई प्रवर्द्धन गरेका छन् ।

वैदेशिक मित्रताका लागि चिनियाँ जनमैत्री संघ र युन्नान प्रान्त सरकारले आयोजना गरेको नवौं चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्च अन्तर्गत गत मध्य अगस्टदेखि डिसेम्बरसम्मका लागि फोटो प्रदर्शनी चलिरहेको छ ।

नेपालका तर्फबाट वर्ल्ड कल्चरनेटको संयोजनमा आधा दर्जन फोटोग्राफरले नेपालको परम्परा तथा अमूर्त संस्कृति झल्किने फोटोहरू सहित प्रदर्शनीमा भाग लिइरहेका छन् ।

प्रकाशित : भाद्र १५, २०७७ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×