कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्

यस वर्ष टर्कीमा भोकहड्ताल बसेका ३ संगीतकर्मीसहित ४ जनाको मृत्यु भएको छ ।
एजेन्सी

इस्तानबुल — आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ ।

इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्

आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग गर्दै भोकहड्तालमा बसेकी टिमटिकको अगस्ट २७ मा मृत्यु भएको हो । भोकहडताल बसेको २३८औं दिनमा उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

४२ वर्षीया टिमटिक, टर्की सरकारको आलोचना गरेकै आरोपमा जेल सजाय भोगिरहेका व्यक्तिहरुको मुद्दा लड्ने १८ जना वकिलहरुको समूहकी एक सदस्य थिइन् । जसलाई सन् २०१७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । भोकहड्तालका कारण टिमटिक निकै दुब्लाएकी थिइन् । मृत्यु हुने बेला उनको शरीरको तौल ३० किलो मात्र भएको उनका साथीहरुले बताएका छन् ।

अस्पतालमा रहँदाको इब्रु टिमटिकको अन्तिम फोटो

टिमटिक र उनका साथी आयटाक उन्साललाई इस्तानबुलको सिलिव्री जेलमा राखिएको थियो । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनीहरुलाई अस्पताल सारिएको थियो । गत फेब्रुअरीमा उनीहरुले जेलमै भोकहड्ताल सुरु गरेका थिए ।

गत अक्टोबरमा टर्कीको पुनरावेदन अदालतले टिमटिकसहित १८ जनालाई तल्लो अदालतले सुनाएको लामो जेल सजायको फैसललाई सदर गरेको थियो । उनीहरुलाई प्रतिबन्धित माक्र्सवादी संगठनमा आबद्ध भएको आरोपमा मुद्दा चलाइएको थियो । टिमटिक र अन्य १७ जना वकिललाई क्रान्तिकारी जनमुक्ति पार्टी फ्रन्ट(डीएचकेपीसी) सँग आबद्ध भएको आरोप लागेको थियो । उक्त संगठनलाई टर्की, अमेरिका र युरोपेली युनियनले आतंकवादी संगठनको संज्ञा दिएका थिए ।

टिमटिकलाई १३ वर्ष ६ महिना र उन्साललाई १० वर्षभन्दा बढी जेल सजाय सुनाइएको थियो । वकिलहरुको समूहले भने आफूहरुमाथि लगाइएको मुद्दामा अदालतले विश्वसनीय प्रक्रिया नचालेको भन्दै पुनरावेदन अदालत गएका थिए । तर पुनरावेदनले तल्लो अदालतको फैसलालाई नै सदर गरिदिएको थियो ।

टर्कीको प्रतिपक्षी पार्टी पिपुल्स डेमोक्रेटिक पार्टीका सांसद गारो पेलानले ‘सत्तामा रहेका तानाशाहहरुले टिमटिकको हत्या’ गरेको आरोप लगाएका छन् । टिमटिकको मृत्युपछि उनको समर्थनमा टर्कीमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । ‘इब्रु टिमटिक अमर छिन्’ भन्दै उनको समर्थनमा धेरै ठाउँमा प्रदर्शन भइरहेको छ ।

इब्रु टिमटिकको शवयात्रामा सहभागीहरु तस्बिर : एएफपी

यसै वर्ष वामपन्थी विचारधारामा आस्था राख्ने लोक ब्यान्डका दुई जना संगीतकारको पनि भोकहड्तालकै क्रममा मृत्यु भएको थियो । गत अप्रिल ३ मा सांगीतिक समूह ‘ग्रुप योरम’ २८ वर्षीया गायिका हेलिन बोलेकको भोकहड्तालका क्रममा मृत्यु भएको थियो । प्रतिरोधि गीत गाएकै आरोपमा उनीहरुको सांगीतिक समूहलाई प्रतिबन्ध लगाइएको थियो । भोकहड्तालका क्रममा उनको २८८औं दिनमा उनको मृत्यु भएको थियो । त्यस्तै उक्त समूहकै सदस्य इब्राहिम गोकेकको पनि गत मेमा भोकहड्ताल बसेको ३२३औं दिनमा मृत्यु भएको थियो ।

त्यस्तै गत अप्रिलमै अर्का संगीतकार मुस्तफा कोकाकको पनि भोकहड्तालकै क्रममा मृत्यु भएको थियो । भोकहड्ताल सुरु गरेको २९७औं दिनमा उनको मृत्यु भएको थियो ।

टर्कीमा मानवअधिकार हननका घटना बढ्दो

टर्कीमा सरकारको आलोचना गर्ने विभिन्न समूहका हजारौं व्यक्तिलाई आतंकवादी मुद्दामा जेलमा राखिएको मानवअधिकारीवादी संस्थाहरुले बताएका छन् । कुर्दिस्तान वर्कर्स पार्टी, फेतुल्लाह गुलेन मुभमेन्टगायतलाई टर्कीमा प्रतिब्न्ध लगाइएको छ । सन् २०१६ मा यी समूहले टर्कीमा सत्ता पल्टाउन ‘कु’ को प्रयास गरेको सरकारले आरोप लगाउँदै आएको छ ।

ह्युमन राइट्स वाचाका अनुसार पछिल्ला ४ वर्षमा टर्कीमा मानवअधिकार हननका घट्ना निकै बढेको छ । राष्ट्रपति रेचेप तैय्यप एर्दोआन नेतृत्वको सरकारलाई प्रजातान्त्रिक पद्धतिलाई लत्याउँदै तानाशाही प्रवृत्तिमा शासन चलाइरहेको आरोप लाग्दै आएको छ ।

टर्कीमा पछिल्लो समय न्यायपालिकामाथि कार्यकारी नियन्त्रण राजनीतिक प्रभाव बढाउँदै लगिएको छ । जसले गर्दा अदालतले बिना प्रमाण विभिन्न व्यक्तिलाई आपराधिक गतिविधिमा संलग्न भएको भन्दै दोषी ठहर गर्दै आएको ह्युमन राइट्स वाचले जनाएको छ । सरकारको आलोचना गर्ने पत्रकार, प्रतिपक्ष दलका नेता कार्यकर्ता, अभियन्त्रा र मानवअधिकारकर्मीहरु यसको निसानामा पर्दै आएका छन् ।

प्रकाशित : भाद्र १५, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?