लामो समय विद्यालय नपठाउँदा बालबालिकामा गम्भीर मानसिक तथा शैक्षिक असर पर्ने- विश्व - कान्तिपुर समाचार

लामो समय विद्यालय नपठाउँदा बालबालिकामा गम्भीर मानसिक तथा शैक्षिक असर पर्ने

बेलायतको चारवटै राज्यका प्रमुख स्वास्थ्य सल्लाहकारहरुले बालबालिकालाई शिक्षाबाट वञ्चित गरिनु कोरोना भाइरसको प्रकोपभन्दा बढी घातक हुने औंल्याएका छन् । लामो समय विद्यालय नपठाउँदा बालबालिकामा गम्भीर मानसिक तथा शैक्षिक असर पर्ने उनीहरुको तर्क छ । 
नवीन पोखरेल

लन्डन — बेलायतको फेल्थामस्थित रिभर्स एकेडेमीमा इयर ७ का छात्र बेन्सन क्षेत्री मार्चयता स्कुल गएका छैनन् । बेलायत सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न लकडाउन गरेसँगै ब्रिटेनमा स्कुल बन्द हुँदा १३ वर्षीय बेन्सनको दैनिकी अहिले घरैमा खेलेर बितेको छ ।

सेप्टेम्बरदेखि भने उनको इयर ८ को पढाइ सुरु हुनेछ । सरकारले आगामी सेप्टेम्बरबाट स्कुल सञ्चालन गर्ने खबरले बेन्सनका अभिभावक भने खुसी देखिएका छन् । ‘स्कुल खोल्ने सरकारको निर्णयलाई सकारात्मक लिएका छौं,’ बेन्सनकी आमा विनिता खड्का बस्नेतले भनिन्, ‘कोरोना संक्रमणको प्रभाव केटाकेटीहरूमा खासै नदेखिएको भनेका छन् । त्यसैले घर बस्नभन्दा स्कुल जाँदा नै फाइदा छ ।’

घरमा हुँदा बालबालिकालाई सुत्ने, उठ्ने, खाने, खेल्ने, पढ्ने रुटिन अनियमित छ । कम्प्युटर, टीभीमा बढी समय खेर जाँदा भविष्य अन्धकार हुने भएकाले स्कुल पठाउँदा नै बढी फाइदा देख्छिन् विनिता । संयुक्त अधिराज्यको इंग्ल्यान्ड, वेल्स् र नर्दन आयरल्यान्डका लाखौं बालबालिका सेप्टेम्बरदेखि पूर्णकालीन अध्ययनका लागि स्कुल फर्कने तयारीमा छन् । स्कटल्यान्डमा भने स्कुल सुचारु भइसकेको छ ।

लामो समय विद्यालय नपठाउँदा बालबालिकामा गम्भीर मानसिक तथा शैक्षिक असर पर्नेतर्फ ब्रिटेनका स्वास्थ्य सल्लाहकारहरूले ध्यानाकर्षण गराएका छन् । बेलायतको चारवटै राज्यका प्रमुख स्वास्थ्य सल्लाहकारहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा बालबालिकालाई शिक्षाबाट वञ्चित गरिनु कोभिड–१९ को प्रकोपभन्दा बढी घातक हुने औंल्याएका छन् ।

बेलायत सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्विटीले पनि बालबालिकालाई स्कुल नपठाउनु भाइरसभन्दा बढी घातक हुनेमा जोड दिएका छन् । उनका भनाइमा बालबालिकामा कोरोना भाइरसले ज्यान गुमाउने सम्भावना धेरै कम छ तर पठनपाठन नहुँदा भविष्यमा हुने क्षति उच्च छ । कोभिड–१९ कम्तीमा ९ महिना चुनौतीपूर्ण हुने प्राध्यापक ह्विटीको बुझाइ छ । उनले सन् २०२० मा कोभिड खोप विकासको सम्भावना न्यून रहे पनि अर्को वर्ष हुने आधार धेरै रहेका बताए । प्रधानमन्त्री बोरिस जोन्सनले पनि बालबालिकालाई कोरोना भाइरसले भन्दा स्कुल नपठाउँदा उनीहरूको शैक्षिक तथा मानसिक क्षति बढी हुने धारणा राख्दै आएका छन् । बालबालिकालाई विद्यालय पठाउनु अभिभावकहरूको नैतिक दायित्व हुने पनि उनको जोड छ । शिक्षक युनियनले पनि विद्यालय सुरक्षित तवरले सुचारु गर्न जोड दिएको छ । विद्यार्थी र कर्मचारीको स्वास्थ्य प्राथमिकतालाई मध्यनजर गर्दै युनियनका महासचिव डा. प्याट्रिक रोचले सरकारले सुरक्षा निगरानीसहित प्रभावकारी जोखिम नियन्त्रण प्रणाली लागू गरेर स्कुल खोल्न सुझाएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, कोभिड–१९ का कारण गत मार्चदेखि जुनसम्म इंग्ल्यान्ड र वेल्समा १९ वर्षमुनिका १० जनाको मात्र निधन भयो । भाइरसबाट मृत्यु भएका बालबालिका अधिकांशलाई दीर्घरोग थियो । तर, २० वर्षदेखि माथि निधन हुनेको संख्या ४६ हजार ७ सय २५ छ ।

इंग्ल्यान्डमा गत जुनमा प्रि–स्कुल र प्राइमरी स्कुल गएका १० लाखभन्दा बढी बालबालिकामध्ये ७० जना र १ सय २८ जना स्कुल कर्मचारीमात्र संक्रमित भएको पब्लिक हेल्थ इंग्ल्यान्डको एउटा नयाँ अध्ययनले देखाएको छ । उक्त समयमा ३० वटा संक्रमण कर्मचारीबाट कर्मचारीमै र विद्यार्थीमा भएको पाइएको छ । तर, विद्यार्थीबाट विद्यार्थीमा भने दुइटा संक्रमण मात्र भएको थियो । अध्ययनमा जुन महिनासम्म स्कुल गएका बालबालिकालाई स्कुलभन्दा घरमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहेको औंल्याइएको छ ।

सरकारले अभिभावकलाई आफ्ना सन्तान स्कुल पठाउन प्रेरित गर्ने एउटा अभियान पनि सुरु गरेको छ । उसको ‘ब्याक टु स्कुल सेफ्ली’ अभियानमा संक्रमण रोक्न सरकारले विभिन्न कदम चालेको विश्वास दिलाइएको छ । पत्रपत्रिका, डिजिटल प्लेटफर्म, रेडियो, बिलबोर्ड विज्ञापनमार्फत बालबालिकाको विकासका लागि शिक्षाको महत्त्व दर्साइएको छ ।

१२ वर्षदेखि लन्डन ह्याम्पटनस्थित बकिङहम प्राइमरी स्कुलकी कक्षा शिक्षक लक्ष्मी गुरुङको स्कुल जुन १ देखि नै सुचारु छ । सरकारले कामदार र जोखिममा रहेका परिवारका बालबालिका पढ्ने स्कुल खोल्ने निर्णय गरेपछि करिब ६ सय विद्यार्थी पढ्ने उक्त स्कुलमा सुरुतिर २ सय मात्र बालबालिका पढ्न आए । तर, ‘सेफ्टी गाइडेन्स’ अनुसरण गर्दै ह्यान्ड हाइजिन, सामाजिक दूरी, सरसफाइका कारण अभिभावक विश्वस्त भएर अहिले सबै विद्यार्थी आउँछन् ।

अहिले इयर ५ कक्षा पनि सुरु गरिएको गुरुङले बताइन् । ‘स्कुलले पूर्णरूपमा सुरक्षा अपनाउने भएकाले बालबालिकालाई स्कुल फर्काउन जोखिम देख्दिनँ म । हाम्रो स्कुलमा एक जना पनि बालबालिका र कर्मचारीलाई कोरोना संक्रमण भएको छैन,’ गुरुङले भनिन् ।

विगत १२ वर्षदेखि बकिङघमसायरस्थित द मिस्बर्न स्कुलमा विज्ञानका शिक्षक डोलेन्द्र खड्का स्कुलको वातावरण अस्पतालभन्दा पनि राम्रो भएको दाबी गर्छन् । ‘हामीलाई दैनिक ब्रिफिङ हुने गर्दछ । पढाउनेभन्दा पनि कसरी सुरक्षित रहने भन्ने मुख्य प्राथमिकता स्कुलको छ,’ खड्का भन्छन्, ‘आउने–जाने वान–वे सिस्टम लागू गरिएको छ । सामाजिक दूरीदेखि आवश्यक भौतिक पूर्वाधार र सेफ गार्डिङको राम्रो व्यवस्था छ । एक जनालाई संक्रमण भएमा स्कुललाई नै असर पर्ने हुँदा धेरै सावधानी अपनाइएको छ,’ खड्का भन्छन् ।

प्रकाशित : भाद्र ८, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

दुबईमा अलपत्र २६२ यात्रुको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायुसेवा निगमले दुबईमा अलपत्रमध्येका २ सय ६२ नेपाली कामदारलाई आइतबार उद्धार गरी काठमाडौं ल्याइपुर्‍याएको छ ।

साँझ ७ बजे काठमाडौं उत्रिएको विमानमा दुई शिशु र एक नेपालीको शवसमेत ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । गत सोमबार दुबई पुगेर पनि निगमको वाइडबडी विमान यी यात्रुलाई नल्याई रित्तै काठमाडौं फर्किएको थियो ।

आइतबार बिहान साढे ९ बजे काठमाडौंबाट उडेको वाइडबडीमार्फत १ सय ६४ यात्रु र एक शिशुसमेत दुबई उत्रिएका थिए । आइतबार नै त्रिभुवन विमानस्थलमा योसहित चारवटा चार्टर उडान भए । जसमा हिमालय एयरलाइन्सका दुईवटा विमान मेडिकल कार्गो लिन साँझ चीनको कुन्मिङ गएका थिए । बिहान रसियन भोल्गा डेनेपर एयरलाइन्सको कार्गो विमान इलुजन–७६ श्री एयरलाइन्सका दुईवटा हेलिकप्टर ल्याएर काठमाडौं आएको थियो ।

यस दिन आन्तरिकतर्फ पाँचवटा चार्टर उडान भए । जसमा तारा एयरको विमान कार्गो लिएर लुक्ला गएको थियो भने सीता एयरको विमान ८ जना यात्रु लिएर नेपालगन्ज पुगेको थियो । त्यसैगरी प्रभुको हेलिकप्टर पोखरा, एयर डाइनेस्टीको विराटनगर र मनाङ एयरको हेलिकप्टर लुक्ला प्रस्थान गरेका थिए ।

प्रकाशित : भाद्र ८, २०७७ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×