कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाराक ओबामा, बिल गेट्स, एलन मस्कलगायत दर्जनौं चर्चित व्यक्तिको ट्वीटर ह्याक

एजेन्सी

न्युयोर्क — अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिको आगामी चुनावका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडन, बिल गेट्स, एलन मस्क, कलाकार किम कार्दशियन, अरबपति व्यवसायीहरु वारेन बफेट, जेफ बेजोसलगायतका चर्चित व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ ।

बाराक ओबामा, बिल गेट्स, एलन मस्कलगायत दर्जनौं चर्चित व्यक्तिको ट्वीटर ह्याक

ट्वीटर एकाउन्ट ह्याकपछि धेरैको एकाउन्टबाट बिट्क्वाइनका लागि सहयोग मागिएको छ । ‘सबैले मलाई केही दिन आग्रह गरेका छन्, र त्यो समय आएको छ,’ गेट्सको ह्यान्डलबाट यस्तो ट्वीट गरिएको छ । गेट्सको ट्वीटमा लेखिएको छ, ‘तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर पठाउँछु ।’ ट्वीटसँगै बिटक्वाइनको ठेगाना पनि राखिएको छ ।

त्यस्तै टेस्ला र स्पेस एक्सका प्रमुुख एलन मस्कको ट्वीटर ह्यान्डलबाट पनि एक घन्टाभित्रमा बिटक्वानइमा पठाएको पैसा दोब्बर गरेर पठाउने उल्लेख गरिएको छ । उक्त ट्वीटमा ‘म कोभिड महामारीका कारण दान गरिरहेको छु’ लेखिएको छ । पोस्ट भएको केही मिनेटै यी ट्वीट डिलेट गरिएको छ ।

त्यस्तै अमेरिकाका चर्चित ऱ्यापर कान्ये वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा र एप्पललगायतका ठूला कम्पनीका ह्यान्डल पनि ह्याक गरिएको छ । केही समयमै सयौं व्यक्तिले ह्याकरहरुलाई एक लाख डलरभन्दा बढी पठाइसकेको बताइएको छ । ह्याकरहरुले निसाना बनाएका ट्वीटर एकाउन्ट करोडौंले पछ्याएका चर्चित व्यक्तिका एकाउन्ट हुन् ।

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले आफूहरुका लागि यो निकै समस्यापूर्ण दिन भएको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘हामीले ठूलो समस्याको सामना गरेका छौं । हामीले के भएको हो भन्नेबारेमा अनुसन्धान गरिरहेका छौं । पूर्ण अनुसन्धानपछि के भएको हो भन्नेबारे हामीले सबैलाई जानकारी गराउँछौं ।’

ट्वीटर एकाउन्ट ह्याक भएको आधा घण्टामा ट्वीटरले भेरिफाई भएका एकाउन्टबाट ट्वीट गर्न नमिल्ने बनाएको छ । भेरिफाई नभएका एकाउन्टबाट भने ट्वीट भइरहेको उसले जानकारी गराएको छ । ट्वीटरका अनुसार अधिकांश ट्वीटर एकाउन्टहरु ह्याकरको कब्जाबाट मुक्त भइसकेका छन् । ती एकाउन्टको पासवर्ड रिसेट गर्न नमिल्ने बनाइएको पनि उसले बताएको छ ।

अमेरिकाको संघीय जाँच एजेन्सी एफबीइआईको सानफ्रान्सिस्ककोस्थित कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘क्रिप्टोकरेन्सी जालसाजीका लागि ट्वीटर एकाउन्ट ह्याक गरिएको जस्तो छ । हामी सबैलाई आग्रह गर्छौं कि कुनै पनि म्यासेजको लोभमा नपर्नुहोस् र क्रिप्टोकरेन्सी वा पैसा कसैलाई पनि नपठाउनुहोस् ।’

प्रकाशित : श्रावण १, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?