कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

ट्रम्पले पूर्वसल्लाहकारको जेल सजाय घटाइदिए

एजेन्सी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना एक पूर्वसल्लाहकार रोजर स्टोनको जेल सजाय घटाइदिएका छन् । वासिङटन डीसीस्थित पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले पूर्वसल्लाहकारको जेल सजाय घटाइदिए

स्टोनले सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले गरेको प्रयासबारे अमेरिकी न्याय मन्त्रालयले गरेको अनुसन्धानका आधारमा सजाय पाएका हुन् । यसअघि ट्रम्पका पाँच जना सल्लाहकार दोषी ठहर भइसकेका छन् ।स्टोन अमेरिकी कंग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावमा पारेको अभियोगमा दोषी ठहर भएका हुन् । ६७ वर्षीय स्टोनलाई आगामी मंगलबार जर्जियास्थित एक संघीय जेलमा उपस्थित हुनु भनिएको थियो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले एक वक्तव्य जारी गर्दै रोजर स्टोन रुसी छलकपटको सिकार भएको दाबी गरेको छ । ‘ट्रम्पको राष्ट्रपतीय कार्यकाल कमजोर पार्न वर्षौंदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चार माध्यमहरूले निरन्तरको मुद्दा बनाए,’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गरेका रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनलाई निसाना बनाएका ह्वाइटहाउसको दाबी छ ।

‘स्टोन पहिले नै धेरै पीडित भइसकेका छन्,’ ह्वाइटहाउसले भनेको छ, ‘उनलाई एकदमै गलत ढंगले व्यवहार गरियो । यो मुद्दामा अरू धेरैलाई पनि त्यस्तै गरियो । रोजर स्टोन अब एक स्वतन्त्र व्यक्ति हुन् ।’

सजाय कम गर्नेबारे ट्रम्पले आफूलाई शुक्रबार फोनमा कुराकानी गरेका स्टोनलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । राष्ट्रपतिको घोषणासँगै आफूले खुसियाली मनाइरहेको उनले बताए । तर अमेरिकी कंग्रेसको तल्लो सदनको गुप्तचर समितिका अध्यक्ष एडम सिफले ट्रम्पको निर्णयले अमेरिकामा दुईखाले न्यायप्रणाली रहेको देखिएको जनाएका छन् । उनका अनुसार अमेरिकी न्याय प्रणाली ‘एउटा ट्रम्पका अपराधी साथीहरूका लागि र अर्को सर्वसाधारणका लागि’ देखिएको प्रतिक्रिया दिएका छन् ।

विपक्षी दल डेमोक्र्याटिकका नेताहरूले पनि ट्रम्पको निर्णयको आलोचना गरेका छन् । नेसनल कमिटीका अध्यक्ष टम पेरेजले भनेका छन्, ‘अब अरू कुनै शक्ति छ, जुन ट्रम्पले दुरुपयोग गर्दैनन् ?’ डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले ‘डोनाल्ड ट्रम्प इतिहासकै सबैभन्दा भ्रष्ट राष्ट्रपति हुन् भन्ने पुष्टि भएको’ बताइन् । स्टोनले सन् १९७० देखि रिपब्लिकनहरूसँग काम गर्दै आएका छन् र उनले आफ्नो पिठ्युँमा रिचार्ड निक्सनको ट्याटु खोपाएका छन् । सन् १९९० को दशकमा उनले ट्रम्पको क्यासिनो व्यवसायका लागि सहजकर्ताका रूपमा काम गरेका थिए । सन् २००० मा ट्रम्पको असफल ह्वाइटहाउस दौडमा स्टोन मुख्य सहयोगीसमेत थिए । वृत्तचित्र ‘गेट मी रोजर स्टोन’ का अनुसार स्टोनले ट्रम्पलाई पुनः राष्ट्रपतीय प्रतिस्पर्धामा उत्रन प्रोत्साहन गरेका थिए ।

प्रकाशित : असार २८, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?