अमेरिका-चीन सम्बन्धमा गम्भीर संकट देखिएको छ : चिनियाँ विदेशमन्त्री

‘चीन अर्को अमेरिका बन्न चाहँदैन र बन्न सक्दैन पनि’
एजेन्सी

बेइजिङ — चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिका–चीन सम्बन्धमा गम्भीर संकट देखिएको बताएका छन् । बिहीबार चीन–अमेरिकाको एउटा फोरमलाई भिडियो सम्बोधन गर्दै विदेशमन्त्री यीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नै गम्भीर संकट देखा परेको बताएका हुन् ।

सन् १९७९ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । उनले केही अमेरिकीले वैचारिक पूर्वाग्रहका आधारमा चीनलाई ‘विरोधी’ र ‘दुस्मन’ मुलुकका रुपमा हेर्ने गरेको बताए । उनले केही अमेरिकीले चीनको विकास र दुई देशबीचको सम्बन्ध तोड्नलाई कुनै कसर बाँकी नछाडेको पनि बताए । ‘चीनले कहिल्यै पनि अमेरिकालाई चुनौती दिने र उसलाई प्रतिस्थापन गर्ने सोचेको छैन ।’

विदेशमन्त्री यीले चीनले अमेरिकासँगको सम्बन्धलाई स्थायित्व प्रदान गर्नका लागि आपसी समझदारी र ‘विन–विन’ सहकार्य गर्न सधैँ तयार रहेको बताए । ‘केही व्यक्तिले अमेरिका–चीन सम्बन्ध पुरानै अवस्थामा फर्कन नसक्ने बताएका छन्,’ यीले भने, ‘यसको अर्थ यो होइन कि हामीले एउटा नयाँ इतिहास रच्न सक्दैनौं ।’

त्यस्तै चीनको सफलताले पश्चिमलाई खतरा रहेको कुरा सत्य नभएको त्यसमा आफूहरु सहमत हुन नसक्ने पनि विदेशमन्त्री यलीले बताएका छन् । ‘हामीले विदेशी मोडेल कपी गर्दैनौं । हामीले चिनियाँ मोडेल पनि निर्यात गर्दैनौं र अरुलाई चीनकै जस्तै मोडेल अपनाउन पनि कसैलाई भन्दैनौं,’ यीले भने । उनले चीन अर्को अमेरिका बन्न नसक्ने पनि बताएका छन् । दुई देशले एक अर्कालाई रुपान्तरण गर्नेभन्दा पनि फरक–फरक प्रणाली र सभ्यताको सम्मान गर्दै अघि बढ्नुपर्ने पनि यीले बताए ।

विदेशमन्त्री यीले अमेरिका र चीनले सहकार्य र संवादमार्फत सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्र र चीन र अमेरिकाबीच रहँदै आएको व्यापारिक विवाद कोरोना महामारीका कारण झन् उत्कर्षमा पुगेको छ । अमेरिकाले चीनलाई कोरोना संक्रमण फैलाएको आरोप लगाउँदै आएको छ । चीनले भने त्यसको खण्डन गर्दै आएको छ ।

प्रकाशित : असार २५, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसद्वारा बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न सरकारसँग माग

रासस

काठमाडौँ — नेपाली कांग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको छ ।


कांग्रेसले तत्काल युद्धस्तरमा उद्धारको कार्य गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेका हुन् ।

यसैगरी उनले सिन्धुपाल्चोकका कांग्रेसका नेता कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशनसमेत दिएका छन् । उहाँले बाढीका कारण जीवन गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वर्षाको समयमा हरेक वर्षझैं यस वर्ष पनि बाढी पहिरोको घटना विकराल बन्नसक्ने स्थिति दृष्टिगत गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकले यसबारे विपद् व्यवस्थापनको उच्चस्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो । यसबारेमा पुनःसरकारको ध्यानाकृष्ट गराएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : असार २५, २०७७ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×